कांग्रेसका युवा नेता प्रदीप पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई राजनीतिक छायाबाट मुक्त राख्नुपर्ने बताएका छन्।
शुक्रबार काठमाडौं क्षेत्र नम्बर ५ अन्तर्गत पर्ने बुढानीलकण्ठ नगरपालिका– ५ इकाइले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले सो कुरा बताएका हुन्।
कार्यक्रममा बोल्दै नेता पौडेलले भ्रष्टाचार नियन्त्रण गर्ने संस्थालाई राजनीतिको दाउपेचबाट माथि राख्नुपर्नेमा जोड दिए।
कार्यकारी भूमिकामा रहेका व्यक्तिहरूको निगरानी अख्तियारले गर्न नपाएको बताउँदै उनले भने, ‘कार्यकारी भूमिकामा रहेका मानिसको काममा निगरानी गर्न नपाउने हो भने अख्तियारको के काम ? कसरी भ्रष्टाचार रोकिन्छ।’
त्यसैगरी, स्वतन्त्र र निष्पक्ष व्यक्तिले नेतृत्व गरेमा मात्रै अख्तियारले उचित ढंगले काम गर्न सक्ने बताए।
‘स्वतन्त्र र निष्पक्ष मान्छेहरूले नेतृत्व गरे भने मात्रै अख्तियारले राम्रोसँग अनुसन्धान गर्न सक्दछन्,’ उनले भने, ‘त्यसैले अख्तियार दुरुपयोग अनुसन्धान आयोग राजनीतिको छायाबाट मुक्त हुनुपर्दछ।’
कार्यक्रममा बोल्दै नेता पौडेलले तत्कालीन केपी ओली नेतृत्वको सरकारले अदालतमाथि हस्तक्षेप गरेको आरोप लगाए।
आफूसँग नेकपा एमालेबाट प्रतिस्पर्धामा रहेका ईश्वर पोखरेल सोही सरकारमा सामेल भएर पनि न्यायालयमाथि हस्तक्षेप हुँदा केही नबोलेको टिप्पणी गरे।
साथै आफूहरूले न्यायालय सुधारदेखि अख्तियारको निष्पक्षतासम्मका लागि योजना बनाएर काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
‘न्यायालयमाथिको नांगो हस्तक्षेप छ, केपी ओलीले दुईतिहाइको सरकार बनाउनुभयो । उहाँहरूले सरकारको नेतृत्व गर्नुभयो । उहाँहरूले नै दुईतिहाइको शक्ति प्रयोग गरेर अदालतमाथि पनि हस्तक्षेप गर्नुभयो,’ उनले भने, ‘त्यसैले न्यायालयको निष्पक्षताको निमित्त पनि हामीले कामहरू गर्नेछौँ।’
नेता पौडेलले संसदमा समावेशी प्रतिनिधित्व रहेको बताउँदै संसद्लाई प्रत्यक्ष निर्वाचित कार्यकारीको अवधारणमा लैजान आफूहरू लागिपरेको पनि बताए।
‘संसद्लाई प्रत्यक्ष निर्वाचन प्रणालीबाट समावेशी बनाऔँ भनेर पनि हामीले प्रस्ताव गरिरहेका छौँ,’ उनले भने ।
त्यस्तै, काठमाडौंका मतदाताले आफ्नो ठाउँको विकास र न्यायका लागि मत हाल्नसमेत आग्रह गरेका छन् ।
नेता पौडेलले निर्वाचनअघि सुरु भएको केही गठबन्धनको यात्रा आगामी पाँच वर्षसम्म रहनेमा समेत जोड दिएका छन्।