धादिङ/ चाडपर्वलाई लक्षित गर्दै धादिङको कृष्णभिर क्षेत्रमा सडक मर्मतसम्भारको काम तीव्र पारिएको छ। दसैँ, तिहारलगायतका चाडपर्वमा सवारीसाधनको चाप बढ्ने भएकाले सडकलाई सुरक्षित र सहज बनाउन मर्मतको कामलाई प्राथमिकताका साथ अघि बढाइएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालले बताए।
मन्त्री लम्सालका अनुसार कृष्णभिर क्षेत्रमा सडकमा परेका खाल्डाखुल्डी पुर्ने, नाली सफा तथा आवश्यक स्थानमा नाली खोल्ने र सडकको आवश्यक मर्मतसम्भार गर्ने काम भइरहेको छ।
चाडपर्वका समयमा यात्रुको आवागमन बढ्ने भएकाले मलेखु–मुग्लिन सडकखण्डमा सवारीसाधनको चाप अत्यधिक हुने गर्छ। सोही अवस्थालाई मध्यनजर गर्दै सडकलाई सुरक्षित र सहज बनाउने उद्देश्यले मर्मतसम्भारको काम तीव्र गतिमा अघि बढाइएको मन्त्री लम्सालले बताए।
उनले चाडपर्वका समयमा यात्रुलाई सडकका कारण समस्या नहोस् भन्ने उद्देश्यले आवश्यक स्थान पहिचान गरी तत्काल मर्मतसम्भार गर्ने व्यवस्था मिलाइएको बताए।
मलेखु–मुग्लिन सडकखण्ड राजधानी काठमाडौंलाई देशका विभिन्न जिल्ला तथा पूर्व–पश्चिम राजमार्गसँग जोड्ने महत्वपूर्ण सडक भएकाले चाडपर्वका समयमा यसको व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको मन्त्री लम्सालको भनाइ छ।