डेढ वर्षअघिसम्मका सहयात्री नै प्रतिस्पर्धामा उत्रिएपछि आगामी मंसिरको निर्वाचन रोचक र पेचिलो बन्दै
आसन्न प्रतिनिधिसभा निर्वाचनमा एमाले र पूर्वएमालेबीच प्रतिनिधिसभाका २० सिटमा प्रतिस्पर्धा हुँदै छ । १८ सिटमा एमाले र एकीकृत समाजवादीका उम्मेदवार प्रतिस्पर्धामा छन् । यसबाहेक एक सिटमा एमाले छाडेका नेता माओवादीबाट र एक सिटमा एमाले छाडेका नेताले गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
गठबन्धनबीच तालमेल हुँदा एकीकृत समाजवादीको भागमा परेका २० क्षेत्रमध्ये सिराहा ४ मा धर्मनाथप्रसाद साहबाहेक सबैमा एमालेका उम्मेदवारसँग प्रतिस्पर्धा हुँदै छ । साहको निर्वाचन क्षेत्रमा एमालेले जसपालाई समर्थन गरेको छ । रुपन्देही २ मा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएको छ । उम्मेदवारी खारेज भएको भन्दै गुरुङ बिहीबार सर्वोच्च अदालत जाने तयारीमा छन् । उनले एमाले उपाध्यक्ष विष्णु पौडेलसँग चुनाव लड्न उम्मेदवारी दर्ता गरेका थिए ।
अघिल्लो निर्वाचनमा सारथि बनेका नै यसपटक प्रतिस्पर्धामा उत्रिएपछि निर्वाचन रोचक र पेचिलो हुने भएको छ । एमाले र एकीकृत समाजवादीबीच प्रतिस्पर्धा हुने स्थानमा ०७४ मा एमाले निर्वाचित भएको थियो । एमाले र एकीकृत समाजवादी एक–अर्कालाई कमजोर बनाउने हरसम्भव प्रयासमा छन् । एकीकृत समाजवादी सत्तागठबन्धनमा छ भने एमालेले आफ्नै नेतृत्वमा जसपा र राप्रपासहितको विपक्षी गठबन्धन बनाएको छ ।
माधव नेपाल–अजय गुप्ता (रौतहट १)
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल गृहजिल्ला रौतहटबाट निर्वाचन लड्दै छन् । नेपालसँग रौतहट १ मा गौर नगरपालिकाका पूर्वमेयर एमालेका अजय गुप्ता प्रतिस्पर्धा गर्दै छन् । उनी केही समयअघि लोसपाबाट एमाले प्रवेश गरेका थिए । गत स्थानीय तह निर्वाचनमा गुप्ता एकीकृत समाजवादीका उम्मेदवारसँग मेयरमा पराजित भएका थिए ।
झलनाथ खनाल–महेश बस्नेत (इलाम १)
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग इलाम १ मा एमालेका महेश बस्नेत प्रतिस्पर्धामा छन् । अघिल्लो निर्वाचनमा खनाललाई जिताउन कमान्डर बनेका बस्नेत यसपटक खनालसँगै निर्वाचन भिड्दै छन् । यो क्षेत्रमा खनालले निर्वाचन जित्दै आएका छन् । खनाल यसपटक एकीकृत समाजवादीमा लागेपछि एमालेका जिल्ला अध्यक्ष बस्नेतले संघीय निर्वाचनमा अवसर पाएका हुन् ।
सोमप्रसाद पाण्डे–ठाकुर गैरे (पाल्पा २)
विद्यार्थी राजनीतिबाट स्थापित ठाकुर गैरे सोमप्रसाद पाण्डेको चुनावी सारथि बन्दै आएका थिए । पाण्डेकै कारण गैरेले संसदीय राजनीतिमा स्थान पाएका थिएनन् । ०५१ देखि हरेक निर्वाचनमा पाल्पा २ बाट पाण्डे उम्मेदवार बनिरहे । तर, अहिले पाण्डे एकीकृत समाजवादीमा लागेपछि गैरेले अवसरमा पाएका छन् । पाण्डे एकीकृत समाजवादीबाट र गैरे एमालेबाट पाल्पा २ मा उम्मेदवार छन् ।
मेटमणि चौधरी र शान्ता चौधरी (दाङ १)
एमाले र थारू आन्दोलनका समेत सहयात्री मेटमणि चौधरी र शान्ता चौधरी पनि यसपटकको निर्वाचनमा आमनेसामने भएका छन् । मेटमणिले एकीकृत समाजवादीबाट र शान्ताले एमालेबाट दाङ १ मा प्रतिस्पर्धा गर्दै छन् । ०७४ को निर्वाचनमा मेटमणिलाई जिताउने अभियानमा शान्ता थिइन् । अहिले भने मेटमणिको प्रतिस्पर्धीका रूपमा शान्ता मैदानमा आएकी छिन् ।
राजेन्द्र पाण्डे–भूमि त्रिपाठी (धादिङ १)
