निर्वाचन आयोगले सरकार र मातहतका निकायले विभिन्न कामको अनुमतिका लागि दिएको तीन सयभन्दा बढी निवेदन रोकिदिएको छ।
निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले निर्वाचन आचारसंहिताविपरीत हुने खालका काममा अनुमति पाऊँ भनी दिएका निवेदनहरू रोकिदिएको बताएका हुन्।
बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै आयुक्त भण्डारीले कर्मचारी सरुवा, बढुवा, नयाँ नियुक्ति, नयाँ भवन शिलान्यास, उद्घाटन, अनावरणलगायतका विषयमा सरकार र मातहतका निकायले दिएको निवेदन निर्वाचन आचारसंहिताविपरीत भएको भन्दै आयोगले राकेको बताए।
तर, आयोगले अत्यावश्यक सेवाका लागि परेको करिब १५३ वटा निवेदनमाथि अध्ययन गरी सो कार्य अघि बढाउन अनुमति दिइएको जनाएको छ। निर्वाचन आयुक्त भण्डारीले देशको प्रतिनिधित्व गरेर बाहिर मुलुकमा जानुपर्ने विषय, अत्यावश्यक स्वास्थ्य, सरसफाइलगायतका कार्यक्रम अघि बढाउन दिइएको निवेदन भने स्वीकृत गर्दै अघि बढाउन अनुमति दिइएको बताए।
उनले भने, ‘आचारसंहिताले कर्मचारी सरुवा, बढुवा, नयाँ कार्यक्रम छन् भने उद्घाटन, शिलान्यास, अनावरणलगायतका विषयवस्तुहरू जुन कार्य गर्दाखेरी निर्वाचनलाई प्रतिकूल असर पर्छ भने ती काम गर्न पाइँदैन भनेर हामीले रोक्यौँ। नगरी नहुने र दैनिक कार्यमै बाधा अड्चन खडा हुने र स्वास्थ्यसम्बन्धी, सरसफाइसम्बन्धी, अत्यावश्यक विषयवस्तुभित्र पर्छन्। ती विषयवस्तुहरूलाई समेत समेट्नुपर्ने विषय छ भने त्यसलाई अध्ययन गरेर हामीले १५३ वटालाई सहमति दिएका छौँ। रोकिएको करिब-करिब ३०० हाराहारीमा होला। निर्वाचन प्रक्रियामा असर पर्ने कुनै पनि अनुमति सरकारलाई दिन सकिँदैन, हामी रोक्छौँ।’