प्रहरी छानबिनमा निर्दाेष देखिएका व्यक्ति जेल चलान

शुक्रबार, २८ असोज, २०७९
डिजिटल संस्करण

पश्चिम नवलपरासीमा दुई भारतीय नागरिकलाई सुनियोजित रूपमा लागुऔषध मुद्दामा फसाउन प्रयास गरिएको घटनामा अदालतको आदेशले निर्दोष व्यक्तिमाथि थप अन्याय भएको छ । प्रहरीको समेत मिलेमतोमा नियोजित रूपमा फसाउन लागिएको प्रहरी छानबिनबाटै खुले पनि जिल्ला अदालत नवलपरासीले दुवैलाई थुनामा पठाएको छ। 

बरामदी मुचुल्कालाई आधार मानेर जिल्ला न्यायाधीश ईश्वरीप्रसाद भण्डारीले भारतीय नागरिक जितेन्द्र पासवान र रघुनाथ धोबीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका हुन् । प्रहरीको बरामदी मुचुल्कामा उनीहरूकै साथबाट लागुऔषध बरामद भएको उल्लेख छ । प्रहरीले अनुसन्धानको गल्ती सच्याउन नमानेपछि निर्दाेष व्यक्तिहरूमाथि थप अन्याय भएको हो । 

पछि खुलेको घटना विवरणअनुसार पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताले भारतीय नागरिक रामा गुप्तालाई योजनाबद्ध रूपमा प्रहरी प्रयोग गरी लागुऔषध मुद्दामा फसाएका थिए । पक्राउ परेका उनका सहयोगी रघुनाथ धोबीकै बयानबाट सो कुरा पुष्टि भइसकेको छ । प्रहरीको छानबिनले पनि उनीहरूलाई निर्दाेष देखाएको छ । तर, बरामदी मुचुल्कालाई आधार मानेर जिल्ला अदालत नवलपरासीले गुप्ताका सहयोगी पासवान र धोबीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । 

छानबिनका क्रममा दुई भारतीय निर्दाेष देखिएपछि प्रहरीले मुद्दा नचलाई उनीहरूलाई साधारण तारेखमा छाड्न जिल्ला सरकारी वकिल कार्यालयलाई प्रस्ताव गरेको थियो । सरकारी वकिलले त्यसका लागि बरामदी मुचुल्का सच्याउनुपर्ने बताएका थिए । तर, अनुसन्धान अधिकृत रहेका इन्स्पेक्टर धर्मराज खत्रीले मुचुल्का सच्याउन नमानेपछि उनीहरूलाई दुई महिना थुनामा राखेर मुद्दा दायर भएको थियो । 

योजनाबद्ध रूपमा नै उनीहरूलाई लागुऔषध मुद्दामा फसाउन खोजिएको देखिए पनि प्रहरीले सुरुवाती अनुसन्धानमा गरेको गल्तीका कारण निर्दाेष व्यक्तिहरू लामो समय थुनामा बसेर जेल चलान भएका छन् । अनुसन्धानको गल्ती सच्याउँदा प्रहरी अधिकारी नै कारबाहीमा पर्ने भएपछि निर्दाेष व्यक्ति फसेका हुन् । प्रहरी अनुसन्धानमा पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताले प्रतिशोधस्वरूप उनीहरूलाई लागुऔषध मुद्दामा फसाएको पुष्टि भइसकेको छ । फरार रहेका गुप्ताविरुद्ध पनि लागुऔषध मुद्दा दायर भएको छ ।

यस्तो थियो घटना विवरण
गत २२ असारमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएका प्रहरीले रामग्रामको पिपरहियाबाट भारतीय नागरिकद्वय ४० वर्षीय रामा गुप्ता र उनका सहयोगी जीतेन्द्र पासवानलाई पक्राउ गरेको थियो । उनीहरूसँग दुई सय ७० सेट डाइजेपाम, नुरर्फिन र फेनारगन लागुऔषध बरामद भएको प्रहरीको दाबी थियो । तर, पछि प्रहरीकै संलग्नतामा पालिका अध्यक्षको योजनामा निर्दोष फसाइएको भन्दै आलोचना भएपछि प्रहरीले छुट्टै छानबिन गरेको थियो । 

घटना विवरण नै बनावटी भएको पाइएको थियो । तर, बरामदी मुचुल्का सच्याउन नमानेपछि पक्राउ परेकाहरूविरुद्ध मुद्दा दायर भएको थियो । कवाडीको व्यापार गर्ने गुप्तालाई कवाडी सामान किन्न बोलाएर योजनाबद्ध रूपमा लागुऔषध राखी पक्राउ गरिएको थियो । प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरी कार्यालयको छानबिनमा पनि पक्राउ परेका गुप्ता र पासवान निर्दाेष देखिएका थिए । 
 

सुझावित समाचार