विगतमा प्रतिनिधिसभा निर्वाचन उठ्दै आएका राजेन्द्र पाण्डे अघिल्लोपटक मुख्यमन्त्री बन्ने योजनाका साथ प्रदेशमा झरेका थिए । तर, समूहगत समीकरणका कारण सुरुमा उनले त्यो अवसर पाएनन् । एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादीमा लागेपछि उनी मुख्यमन्त्री बने । एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डे यसपटक प्रतिनिधिसभा निर्वाचनको मैदानमा छन् । उनीसँग व्यक्तिगत रूपमा समेत निकट मानिने भूमि त्रिपाठीलाई एमालेले प्रतिस्पर्धी बनाएको छ ।
जीवनराम श्रेष्ठ–शिव राजवैद्य (काठमाडौं ८)
काठमाडौं ८ मा पनि एमाले र पूर्वएमालेबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । अघिल्लो निर्वाचनमा एमालेबाट जीवनराम श्रेष्ठले जितेका थिए । पार्टी विभाजन भएपछि श्रेष्ठ एकीकृत समाजवादीमा छन् । समाजवादीका सचिव श्रेष्ठसँग एमाले काठमाडौं जिल्ला समन्वय समितिका उपप्रमुख शिव राजवैद्य प्रतिस्पर्धामा उत्रिएका छन् । एमाले अध्यक्ष केपी ओलीले यो क्षेत्रमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई टिकट दिए पनि उनले अस्वीकार गरेपछि राजवैद्य उम्मेदवार बनेका हुन् ।
शेरबहादुर कुँवर–झपट बोहरा (अछाम १)
सत्तारूढ गठबन्धनबाट एकीकृत समाजवादीका शेरबहादुर कुँवर अछाम १ बाट उम्मेदवार छन् । एमालेमा रहँदा भीम रावलनिकट कुँवर पार्टी विभाजन भएपछि एकीकृत समाजवादीमा लागेका हुन् । यो क्षेत्रमा रावलको नाम एकल सिफारिस भए पनि केपी ओलीले रावललाई टिकट नदिई केही महिनाअघि माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहरालाई टिकट दिए ।
श्रीनाथ बराल–विद्या भट्टराई (कास्की २)
अघिल्लो निर्वाचनमा कास्की २ बाट रवीन्द्र अधिकारीलाई जिताउन श्रीनाथ बरालले सम्पूर्ण सामथ्र्य लगाए । हेलिकोप्टर दुर्घटनामा परी अधिकारीको निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन भयो । एमालेले अधिकारीपत्नी विद्या भट्टराईलाई उम्मेदवार बनायो । भट्टराईलाई राजनीतिमा ल्याउन र जिताउन बरालले भूमिका खेले । भट्टराई निर्वाचित भइन् । तर, पाका नेता बराल यसपटक उनै भट्टराईसँग भिड्दै छन् । एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य बराललाई वाम–लोकतान्त्रिक गठबन्धनको साथ छ ।
जगन्नाथ खतिवडा–अम्मरबहादुर रायमाझी (उदयपुर २)
सत्तागठबन्धनबाट एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा उदयपुर २ बाट उम्मेदवार छन् । यस क्षेत्रमा एमालेले अम्मरबहादुर रायमाझीलाई उम्मेदवार बनाएको छ । यसअघिको निर्वाचनमा यो क्षेत्रबाट माओवादीले जितेको थियो । सत्तारूढ दलको सिट बाँडफाँडमा एकीकृत समाजवादीको भागमा परेको हो ।
विरोध खतिवडा–महेश बर्तौला (मकवानपुर १)
हालसम्म अपराजित एकीकृत समाजवादीका विरोध खतिवडा यसपटक सत्तारूढ गठबन्धनबाट निर्वाचन लड्दै छन् । मकवानपुर २ मा खतिवडाको प्रतिस्पर्धी उनकै पूर्वकार्यकर्ता महेश बर्तौला छन् । यसअघिको निर्वाचनमा खतिवडालाई जिताउन हिँडेका बर्तौला यसपटक आफैँ चुनावी मैदानमा छन् । खतिवडा निवर्तमान सांसद हुन् ।
कृष्णलाल महर्जन–प्रेम महर्जन (ललितपुर २)
एकीकृत समाजवादीका कृष्णलाल महर्जन र एमालेका प्रेम महर्जन ललितपुर २ बाट निर्वाचन लड्दै छन् । कृष्णलाल निवर्तमान सांसद हुन भने प्रेम संघीय निर्वाचनमा नयाँ अनुहार हुन् । कृष्णलाल अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए ।
कृष्णकुमार श्रेष्ठ–एकवाल मियाँ (बारा ४)
एकीकृत समाजवादीका निवर्तमान सांसद कृष्णकुमार श्रेष्ठ (किसान) बारा ४ बाट निर्वाचन लड्दै छन् । गत निर्वाचनमा तनहुँ १ बाट निर्वाचित श्रेष्ठले कांग्रेस नेता रामचन्द्र पौडेललाई उक्त क्षेत्र छाडेर बारा ४ रोजेका हुन् । ०७४ को निर्वाचनमा श्रेष्ठले पौडेललाई पराजित गरेका थिए । यो क्षेत्रमा एमालेका एकवाल मियाँ उम्मेदवार छन् ।
