सीमापारिबाट ढुंगा उछिट्टिएर बालकको मृत्यु : बोल्दैन सरकार, घटना दोहोर्‍याउँदै भारत

पीडित परिवारले माग्यो क्षतिपूर्ति

शनिबार, १२ कार्तिक, २०७९
डिजिटल संस्करण

भारतले तावाघाट–लिपुलेक सडक विस्तार गर्ने क्रममा विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर व्यास गाउँपालिका वडा नम्बर २, दुम्लिङ अरतौलीका ९ वर्षीय बालक पवन महराको शुक्रबार मृत्यु भएको छ। 

एक महिना आमाबुवासँगै खर्क (जंगल) गएका उनी विद्यालय खुल्ने भएपछि घर फर्किँदै थिए। तीन छोरा र एक छोरीसहित महरा परिवार खर्कबाट गाउँ फर्किने क्रममा भारतीय सडक निर्माण गर्दै आएको कम्पनीले विस्फोट गराउँदा बालकको घटनास्थलमै मृत्यु भयो।

सीमा क्षेत्रमा भारतले सूचना नै नदिई विस्फोट गराउँदा हिक्मत महराका छोरा पवनको घट्नास्थलमै ज्यान गएको हो। मृतक बालकको शुक्रबार राति शवको पोस्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुलामा ल्याइएको छ। 

दुम्लिङस्थित सर्वहित आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत महरासँगै रहेका दिदी १४ वर्षीया सरिना महरा घाइते भएकी छिन्। खुट्टामा चोट लागेकी उनको जिल्ला अस्पताल खलंगामा उपचार भइरहेको बुवा हिक्मत महराले बताए।

तम्बाकुनजिक थी खर्कबाट फर्कने क्रममा साढे ११ बजे पारिबाट आएको ढुंगा लागेर पवनको ज्यान गएको बुबा हिक्मतले बताए। भारतीय पक्षले जानकारी नदिई विस्फोट गराएका कारण आफ्नो छोराले ज्यान गुमाउनुपरेको उनले बताए। उनले भने, ‘म श्रीमती, छोरा पंकज, सरिना, पवन, प्रवेशसँगै आउँदै थियौँ। हामीलाई कुनै जानकारी पनि दिइएन। पारिबाट विस्फोट हुँदै छ भनेर सिट्ठी पनि फुकिएन। हामी महाकालीवारि आउँदै थियौँ।’ 

उनले थपे, ‘भारतीय सडक निर्माणको जिम्मा पाएको गर्ग एन्ड गर्गले पारिपट्टि सडक चौडा बनाउन विस्फोट गर्दै छ। महाकाली नदी पूरै थुनिएको छ। वारि पारि भन्नु मात्रै छ। वारि मान्छे हिँडेको सजिलै देखिन्छ। तर, उसको लापारबाहीका कारण मेरो छोराको ज्यान गएको छ।’

दसैँतिहारको बिदामा थी खर्कमा गाईवस्तु, भेडा चराउन गएका उनीहरूको कात्तिक १४ गते विद्यालय खुल्ने भएपछि गाउँ फर्किँदै थिए। पीडित परिवारले भारतीय कम्पनीसँग क्षतिपूर्ति दिलाउन माग गरेको छ। 

भारत धार्चुलाको एसडिएम कार्यालयमा भएको छलफलमा नगद क्षतिपूर्ति दिन माग गरेका हुन्। मृतक बालकका बुवा हिक्मतले क्षतिपूर्ति दिए विवाद समाधान हुने बताए। निर्माण कम्पनी पनि क्षतिपूर्ति दिन तयार भए पनि रुपैयाँको बारेमा सहमति भइसकेको छैन।

अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा कुनै भौतिक संरचना बनाउँदा दुवै देशले एकअर्कालाई असर पुर्‍याउने काम गर्न पाउँदैनन् । विस्फोट गराउनै पर्ने भए विस्फोट अवधिभर प्रभावित क्षेत्रमा मानिसलाई आवतजावतमा रोक लगाउनुपर्छ। त्यसका लागि एकअर्का देशका प्रशासनबीच समन्वय हुनुपर्छ। तर, शुक्रबार भारतीय पक्षले विस्फोट गराउनुअघि त्यस क्षेत्रका बासिन्दालाई सूचना नै नदिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। 

दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय विस्फोटअघि भारतीय पक्षले प्रशासनलाई कुनै जानकारी नदिएको बताउँछन्। ‘घट्ना सम्बन्धमा परराष्ट्र मन्त्रालयलाई जानकारी गराएका छौँ,’ उनले भने, ‘कूटनीतिक तवरमा सरकारले प्रक्रिया अघि बढाउला। स्थानीयस्तरमा दुई देशका जिल्ला अधिकारीबीच पनि टेलिफोन संवाद भएको छ।’

