सडक दुर्घटनामा गम्भीर घाइते भएका जन्तेढुंगा गाउँपालिकाका पूर्वप्रमुख एवं नेकपा (एमाले) खोटाङका सचिवालय सदस्य शंकरबहादुर राईको दुई महिनापछि निधन भएको छ।
मोटरसाइकलको पछाडि बसेर इटहरीबाट विराटनगरतर्फ जाने क्रममा गत भदौ २ गते बिहीबार राति हलगडाचोकमा पछाडिबाट आएको बा.२क ५३२५ नम्बरको माइक्रो भ्यानले ठक्कर दिँदा गम्भीर घाइते भएका पूर्वप्रमुख राईको सोमबार निधन भएको हो। दुर्घटनालगत्तै अस्पताल लगेर टाउकोको शल्यक्रिया गरिएका उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गएपछि स्वास्थ्यकर्मीकै सल्लाहमा घर फर्काउने क्रममा बाटैमा निधन भएको छोरा गंगाप्रसाद राईले बताए।
जन्तेढुंगा–६ धिप्लुङ स्थायी घर भएका पूर्वप्रमुख राईको शव परीक्षणपछि जन्मघरमै ल्याएर किराँत परम्पराअनुसार अन्त्येष्टि गरिने आफन्तले बताएका छन्।