किशोर-किशोरी हत्या प्रकरण : ‘फरेन्सिक’ विज्ञले पोस्टमार्टम गर्ने

सोमबार, ३१ असोज, २०७९
डिजिटल संस्करण

दाङको तुलसीपुरमा हत्या गरेर खाडलमा पुरिएका दुई किशोर–किशोरीको पोस्टमार्टम फरेन्सिक विज्ञबाट गरिने भएको छ। 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा कार्यरत डा. विभूति शर्माले उक्त पोस्टमार्टम गर्ने भएका छन्। दुईजनाको शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर राखिएको छ। तर, तुलसीपुरमा फरेन्सिकविज्ञ नुहँदा घोराहीबाट ल्याएर पोस्टमार्टम गर्न लागिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले बताए। 

उनका अनुसार विवादित तथा कानुनी प्रक्रिया अघि बढ्ने केसहरूका सन्दर्भमा विज्ञहरूबाटै पोस्टमार्टम गर्दा राम्रो हुने भन्दै फरेन्सिक विज्ञमार्फत पोस्टमार्टम गर्न लागिएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. ओम अर्यालले बताए।

‘कानुनी जटिलता आउने, विवादित विषयहरूमा हामीले विज्ञहरूमार्फत पोस्टमार्टम गर्दा राम्रो हुने भएपछि हामीले प्रतिष्ठानबाट डा. विभूतिलाई बोलाएका हौँ,’ उनले भने‘ उहाँले शवलाई उतै पठाइदिनुस् भन्नुभएको छ तर हामीले यतै आउन अनुरोध गरेका हौँ।’ सकेसम्म भोलि नै पोस्टमार्टम गर्ने गरी तयारी रहेकोसमेत उनले बताए।  

हत्याका विषयमा अनुसन्धान गर्न प्रहरीले शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिरहेको छ। तर, सन्तोषजनक प्रगति हुन सकेको छैन। प्रहरीले अनुसन्धानको काम गरिरहे पनि अझै घटनाको विषयमा तथ्य पत्ता लाग्न सकेको छैन।

अनुसन्धानकै लागि जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतम पनि तुलसीपुरमै छन्। अनुसन्धान जारी रहे पनि अझै पनि सोचेअनुरूपको प्रगति हासिल गर्न नसकिएको प्रहरी नायब उपरीक्षक गौतमले बताए। ‘सोचेअनुरूप प्रगति हासिल गर्न सकिएको छैन, हामी अनुसन्धानमै छौं,’ उनले भने, ‘अझै चित्त बुझ्दो हुन सकेको छैन।’

पीडितहरू अहिले पीडामा रहेकाले धेरै कुरा बोल्न नमानिरहेकाले पनि उनीहरूको सम्बन्धका बारेमा धेरै कुरा आउन नसकेको उनले बताए।

अहिले शंकास्पद व्यक्तिहरूलाई सोधपुछ गरिरहेको भए पनि अझै त्यसको नजिकसम्म पुग्न सकिएको अवस्था नरहेको डिएसपी गौतमले बताए। ती किशोर–किशोरीको आनीबानी बुझ्न उनका साथीहरूलाई पनि सोधपुछ गरिएको प्रहरीले बताएको छ।
  
किशोर–किशोरीको मोबाइल पनि भेटिएको छैन। एकजना टिपरचालकलाई पक्राउ गरेर अनुसन्धान गरिएको छ। ती चालकले दिएको बयानका आधारमा प्रहरीले अनुसन्धानलाई अघि बढाएको जनाएको छ। 

‘पटक–पटक फरक क्लू आयो भने त्यहीअनुसार हामीले अनुसन्धान गरिरहेका छौँ, घटनास्थलमा पनि गइरहेका छौँ,’ उनले भने, ‘धेरै सम्भावनाहरू लिएर हामीले अनुसन्धान गरिरहेका छौँ।’ 

तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ दमारगाउँस्थित एक सामुदायिक वनमा दंगीशरण गाउँपालिका वडा नं. ६ थपगाउँनिवासी १५ वर्षीय शरद् आचार्य र तुलसीपुर १३ डाँडागाउँनिवासी रोशनी महतारालाई हत्या गरी एउटै खाडलमा गाडिएको अवस्थामा आइतबार दिउँसो १२ बजेतिर फेला पारिएको थियो। 

उनीहरूको टाउकोमा चोट लागेको छ। टाउकोमा ढुंगा प्रहार भएकोजस्तो देखिने डिएसपी गौतमको भनाइ छ। तर, यो विषयमा पोस्टमार्टम रिपोर्ट नआउँदासम्म केही भन्न नसकिने उनको भनाइ छ।

उनीहरू असोज २७ गते रातिदेखि परिवारको सम्पर्कविहीन बनेका थिए। किशोरको शव तल र किशोरीको शव माथि राखेर गाडिएको थियो। 

खाडल खनेर गाडिएको अवस्थामा फेला परेका उनीहरूको शव गन्ध आएपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरीले शव निकालेर परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगेको छ।  

किशोरीको घर तुलसीपुर- १३ स्थित डाँडागाउँ हो। उनका आमा–बुवा कमाउन भारत गएका थिए। घरमा दुई दिदीबहिनी बस्थे। त्यो दिन राति उनको मोबाइलमा एकजना टिपरचालकले फोन गरेको पाइएको छ। अहिले ती टिपरचालक प्रहरीको नियन्त्रणमा छन्। उनलाई सोधपुछ जारी राखिएको प्रहरीले जनाएको छ। 

किशोरको घर दंगीशरण ६ थपगाउँ हो। तर, उनी दमारगाउँ मावलीमा बस्दै आएका थिए। उनीहरू दुवै एउटै स्कुलमा पढ्थे। तुलसीपुर १३ स्थित अम्बापुर स्कुलमा आचार्य कक्षा ८ र महतारा कक्षा ९ मा अध्ययनरत थिए। 
 

सुझावित समाचार