घटना  दोहोर्‍याउँदै भारत

गत भदौ महिनामा भारतीय सडक निर्माणको क्रममा पहिरोमा परी तीनजना नेपाली घाइते भएका थिए। व्यास गाउँपालिका - २ का जयलाल ओड, सुकरिब धामी, धीरनसिंह धामी र दिनेश धामी घाइते भएका हुन्। सडक निर्माणको क्रममा आएको पहिरोले घाइते भएकाहरू अहिले पनि उपचारमै छन्। 

जयलाल भारत पिथौरागढमा उपचार गराइरहेका छन् भने धीरन धनगढीमा उपचार गराउँदै छन्। उनीहरूले अहिलेसम्म निर्माण कम्पनीबाट कुनै प्रकारको क्षतिपूर्तिसमेत नपाएको व्यास गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष धीरनसिंह बुढाथोकीले बताए। अहिलेकै सडक निर्माण गरिरहेको क्षेत्रमा पहिरोमा उनीहरू घाइते भएका हुन्।
 

गत वर्ष हिक्मतको घरको छाना र एक गाई भारतबाट आएको ढुंगाका कारण मृत्यु भएको थियो। हिक्मत भन्छन्, ‘सीमा क्षेत्रमा पटकपटक हामीमाथि भारतले यस्ता घट्ना दोहोर्याइरहेको छ। महाकालीवारि हाम्रो घर छ। सडकबाट आएको ढुंगा सीधै घरमा पर्दा मानवीय क्षति हुनबाट जोगिए पनि भौतिक क्षति र पशु चौपाया क्षति भएको थियो। घटनाबारे नेपाल प्रहरीले घटनास्थल मुचुल्का बनाएर क्षतिपूर्तिको लागि पहल भए पनि अहिलेसम्म कुनै सुनुवाइ गरेन।’

२०७८ जेठ २५ मा पनि व्यास गाउँपालिकाका दुम्लिङ र कल्जु क्षेत्रबाट पारि भारतले बाटो विस्तार गर्ने क्रममा गराएको विस्फोटले चट्टान खसेर नेपालतर्फको बाटो भत्किएको थियो । दुम्लिङबाट करिब दुई सय मिटर उत्तरतर्फको घोरेटो बाटो महाकालीले बगाएको थियो । बाटो बगाउँदा नेपालको भूमिबाटै व्यास जाने बाटो अवरुद्ध भएको छ।
भारतले सडकको ट्रयाक खोल्न गराएको विस्फोटमा नेपालतर्फ दुम्लिङका चारवटा घरमा क्षति पुगेको थियो। पारिबाट उछिट्टिएर आएको ढुंगा लागेर घरपालुवा चौपाया पनि घाइते भएका थिए।

सुदूरपश्चिम प्रदेश सभा सदस्य गेल्बुसिंह बोहरा भारतीय पक्षले पटकपटक सडक विस्तारको क्रममा नेपालतिर क्षति पुर्याउँदै आएको बताउँछन्। पटकपटक मानवीय क्षति भएको छ।

दुम्लिङदेखि व्यासको छाङगरु तिंकर जाने घोरेटो बाटो त्यही भारतीय सडकका कारण अवरुद्ध भएको छ। विगतमा भारतीय पक्षले सडक निर्माणको क्रममा भएको घोरेटो बाटो भारतीय पक्षले बनाउने सहमति गरे पनि अहिलेसम्म कार्यान्वयन नगरेको बताउँछन्। 

व्यास गाउँपालिका अध्यक्ष मंगलसिंह धामी सीमा क्षेत्रमा भारतीय पक्षले अमानवीय काम गरिरहेको बताउँछन्। गत वर्ष मात्रै जयसिंह धामी तुइन काटेर मारिए। अहिले चट्टान फोड्न विस्फोट गराएर सीमावारि हिँड्दै गरेको अवोध बालक मारिए। 

प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय नेपालको बाटो भारतीय सडकभन्दा निकै तल पर्ने भएकाले पारि निर्माण कार्य हुँदा नेपालको बाटोमा सधैँ असर पुग्ने गरेको बताए। ‘सीमामा काम गर्दा समन्वय गरिनुपर्छ । हामीले पनि सडक खन्ने क्रममा भारतीय पक्षसँग समन्वय गरेर अघि बढाउँछौँ,’ उनले भने।

नेपाल सरकारले व्यास–२ मा पर्ने कोठेधारदेखि नेपाल–चीन सीमानाका तिंकरसम्मको ८७ किमि सडक नेपाली सेनालाई दिएको छ। कोठेधारदेखि महाकाली नदी किनारकिनारै हुँदै सडक व्यासको छांगरु तिंकर पुग्नेछ। 

सुझावित समाचार