जुम्लामा दुई सातादेखि नेसनल ग्रिड अवरुद्ध

आइतबार, ६ कार्तिक, २०७९
डिजिटल संस्करण

गत असोज अन्तिम साता वर्षासँगै आएको बाढीपहिरोले राष्ट्रिय प्रसारण लाइन (नेसनल ग्रिड)मा क्षति गरेपछि विद्युत् आपूर्ति अवरुद्ध भएको छ।

बाढीपहिरोले जुम्ला र कालिकोट खण्डमा ९० वटा पोल र तारमा क्षति भएपछि दुई सातादेखि विद्युत् आपूर्ति नभएको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले बताए। दुई सातादेखि नेसनल ग्रिड अवरुद्ध भएपछि स्थानीय घुघुत्ती र जाल्पादेवी साना जलविद्युत् आयोजनाको बिजुली जुम्ला सदरमुकाम खलंगामा काम चलाउ वितरण भइरहेको छ। यही बिजुली पनि २४सै घण्टा नियमित आपूर्ति हुने अवस्था छैन।

टोल र क्षेत्र क्लस्टर मिलाएर बिजुली आपूर्ति गर्ने गरिएको प्रमुख रावलले बताए। उनले भने, ‘स्थानीय स्तरमा उत्पादित बिजुली कम क्षमताको छ। अस्पताल, सुरक्षा निकायलगायत विशेष ठाउँलाई प्रथमिकता दिएर वितरण गरिएको छ भने नागरिकको घरमा कम्तीमा मोबाइलसम्म चार्ज गर्न होस् भनेर बिजुली आपूर्ति गरिएको छ।’

क्षति भएको स्थानमा बिजुलीका पोल गाड्ने र तार जोड्ने काम निरन्तर भइरहेको छ। सडक पनि अवरुद्ध भएकाले विद्युत् सामग्री ओसारपसारमा समस्या भएको छ। उनले भने, ‘हप्ता दिनभित्र नेसनल ग्रिड आपूर्ति हुने गरी मर्मतको काम भइरहेको छ।’

सुझावित समाचार