कांग्रेसका युवा नेता प्रदीप पौडेलले आफूले पाएको जति अवसर आफ्ना मतदातालाई दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
आइतबार आफ्नो निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नं ५ को प्रदेश सभा ‘ख’ मा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता पौडेलले सो कुरा बताएका हुन्।
मतदाताहरूले आफूहरूलाई विनाकुनै सर्तमा खाली कागजमा हस्ताक्षर गरेर दिएको विश्वासलाई कहिल्यै कुठाराघात नगर्नेसमेत बताए।
‘पार्टीले मलाई अवसर दियो काठमाडौंबाट म यति भएँ। त्यसैले, मैले जति अवसर पाएको छु, त्यति अवसर तपाईं पनि त्यहीँ हुनुपर्दछ,’ उनले भने, ‘तपाईंले कुनै सर्त नराखी खाली कागजमा हस्ताक्षर गरेर दिनुहुन्छ। तर, त्यसमा कहिल्यै पनि कुठाराघात गर्नेछैन।’
कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले आफू निर्वाचन जितेमा कहिल्यै मालिकजस्तो नबन्ने प्रतिबद्धता व्यक्त गरे। आफूलाई पार्टीले अघि बढाएको विभिन्न कालखण्डको स्मरण गर्दै पार्टीमा सहयोग गर्ने साथीहरूलाई कहिल्यै भावनामा चोट पुग्ने काम नगर्ने बताए।
‘म आज जे छु पार्टीको कारणले छ। त्यसैले, पार्टीका साथीहरूको लागि म कहिल्यै पनि चोट पुग्ने काम गर्नेछैन।’ उनले भने, ‘निर्वाचन जितेपछि म कहिल्यै पनि मालिक बने भनेर कहिल्यै पनि त्यस्तो सोच्नेछैन।’
आफूसँग जनताको पक्षमा काम गर्ने जोस र हुटहुटी रहेको बताउँदै उनले अब पार्टी र देशको नेतृत्व गर्न चाहेको बताए। ‘म पार्टीको नेतृत्व गर्न चाहन्छु। म देशको नेतृत्व गर्न चाहन्छु,’ उनले भने। नेता पौडेलले आफूले जितेपछिको व्यवहारमा कहिल्यै पनि फरक नबनाउने प्रतिबद्धता व्यक्त गरे।