विश्वको शक्तिशाली राजनीतिज्ञमध्ये ६९ वर्षे सी जिनपिङ तेस्रोपटक पुनः विश्वशक्तिउन्मुख राष्ट्र चीनको सत्तामा आएका छन् । देङ सिआपिङले सत्ता सञ्चालनको दशवर्षे अवधिको कानुनलाई राष्ट्रपति सीले संशोधन गर्दा नै आजीवन सत्ता चलाउने महत्वाकांक्षा हो भन्ने धेरैको आकलन थियो र आज सत्य साबित भएको छ ।
करिब ५० वर्षको अवधिमा तीव्र विकास गरेको चीनको कुल गार्हस्थ्य उत्पादन करिब १४ त्रिडिलियन अमेरिकी डलरसहित विश्वको दोस्रो अर्थतन्त्रको रूपमा उभिएको छ । ३० वर्षीय एक ध्रुवीय विश्वबाट दुई ध्रुवीयमा रूपान्तरण गरी एक ध्रुवको नेतृत्व गरेको आजको चीन पश्चिमा शक्तिको घेराबन्दीबीच आक्रामक कूटनीति र पूर्वाधार विकासमा दौडिरहेको छ । विश्व भू–राजनीति टकरावको वर्तमान अवस्थामा आजको चीन सर्वशक्तिमान हुनुका कारणहरू र भावी चुनौतीका दृष्टिगोचर गर्नु सान्दर्भिक हुन्छ ।
माओ तथा देङकालीन चिनियाँ अर्थ–राजनीति : सन् १९२४–२५ मा विदेशी सेनाद्वारा चिनियाँ ग्रामीण किसान मारिएको दृश्यले उद्वेलित भएका माओत्सेतुङ र राष्ट्रवादी नेता सन्येतसेनको संयुक्त पहलमा विदेशी सेना त भगाए, तर च्याङकाइसेकले नेतृत्व गरेको नेसनल पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच सन् १९२७ देखि भीषण गृहयुद्धको चपेटामा पर्यो चीन । चीनको इतिहासमा चर्चित अध्यक्ष माओको नेतृत्वमा दश हजार किलोमिटरको ‘लङ मार्च’ को बलमा सन् १९४९ मा जनवादी गणतन्त्र चीन घोषणा गरियो । राजनीतिक क्रान्तिको इतिहास रचेका उनले १५ वर्षमा अमेरिका र बेलायतजस्तै शक्तिशाली मुलुक बनाउन धेरै योजना ल्याए । तर, गलत रणनीतिका कारण शक्तिशाली लालसेना निर्माणबाहेक आर्थिक सामाजिक रूपान्तरणमा असफल मात्र भएनन्, सांस्कृतिक क्रान्ति र भूमिसुधारको नाममा भोकमरी र मानिसको निर्मम हत्याले आजसम्म हिंस्रक कम्युनिस्ट पार्टीको नाममा ऐठन हुन्छ ।
माओकालीन सांस्कृतिक क्रान्तिले आम सामान्य चिनियाँ मानिस मात्र प्रताडित होइन, चिनियाँ क्रान्तिका ग्याङ अफ फोरमध्ये त्यसको विरोध गर्ने देङलाई श्रम शिविरमा पठाइयो र उनका छोराको समेत हत्या गरियो । माओलाई असजिलो लाग्दालाग्दै पनि सन् १९७७ मा सत्तामा आएका युरोपको आधुनिक शिक्षाबाट दीक्षित राष्ट्रपति देङले कृषि, उद्योग, विज्ञान र प्रविधि तथा सैन्य शक्ति गरी चार क्षेत्रमा व्यापक आधुनिकीकरणको अभियान चलाए । वैदेशिक नीतिमा परिवर्तन ल्याई आर्थिक कूटनीतिमा जोड दिए । उनले माओकालीन कृषि नीतिलाई रिभर्स गरे । राज्यले लिएको जग्गा किसानलाई फिर्ता गरी राज्यलाई बुझाउनुपर्ने उत्पादनबाहेक खुला बजारमा बिक्री गरी नाफा आर्जन गर्न थाले र उनीहरू उत्पादनमा उत्प्रेरित भए । यसको परिणाम नौ वर्षमा ५० प्रतिशतले कृषि उत्पादनमा वृद्धि भयो ।
मुलुकको औद्योगीकरणका लागि चिनियाँ अर्थतन्त्र अमेरिका र युरोपका लागि खुला गर्नुका साथै विशेष आर्थिक क्षेत्र स्थापना गरियो । सन् १९७९ को आर्थिक क्रान्तिको अभियानले चीन आज विश्वकै उपभोग्य वस्तुको ठूलो उत्पादक राष्ट्र भएको छ । देङले उनको नीतिलाई सर्वप्रथम स्थानीय तहमा परीक्षण गरेर मात्रै देशभर लागू गरेका थिए । उनी शासनमा आउनासाथ विज्ञान र प्रविधिमा तीव्र विकास गरे ।
सन् १९७८ मा विश्वभरका ६ हजार वैज्ञानिकको सहभागितामा बेइजिङमा राष्ट्रिय विज्ञान प्रविधि सम्मेलनको आयोजना गरी आधुनिक विकासका लागि विज्ञान प्रविधिमा जोड दिएको सन्देश प्रवाह गरे । आफ्नो देशका करिब ३५ हजार इन्जिनियर तथा वैज्ञानिकलाई नयाँ प्रविधि सिक्न अमेरिका र सिंगापुर पठाई सक्षम बनेपछि मुलुक फर्काएर काममा लगाए । सन् १९८६–८७ मा अन्य कर्मचारी घटाएर विज्ञान तथा प्रविधि संरचना निर्माण गरी सक्षम युवा वैज्ञानिकलाई नियुक्ति गरे । मुलुकको व्यापारलगायत अन्य आर्थिक गतिविधिलाई प्रविधियुक्त बनाई आर्थिक वृद्धिलाई गतिशील बनाए ।
