नेकपा एमालेका अध्यक्ष केपी ओली शुक्रबार दार्चुला आउने भएपछि दार्चुला सदरमुकाम खलंगा झकिझकाउ पारिएको छ। खलंगाका मुख्य प्रवेशद्वार तथा कार्यक्रमस्थल झन्डा ब्यानरले सजाइएको छ।

आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि एमालेले राष्ट्रव्यापी चुनावी अभियान चुच्चे नक्सामा समेटिएको भूमि दार्चुलाबाट सुरु गर्दै छ। बिहान ११ बजे ओलीले सदरमुकाम खलंगामा अभियानको उद्घाटन गर्नेछन्।

पहिलोपटक दार्चुलाबाट सुरु हुन लागेको चुनावी सभालाई आकर्षक बनाउने गरी तयारी गरिएको एमाले प्रचार विभाग प्रमुख खड्क बडालले जानकारी दिए। चुनावी सभामा भाग लिन गाउँगाउँबाट जनमानस खलंगा आउन थालेका छन्।
ओली प्रधानमन्त्री हुँदा चुच्चे नक्सामा समेटिएको ठाउँ दार्चुलाबाट चुनावी अभियान सुरु गरेर एमालेले राष्ट्रियताको पक्षमा आफू मात्र रहेको सन्देश प्रवाह गर्दै छ।
‘ओली सरकारकै वेला भारतले कब्जा गरेको भूमि लिपुलेक, लिम्पियाधुरा, कालापानीसहितको भूगोल नेपाली नक्सामा समेटिएको हो, प्रतिनिधिसभा उम्मेदवार गणेशसिंह ठगुन्नाले भने, ‘त्यो भूमि नक्सामा राखेर मात्र हुँदैन, नेपाललाई फिर्ता गर्नुपर्छ। अब एमालेको सरकार बनेपछि त्यो भूमि फिर्ता ल्याउने गरी लाग्छौँ,’ भन्ने सन्देश दिलाउन एमालेले दार्चुलाबाटै अभियानको थालनी गर्न लागेको छ।

ओली खलंगामा हुने आमसभालाई उद्घाटन गर्न हेलिकोप्टरमार्फत दार्चुला पुग्नेछन्। ओलीले शुक्रबार दार्चुलापछि बैतडी र कञ्चनपुरमा हुने आमसभालाई सम्बोधन गर्ने कार्यतालिका छ।
यसैबीच नेकपा एमाले दार्चुलाको तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार गणेशसिंह ठगुन्ना र प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेदवार हरदेव जोशी नेतृत्वको प्रचार टोली मालिकार्जुन गाउँपालिकाका विभिन्न वडामा मतदाता भेटघाट कार्यक्रम गरेर खलंगा फर्किएको छ।
.jpg'_'.2022-11-03.jpg)
गत असोज २३ गते उम्मेदवारी मनोनयनपछि गाउँ गएको मूल प्रचार टोली खलंगा फर्किएको हो। एमालेले अपि हिमाल, मार्मा, नौगाड, लेकम, मालिकार्जुन र शैल्यशिखर नगरपालिकामा घरदैलो गरी फर्किएको एमाले जिल्ला कमिटी अध्यक्ष प्रेमसिंह धामीले जानकारी दिए। भोलिको सभापछि व्यास, दुहुँ र महाकालीमा घरदैलो कार्यक्रम गर्ने एमालेले जनाएको छ।