गण्डकी प्रदेशको पोखरामा सञ्चालित नवौँ राष्ट्रिय खेलकुदको तीन हजार मिटर दौड प्रतियोगितामा जुम्लाका दुर्ग बुढा प्रथम भएका छन्। प्रतियोगितामा बुढा कर्णाली प्रदेशलको पहिलो स्वर्ण पदक जितेका हुन्। बुढाले एथलेटिक्सतर्फको ‘तीन हजार मिटर स्टेबल चेस’ पुरुषतर्फको खेलमा कर्णालीबाट स्वर्ण पदक प्राप्त गरेका हुन्।
पोखरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धामा उनले एपिएफ क्लबका अजित यादवलाई पछि पारे। दुर्गले निर्धारित दूरी आठ मिनेट ५५.१९ सेकेन्डमा पार गरेका जिल्ला विकास समिति जुम्लाका एथलेटिक्स प्रशिक्षक हरि रोकायाले पोखराबाट टेलिफोनमार्फत जानकारी दिए।
रजत पदक जितेका एपिएफका अजित यादवले नौ मिनेट २१.१० सेकेन्डमा निर्धारित दूरी पार गरे। आर्मीका सुवास कार्कीले कास्य पदक हात पारेका छन्। उनले ९ मिनेट २२.१५ सेकेन्डमा दूरी पार गरे।
स्वर्णसँगै आफू पहिलो हुनेमा आत्मविश्वासी रहेको दुर्गाले बताए। जागिरका लागि भारतीय सेनामा काम गर्नु आफ्नो बाध्यता रहेको बताउँदै उनले नेपालले खेलाउन चाहेको खण्डमा भारतबाट अनुमति लिएर आउने बताए। साथै १३औँ सागमा आफूलाई दुई महिनाअघि बोलाएको र जागिरका कारण आउन नसकेको उनको भनाइ छ। उनले भारतबाट एसियन च्याम्पियनसिप खेलेका थिए। उनी भारतीय सेनामा कार्यरत छन्।