भैरहवा-परासी सडकखण्डको पननीमा ३५ दिनको शिशुसहित तीनजनाको ज्यान जाने गरी दुर्घटना गराउने गाडीबारे सूचना दिनेलाई रुपन्देही प्रहरीले २५ हजार पुरस्कार दिने घोषणा गरेको छ । सोमबार अपराह्न रुपन्देही प्रहरीले शंकास्पद गाडीको नमुना र रंग सार्वजनिक गर्दै गाडीको सूचना दिनेलाई २५ हजार पुरस्कार दिने घोषणा गरेको हो ।
भैरहवा–परासी सडकखण्डको पननीमा सोमबार बिहान करिब ६ बजेको समयमा भैरहवाबाट परासीतर्फ जाँदै गरेको नम्बर नखुलेको सवारीसाधनले पाँचजना पैदलयात्रीलाई ठक्कर दिएको थियो । मानिसलाई ठक्कर दिएपछि गाडी फरार भएको थियो ।
उक्त दुर्घटनामा परेर ३५ दिनको शिशुसहित तीनजनाको ज्यान गएको थियो । साेही दुर्घटना गराउने गाडीबारे सूचना दिनेलाई रुपन्देही प्रहरीले २५ हजार पुरस्कार दिने घोषणा गरेको हो ।

छठ पर्व मनाउन रोहिणी नदी जाने क्रममा रुपन्देहीको ओमसतिया- ४ मा कारले ठक्कर दिँदा एक शिशुसहित तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
नम्बर नखुलेको कारको ठक्करबाट मृत्यु हुनेहरूमा ओमसतिया- ४ का १४ वर्षीया सीमा कुर्मी, २८ वर्षीया प्रमिला कुर्मी र ३५ दिनको शिशु रहेका छन् । रोहिणी नदी किनारमा छठ पूजामा सहभागी हुन जाने क्रममा उनीहरूलाई गाडीले ठक्कर दिएको प्रहरीको भनाइ छ ।
दुर्घटनामा शिशुकी आमा २४ वर्षीया बन्दना कुर्मी र सोही ठाउँ बस्ने २६ वर्षीया मन्जु कुर्मी घाइते छन् । घाइतेको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
ठक्कर दिएको गाडी फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। घाइतेलाई भेट्न गृहमन्त्री बालकृष्ण खाण मेडिकल कलेज पुगेका थिए । उनले घाइतेको उपचारमा कुनै कमी हुन नदिन अस्पताल प्रशासनलाई आग्रह गरेका छन् ।