सन् २०१५ को तथ्यांकअनुसार नेपालमा जम्मा ८ लाख ४५ हजार ७ सयभन्दा बढी टेलिफोन लाइन सञ्चालनमा थिए । अनुपातका हिसाबले यो संख्या ३३ जनाबराबर एक लाइन टेलिफोन हो । विश्वभरका हिसाबले भने नेपालको यो अनुपात ८३औँ स्थानमा छ ।
मोबाइल फोन प्रयोग गर्नेका हिसाबले नेपाल संसारमा ५४औँ स्थानमा पर्छ । यहाँ २ करोड ८४ लाखभन्दा बढी मोबाइल सञ्चालनमा रहेका छन् । (नेपाल दूरसञ्चार प्राधिकरण, सन् २०१५) र नेपालमा १०७ प्रतिशत टेलिघनत्व पुगिसकेको छ । हाल नेपालमा तारसहितको, अप्टिकल फाइबरमा आधारित, सिडिएमए, कम क्षमताको माइक्रोवेभ रेडियो रिले गरी विभिन्न प्रकारका दूरसञ्चार उपकरणहरू सञ्चालनमा छन् ।
नेपालमा नेपाल टेलिकम र एनसेल नै प्रमुख दुई मोबाइल सेवा–प्रदायक कम्पनीहरू हुन् । अन्य कम्पनी खुले पनि तिनको सेवा विस्तार खासै हुन सकेको छैन ।
यी कम्पनीले बजारमा नयाँ–नयाँ प्रविधिहरू, जस्तै– मोबाइलमा इन्टरनेट, सिडिएमए, जिपिएस, र थ्रिजी सेवाहरू ल्याएका छन् । सन् २०१२ को तथ्यांकअनुसार नेपालमा ९ प्रतिशतमा मात्र कम्प्युटरको पहुँच छ । सन् २०१० सम्म सुस्त गति भए पनि त्यसपछिको समयमा भने कम्प्युटर प्रयोग गर्नेको संख्या तीव्र भएको छ ।
स्रोत : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय