प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई पुन: आमन्त्रण गरेका छन्। बुधबार ओलीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सञ्चारमाध्यम र सम्पादकलाई यस विषयमा ध्यानाकर्षणसमेत गराएका हुन्।
ओलीले लेखेका छन्-
'अनुरोध ! मैले हिजो एजेन्डा आधारित बहसका लागि नेकांका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाजीलाई आमन्त्रण गरेको थिएँ। यस विषयलाई आमसञ्चारमाध्यमहरूले पनि सकारात्मक चर्चा गरेको पाएँ। यसप्रति म खुसी छु। विकसित देशहरूमा निर्वाचनको समयमा यस्ता लाइभ डिबेटहरू सार्वजनिक सञ्चारमाध्यमबाट आयोजना गर्ने गरिन्छ। यहाँका सञ्चारमाध्यम र सम्पादकज्यूहरूले यस विषयमा के सोच्नुभएको छ, समग्र सञ्चार जगतको ध्यानाकर्षण गर्न चाहन्छु।'
मंगलबार ओलीले फेसबुकबाटै देउवासँग एजेन्डा आधारित लाइभ बहस गर्न आफू तयार रहेको बताएका थिए। उनले लेखेका थिए, 'धेरैजसोले मेरो र नेकांका सभापति शेरबहादुर देउवाजीबीच एजेन्डामा आधारित बहसका लागि सुझाव दिनुभएको छ। निर्वाचनको समयमा पश्चिमा देशहरूमा यस्तो डिबेट हुने गरेको छ। म त यसका लागि तयार छु, देउवाजी नि?'