मुलुकको औद्योगीकरणका लागि चिनियाँ अर्थतन्त्र अमेरिका र युरोपका लागि खुला गर्नुका साथै विशेष आर्थिक क्षेत्र स्थापना गरियो । सन् १९७९ को आर्थिक क्रान्तिको अभियानले चीन आज विश्वकै उपभोग्य वस्तुको ठूलो उत्पादक राष्ट्र भएको छ ।
माओकालीन चीनको अर्थ–राजनीति बाहिरी विश्वभन्दा अलग थियो । डङे नेतृत्वको चीन धेरै अन्तर्राष्ट्रिय संस्थाको सदस्य बनेको थियो र शान्तिपूर्ण विकास रणनीतिमा आधारित वैदेशिक नीति अवलम्बन थियो । उनकै चतुर कूटनीतिका कारण सन् १९७९ मा अमेरिकी राष्ट्रपति जिमी कार्टरले ताइवान चीनको अभिन्न अंगका रूपमा घोषणा गरेका थिए, तथा सन् १९९७ मा हङकङ चीनमा हस्तारण गर्न बेलायतलाई मनाएका थिए । सन् १९८९ को तेनमने चोकमा भएको १० हजार प्रदर्शनकारी विद्यार्थी हत्याको कारण उनको शासनकालको उत्तराद्र्ध आलोचनामुक्त हुन सकेन । यद्यपि, लोकतन्त्रका नाममा ९० को दशकमा भएको पूर्वी युरोपियन राष्ट्रहरूको दशाबाट आफ्नो मुलुकलाई अलग राखी विकास र समृद्धिको आधार खडा गरे ।
सीको शासन र चुनौती : चिनियाँ कम्युनिस्ट पार्टीका धेरै स्थानीय तह पार गर्दै सी सन् २०१३ मा सत्तामा आए । उक्त पार्टीको १९औँ अधिवेशनमा ‘नयाँ युगका लागि चिनियाँ विशेषताको समाजवाद’ नामक विचारधारा अघि सारे । यो उद्देश्य पूरा गर्न राष्ट्रपति सीले शक्तिलाई केन्द्रीकृत, भ्रष्टाचारविरुद्धको अभियान, आक्रामक विदेश नीति अवलम्बन गरेका छन् । भ्रष्टाचारविरुद्धको अभियान तीव्र बनाए र गरिबी निवारणमा सफल पनि भए ।
यस्तै, पछिल्लो कोभिड महामारी नियन्त्रण र भ्याक्सिन कूटनीतिमा पनि उनी सफल देखिए । विदेश नीतिलाई प्रभावकारी बनाउन पाँच नीति जस्तै– भारतप्रति लक्षित गतिविधि, बेल्ट एन्ड रोड इनिसियटिभ्स, साउथ चाइना सी नियन्त्रणको प्रयास र हङकङका लागि सुरक्षा नीति लिएका छन् । सीको यो नीतिले विद्यमान शक्तिराष्ट्रलाई चुनौती त दियो होला, विश्वको पाँचौँ अर्थतन्त्र र ठूलो जनसंख्या भएको मुलुक भारत प्रतिकार कूटनीतिको नीति लिँदै क्वाडमा संलग्न भई अमेरिकाको सुरक्षा छाताभित्र पस्दा तथा करिब ८० प्रतिशत इन्धन आयात र कुलको ४० प्रतिशत विश्व व्यापार हुने रणनीतिक महत्वको स्थान साउथ चाइना सीमा भएको द्वन्द्वका कारण पूर्वी एसियन राष्ट्रहरू चिढिँदा विश्व अर्थ राजनीतिको रंगमञ्चमा चीन कमजोर हुने सम्भावनालाई नकार्न सकिँदैन ।
बेल्ट एन्ड रोड इनिसियटिभ्स एउटा त्यस्तो सञ्जाल हो, जसमा देशहरूको ऋणबाट वञ्चित ६० भन्दा बढी देशमा लगानी गर्ने उद्देश्य थियो । तर, शक्तिराष्ट्रहरूको टकराव, भूराजनीतिक जोखिम र सम्भावित ऋणको पासोले बेल्ट एन्ड रोड इनिसियटिभ्स परियोजना पनि सोचेजति प्रगति हुन सकेन । यो परियोजनाको नीतिगत सुधार गर्ने राष्ट्रपति सीको उद्देश्य प्रकट हुन्छ । आर्थिक र सामरिक दृष्टिले विश्वको सर्वशक्तिमान बन्ने चीनको चाहना र त्यसलाई जसरी पनि रोक्ने अमेरिकी रणनीतिका कारण साना र विकासशील राष्ट्र चेपुवामा पर्दै आएको दृष्टान्त युक्रेन र ताइवान हेर्दा थाहा हुन्छ । वर्तमान राष्ट्रपति सी पुनः शासनसत्ताको बागडोरमार्फत देङको नीतिलाई आधार मानी आफ्नो महान् चीन बनाउने घोषित नीतिलाई साकार बनाउँछन् वा शीतयुद्धको भुमरीमा रोकिन्छन्, भावी विश्व परिस्थिति र उनको कूटनीतिक क्षमतामा निर्भर हुनेछ ।
(कार्की अर्थशास्त्रका एमफिल स्कलर हुन् ।)