सिड्नीमा परराष्ट्रमन्त्री खनाल र  न्यू साउथ वेल्सका प्रिमियर मिन्सबिच भेटवार्ता

बिहिबार, २२ असोज, २०८३
डिजिटल संस्करण

सिड्नी/ न्यू साउथ वेल्सका प्रिमियर क्रिस्टोफर (क्रिस) जोन मिन्सले सिड्नीमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन्। भेटका क्रममा प्रिमियर मिन्सले नेपालमा हालै आएको विनाशकारी बाढी तथा विपतका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरे। उनले विपतपछिको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि न्यू साउथ वेल्स सरकार नेपाललाई सहयोग गर्न तयार रहेको  बताएका छन्। 

परराष्ट्रमन्त्री खनालले विपतका कारण प्रभावित नेपालीप्रति देखाएको सहानुभूति, ऐक्यबद्धता र सहयोगका लागि न्यू साउथ वेल्सका जनता, नेपाली डायस्पोरा तथा त्यहाँका विभिन्न समुदायप्रति हार्दिक आभार व्यक्त गरेको उनको सचिवालयले जनाएको छ। मन्त्री खनालले विपतपछि सम्पर्कविहीन भएका अस्ट्रेलियाली नागरिकहरूको खोजी तथा उद्धारलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी प्रिमियर मिन्सलाई गराए। 
भेटवार्तामा नेपाल र न्यू साउथ वेल्सबिच व्यापार, ऊर्जा, खानी, पूर्वाधार तथा प्राविधिक एवं व्यावसायिक शिक्षा तथा तालिम (टिभिइटी) लगायतका क्षेत्रमा सहकार्यका सम्भावनाबारे पनि छलफल भएको छ। त्यसैगरी, नेपाल र न्यू साउथ वेल्सका उच्च शिक्षण संस्थाबिच सहकार्य तथा शैक्षिक आदानप्रदानलाई थप विस्तार गर्ने विषयमा समेत दुवै पक्षबिच छलफल भएको थियो।
 

सुझावित समाचार