ब्राजिलका वर्तमान राष्ट्रपति अक्टोबर ३० मा भएको दोस्रो चरणको राष्ट्रपतीय चुनावमा वामपन्थी प्रतिद्वन्द्वी लुलासँग पराजित भए । त्यसयता बोल्सोनारोका समर्थक लरी (ट्रक) चालकहरूले देशभरका सडक अवरुद्ध गरेका छन् । देशका दुईबाहेक सबै राज्यमा ट्रकले सडक अवरोध गरेको र त्यसबाट खाद्य आपूर्ति शृंखलामा असर परेको बिबिसीले लेखेको छ ।
आइतबार सम्पन्न चुनावमा बोल्सोनारो झिनो मतान्तरले लुलासँग पराजित भएका थिए । कुल खसेको वैध मतमध्ये बोल्सोनारोले ४९.१ प्रतिशत र लुलाले ५०.९ प्रतिशत मत ल्याएका छन् । तर, सत्तारुढ उग्र दक्षिणपन्थी राष्ट्रपति बोल्सोनारोले हार स्विकारिसकेका छैनन् । न त उनले मतपरिणामलाई चुनौती दिइसकेका छन् । यसले पूर्वराष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले १ जनवरी २०२३ मा शपथ लिनुअघिको सत्ता हस्तान्तरणलाई पेचिलो बनाउन सक्ने चिन्ता उत्पन्न गरेको छ ।
बोल्सोनारो समर्थक लरी चालकहरूले चुनावी नतिजा घोषणा हुनेबित्तिकै देशका कैयौँ स्थानमा सडक अवरोध गरेका थिए । सोमबार रातिसम्म देशभर तीन सय ४२ अवरोधको घटनाको सूचना आएको संघीय राजमार्ग प्रहरीले बताएको छ । ठूला प्रदर्शन देशको दक्षिणी भागमा भएको अन्तर्राष्ट्रिय मिडियाले लेखेका छन् । केही स्थानमा भने प्रहरीले अवरोध खुलाएको ब्राजिलियन मिडियाले लेखेका छन् ।