बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्रान्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री तिमिल्सिना

बिहिबार, २२ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं/ सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान र बौद्धिक सम्पत्तिको संरक्षण गर्दै नेपाली ब्रान्डलाई विश्व बजारमा स्थापित गर्न सरकारले नीतिगत तथा प्रक्रियागत सहजीकरण गर्ने बताएका छन्।

कर्पोरेट नेपालद्वारा बिहीबार आयोजित ‘नेपाली ब्रान्ड परिसंरचना २०८३’ प्रतिवेदन सार्वजनिक कार्यक्रममा मन्त्री तिमिल्सिनाले नेपालका उत्पादन तथा ब्रान्डको वर्तमान अवस्था पहिचान गर्न वैज्ञानिक विधिबाट गरिएको अध्ययन महत्वपूर्ण हुने बताए।

नेपाली ब्रान्डको प्रवर्द्धनका लागि विद्यमान नीतिगत तथा संरचनागत समस्याको पहिचान गरी समाधान खोज्नुपर्नेमामा उनको जोड थियो। औद्योगिक तथा बौद्धिक सम्पत्तिको संरक्षण र प्रवर्द्धनमा राज्यका सम्बन्धित निकाय, निजी क्षेत्र तथा अन्य सरोकारवालाबिच सहकार्य आवश्यक रहेको उनले प्रस्ट पारे।

‘आजको व्यापार भौगोलिक सीमामा मात्र सीमित छैन। सूचना प्रविधिले हाम्रा उत्पादनलाई विश्व बजारसम्म सहज रूपमा पुर्याउने वातावरण बनाएको छ,’ उनले भने।

सञ्चारमन्त्री डा. तिमिल्सिनाले नेपाली ब्रान्डको विकास केवल व्यापारिक विषय नभई मुलुकको अर्थतन्त्रसँग समेत जोडिएको बताए। नेपालका विशिष्ट तथा मौलिक उत्पादनलाई प्रभावकारी रूपमा ब्रान्डका रूपमा स्थापित गर्न सके त्यसले राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने उनको भनाइ थियो।

ब्रान्डिङ केवल प्रचार–प्रसारको विषय नभई मौलिकता, नेपालीपन र छुट्टै पहिचान निर्माण गर्ने प्रक्रिया भएको उनले स्पष्ट पारे। आफ्ना उत्पादन तथा व्यवसायमा नेपालीपन र मौलिक पहिचान स्थापित गर्दै अघि बढ्न सके दीर्घकालीन रूपमा उपभोक्ताको विश्वास र व्यावसायिक सफलता हासिल गर्न सहयोग पुग्ने तिमिल्सिनाले उल्लेख गरे।

सुझावित समाचार