दाँतमा भएको फोहोरलाई मेसिनको सहायताले सफा गर्ने कार्यलाई स्केलिङ भनिन्छ । स्केलिङमार्फत दन्तलेउ, दन्तपत्थरलगायत हटाउने गरिन्छ । हरेक पल्ट हामीले खाना खाइसकेपछि दाँतमा एक प्रकारको लेउ जम्मा हुन्छ, उक्त लेउलाई दन्तलेउ भनिन्छ । यदि नियमित रूपमा सफा गरिएन भने लेउ बढ्दै जान्छ । फलस्वरूप दन्तपत्थर हुन्छ । यसले बिस्तारै दाँत र गिजामा समस्या उत्पन्न गराउँछ ।
- दाँतमा जमेर बसेको फोहोरले दाँतको वरपर गिजा र हड्डीमा रोग उत्पन्न गराउँछ । गिजाको रोगका कारण दाँत हल्लिने, सिरिङ्ग हुने, गिजाबाट रगत आउने, श्वास गनाउने आदि समस्या देखिन्छन् । यसलाई हटाउन स्केलिङ गरिन्छ ।
- स्केलिङ सामान्यतया १२ वर्षको उमेरभन्दा माथिका जोसुकै व्यक्तिले गर्न सक्छन् । एकपटक दाँत स्केलिङ गरेपछि ६ महिनामा फेरि उपचार गर्नुपर्छ । त्यसपछि चिकित्सकको सल्लाहअनुसार एक वर्षमा एकपटक स्केलिङ गर्न सकिन्छ ।
- स्केलिङ गरिसकेपछि सुरुमा दाँत सिरिङ्ग हुन सक्छ । यो बिस्तारै आफैँ ठीक भएर जान्छ । तर, यदि धेरै फोहोरका कारण गिजा तल सर्दै गएको खण्डमा सिरिङ्ग हुने क्रम नरोकिन सक्छ । यस्तो अवस्थामा भने थप जाँच गराउनुपर्ने हुन्छ ।
- कतिपय अवस्थामा अत्यधिक फोहोरका कारण दाँतको हड्डी खिइएर गइसकेको हुन्छ, जसले बाहिरी फोहोर सफा गर्दा दाँत हल्लिन सक्छ ।
- दाँत सफा गर्दा दाँत चम्किने, गिजा र हड्डी बलियो हुने गर्दछ । तसर्थ, नियमित दाँत सफा गर्नु आवश्यक छ ।