कतार विश्वकपमा १३ राष्ट्रले सुरक्षा दिँदै

२० नोभेम्बरदेखि १८ डिसेम्बरसम्म हुने फिफा विश्वकपमा सबैभन्दा धेरै टर्कीबाट तीन हजार सैनिक खटिने

सोमबार, १४ कार्तिक, २०७९
डिजिटल संस्करण

कतारमा अर्को महिना फिफा विश्वकप फुटबल प्रतियोगिता हुँदै छ । विश्वकप २० नोभेम्बरदेखि १८ डिसेम्बरसम्म हुँदै छ । विश्वकपमा विभिन्न मुलुकबाट १२ लाख फुटबल समर्थक कतार पुग्ने अपेक्षा गरिएको छ । आयोजक कतारले विश्वकपमा आउने खेलाडीदेखि समर्थकहरूको सुरक्षा व्यवस्था अति कडा बनाउने योजना बनाइरहेको छ । कतार विश्वकपमा १३ राष्ट्रका सैनिकले सुरक्षा प्रदान गरिने भएको छ ।

गत साता पाकिस्तानको सैनिक टोली कतार पुगेको थियो । अल जजिरा टेलिभिजनले विश्वकपअगाडि कतारी सुरक्षा फौज, निजी सुरक्षा गार्ड र विदेशी सैनिकले आयोजनास्थलहरूमा सुरक्षा अभ्यास गरेको जनाएको छ । कतारले एक महिनासम्म खेलाडी, अधिकारी, समर्थकहरूको सुरक्षाका लागि १३ राष्ट्रसँग सम्झौता गरेको हो । टर्की र पाकिस्तानका सैनिकले आफ्नो कमान्ड सम्हालिसकेको अल जजिराले जनाएको छ । 

विश्वकपमा कतारका ३२ हजार सुरक्षाकर्मी र १७ हजार सिभिल ड्रेसका सैनिकले सुरक्षा प्रदान गर्नेछन् । फ्रान्स, बेलायत, अमेरिका, मोरक्को र जोर्डनलगायतले सैनिक पठाउने जनाएको छ । धेरैजसो राष्ट्रले कतारलाई सैनिक सहयोग गरेका छन् । केही राष्ट्रले तालिम, उपकरण र प्राविधिक मात्र सहयोग गरेका छन् । 

टर्कीबाट तीन हजार सैनिक
विश्वकपमा टर्कीबाट सर्वाधिक तीन हजार सैनिक आउनेछन् । टर्किस सैनिकले रंगशाला तथा होटेलको सुरक्षा जिम्मेवारी लिने टर्कीका विदेश मन्त्री सुलेमान सोयुले बताएका छन् । यसैगरी, ५० जना बम डिस्पोज गर्ने विशेषज्ञ पनि कतार पठाइने उनले बताए । टर्कीका विशेषज्ञहरूले ६ सय ७७ कतारी सुरक्षाकर्मीलाई विशेष 
प्रशिक्षण दिनेछन् । 

पाकिस्तानी सैनिकले विश्वकप अवधिमा रंगशालादेखि विशिष्ट पाहुना बस्ने होटेलमा सुरक्षा प्रदान गर्नेछन् । पाकिस्तानको रेडियो पाकिस्तानले विश्वकपअगाडि थप सैनिक कतार पुग्ने जनाएको छ । यसैगरी, फ्रान्सको संसद्बाट विश्वकपमा दुई सय २७ सैनिक सहयोग गर्ने प्रस्ताव पास भएको छ । यससँगै फ्रान्सका सैनिकले पनि विश्वकपभरि नै सुरक्षा दिने भएका छन् । फ्रान्सेली सैनिक विशेष गरी आफ्ना खेलाडी तथा समर्थकमाथि केन्द्रित रहने फ्रेन्च विदेशमन्त्रीले जनाए । 

बेलायतले सहयोग गर्ने
गत महिना मोरक्कोका सैनिकले रंगशालाभित्र सुरक्षासम्बन्धी अभ्यास गरेका थिए । कतार न्युज एजेन्सीले मोरक्कोका सैनिकले क्वार्टरफाइनलदेखि फाइनलमा प्रयोग हुने रंगशालाको सुरक्षासम्बन्धी अभ्यास गरेको जनाएको छ । बेलायतले विश्वकपलाई सुरक्षित बनाउन सहयोग गर्ने जनाएको छ । विश्वकपमा हुन सक्ने दुर्घटनाबाट सुरक्षित बनाउन नै बेलायतले विशिष्ट सैनिक बल पठाउन लागेको बिबिसीले जनाएको छ ।

‘हामी चाहन्छौँ, कतारमा हुने विश्वकप सुरक्षित हुनुपर्छ,’ बेलायतका एक उच्च अधिकृतको भनाइ उद्धृत गर्दै बिबिसीले भन्यो, ‘विश्वकप हेर्न आउने र खेल्ने खेलाडीले सुरक्षाको अनुभूति पाउनुपर्छ, यसै कारण हामी पनि कतारलाई सहयोग गर्न लागेका हौँ ।’ यसैबीच, युएईमा रहेको अमेरिकी सैनिकले पनि बाहिरी रूपमा कतार विश्वकपको सुरक्षा प्रदान गर्नेछ । 

सुझावित समाचार