दाङको तुलसीपुरमा एउटै खाडलमा एक प्रेमजोडी मृत फेला परेका छन्। तुलसीपुर उपमहानगरपालिका– १३ दमारगाउँमा सोही ठाउँका १५ वर्षीय शरद् आचार्य र रोशनी महतारा एउटै खाडलमा मृत भेटिएका हुन्।
उनीहरू असोज २७ गते रातिदेखि परिवारसँग सम्पर्कविहीन बनेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए। केटाको शव तल र केटीको शव माथि राखेर गाडिएको थियो।
उनीहरूबीच प्रेम सम्बन्ध रहेको स्रोतले बताएको छ। उनीहरूलाई हत्या गरेर खाडलमा गाडिएको हुन सक्ने प्रहरीले बताएको छ।
खाडल खनेर गाडिएको अवस्थामा फेला परेका उनीहरूको शव कुहिएर गन्ध आएपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरी पुगेर उनीहरूको शव निकालेर परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको छ। आइतबार दिउँसो १२ बजेतिर उनीहरूको शव फेला परेको थियो।
किशोरीको घर तुलसीपुर- १३ स्थित डाँडागाउँ हो। उनका आमाबुवा कमाउन भारत गएका थिए। घरमा दुई दिदीबहिनी बस्थे। त्यो दिन राति मोबाइलमा एकजना टिपरचालकले फोन गरेको पाइएको थियो। अहिले ती टिपरचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
केटा आचार्यको घर दंगीशरण- ६ थपगाउँ हो। तर, उनी दमारगाउँ मावलीमा बस्दै आएका थिए। उनीहरू दुवैजना एउटै स्कुलमा पढ्थे। आचार्य कक्षा ८ र महतारा कक्षा ९ मा अध्ययनरत थिए। उनीहरू हराएकै दिन राति १२ बजेतिर ‘बचाउ’ भन्ने आवाज आएको स्थानीयले बताए। उनीहरू दुवैको शरीरमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीले बताएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको छ।