ओली र रविको ‘अफर’ छोडेका ‘दुई हस्ती’ कोर्दै छन् कांग्रेसको भविष्य !

बिहिबार, २७ असोज, २०७९
डिजिटल संस्करण

कांग्रेसबाट टिकट पाउने चर्चामा रहेर अन्तिम अवस्थामा टिकट नपाएका राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षद्वय डा. गोविन्दराज पोखरेल र स्वर्णिम वाग्ले कांग्रेसको घोषणापत्र लेखनमा सक्रिय बनेका छन्। टिकट नपाए पनि घोषणापत्र तयारी समितिमा रहेका दुवै घोषणापत्र तयारीमा व्यस्त बनेका हुन्।

पोखरेलको प्युठानबाट र वाग्लेको चितवन या गोरखाबाट निर्वाचन लड्ने चर्चा थियो। तर, प्युठान गठबन्धन गर्दा राष्ट्रिय जनमोर्चाको भागमा परेको थियो भने वाग्लेको विषयमा निर्वाचन क्षेत्र टुंगो लागेको थिएन। 

कांग्रेसबाट उम्मेदवारको टुंगो लाग्दा दुवैलाई कांग्रेसले टिकट नदिएपछि उनीहरूलाई एमाले अध्यक्ष केपी ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले उम्मेदवारका लागि अफर गरेका थिए। 

पोखरेलका अनुसार एमाले अध्यक्ष ओलीले पोखरेललाई टेलिफोन सम्पर्क गरी दाङ १ मा निर्वाचन लड्न र वाग्लेलाई काठमाडौं ७ मा निर्वाचन लड्न आग्रह गरेका थिए ।

यस्तै, कांग्रेस महामन्त्री गगन थापाले सुनसरी ४ मा निर्वाचन लड्ने र काठमाडौं ४ वाग्लेका लागि छाड्ने चर्चा चलेको थियो। तर, अन्तिम अवस्थामा महामन्त्री थापाले काठमाडौंबाटै निर्वाचन लड्ने निर्णय गरे। 

कांग्रेसले टिकट नदिएकाे चाल पाएलगत्तै ओलीले स्वतन्त्र उम्मेदवारी दर्ता गराउन आग्रहसहित विनासर्त सघाउने वचन दिएका थिए।  ‘तपाईंहरू संसदमा आउनैपर्नेमध्येमा पर्नुहुन्छ। स्वतन्त्र उम्मेदवारी दिनुहोस्। हामी विनासर्त सहयोग गर्न तयार छौँ,’ ओलीको भनाइ उद्धृत गर्दै पोखरेलले नयाँ पत्रिकासँग भने, ‘तर, हामीले आभारसहित निर्वाचन नलड्ने निर्णय जानकारी गरायौँ।’

त्यस्तै स्वतन्त्र पार्टीका अध्यक्षले उनीहरूलाई निर्वाचनमा जिताउने ग्यारेन्टी लिने भन्दै आफ्नो पार्टीको चुनाव चिह्न या स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराउन भनेको उनले जानकारी दिए। लामिछानेलाई पनि जवाफमा आफूहरू पार्टी निर्णयविरुद्ध नजाने र पार्टीप्रति प्रतिबद्ध ढंगले लाग्ने जवाफ फर्काएका थिए। स्वतन्त्र पार्टीले काठमाडौं २ र ३ मा निर्वाचन लड्न भनेको थियो। 

यसलगत्तै उनीहरू घोषणापत्र तयारीमा जुटेका छन्। उनीहरू ललितपुरमा घोषणापत्रको तयारी गरिरहेका छन्। घोषणापत्रमा वाग्लेले समग्र विकास र पोखरेलले क्षेत्रगत विकासबारे काम गरिरहेका छन्। जसको संयोजन वाग्लेले गरेका छन्।

सुझावित समाचार