प्रकाश ज्वाला–गुलावजंग शाह (सल्यान)
एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला सल्यानबाट निर्वाचन लड्दै छन् । अघिल्लो निर्वाचनमा प्रदेश सभाबाट निर्वाचित ज्वालाले यसपटक प्रतिनिधिसभामा टिकट पाएका हुन् । कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर एमालेमा विद्रोहको बिउ रोपेका ज्वालासँग उनकै पूर्वकार्यकर्ता गुलावजंग शाह प्रतिस्पर्धामा छन् ।
अम्मरबहादुर थापा–रवीन्द्रराज शर्मा (दैलेख १)
एकीकृत समाजवादीका कर्णाली प्रदेश अध्यक्ष अम्मरबहादुर थापा दैलेख १ बाट प्रतिनिधिसभा निर्वाचन लड्दै छन् । उनीसँग एमालेका रवीन्द्रराज शर्मा प्रतिस्पर्धामा छन् ।
भानुभक्त जोशी–ऐन महर (बझाङ)
एकीकृत समाजवादीका स्थायी समिति सदस्य भानुभक्त जोशी बझाङबाट प्रतिनिधिसभा निर्वाचन लड्दै छन् । पूर्वमन्त्री जोशीसँग उनकै पूर्वकार्यकर्ता ऐन महर प्रतिस्पर्धामा छन् । महर अनेरास्ववियुका पूर्वअध्यक्ष हुन् ।
प्रेम आले–गौरी वली (डोटी)
डोटीमा एकीकृत समाजवादीका प्रेम आले प्रतिनिधिसभा निर्वाचन लड्दै छन् । पार्टी विभाजनका वेला आलेले महत्वपूर्ण भूमिका खेलेका थिए । १० बुँदे पक्षधर एमालेमै रहँदा आलेले पार्टी विभाजनका लागि आवश्यक सांसदसहित नेपाललाई साथ दिएका थिए । निवर्तमान सांसद तथा मन्त्री आलेसँग एमालेकी गौरी वली प्रतिस्पर्धामा छिन् ।
धनबहादुर बुढा–गणेशबहादुुर शाही (डोल्पा)
डोल्पामा एकीकृत समाजवादीका धनबहादुर बुढा प्रतिनिधिसभा निर्वाचन लड्दै छन् । उनीसँग एमालेका गणेशबहादुर शाहीले प्रतिस्पर्धा गर्नेछन् । पार्टी विभाजनपछि बुढा र शाही एकीकृत समाजवादीमा लागेका थिए । प्रतिनिधिसभाको टिकट पाउने भएपछि शाही केही समयअघि एमालेमा फर्किएका थिए ।
हरिकुमार राना–देवराज घिमिरे (झापा २)
एमाले प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरे झापा २ बाट निर्वाचन लड्दै छन् । उनीसँग पूर्वकार्यकर्ता हरिकुमार राना माओवादी केन्द्रबाट प्रतिस्पर्धामा छन् । राना एमाले प्रदेश कमिटी सदस्यबाट राजीनामा दिएर माओवादीबाट झापा २ को उम्मेदवार बनेका हुन् । उनी झापाको अर्जुनधारा नगरपालिकाका पूर्वमेयर हुन् ।
गोकर्ण विष्ट–रामकुमारी झाँक्री (गुल्मी २)
अघिल्लो निर्वाचनमा एमालेका गोकर्ण विष्ट निर्वाचित हुँदा उनको चुनावी कमान्डर रामकुमार झाँक्री थिइन् । तर, अहिले समय बदलिएको छ । ०७४ मा जिताउने दह्रो खम्बा झाँक्री आगामी निर्वाचनमा विष्टको मुख्य चुनौती बनेर खडा भएकी छिन् । यसअघि विष्ट र झाँक्री दुवै माधव नेपाल समूहमा थिए । १० बुँदे सहमतिमार्फत विष्ट एमालेमै बसेका थिए भने झाँक्री एकीकृत समाजवादीमा लागेकी थिइन् । विष्ट एमाले सचिव र झाँक्री एकीकृत समाजवादीकी सचिव हुन् । अनेरास्ववियुकी पूर्वअध्यक्ष झाँक्री पहिलोपटक प्रतिनिधिसभामा प्रत्यक्ष उम्मेदवार बनेकी हुन् ।
ठाकुर र भुसाललाई पनि पूर्वसहयात्रीको चुनौती
महन्थ ठाकुर–वृशेषचन्द्र लाल (महोत्तरी ३)
लोसपा अध्यक्ष महन्थ ठाकुर महोत्तरी ३ बाट निर्वाचन लड्दै छन् । उनलाई पूर्वसहयात्री वृशेषचन्द्र लालले चुनौती दिएका छन् । ठाकुरकै पार्टीमा रहेका लालले तमलोपा पार्टी गठन गरेका थिए । मधेसकेन्द्रित दलले मधेसका मुद्दा छाडेको भन्दै उनले पार्टी गठन गरेका थिए । अघिल्लो निर्वाचनमा ठाकुरलाई जिताउन लालले महत्वपूर्ण भूमिका खेलेका थिए । लाललाई ठाकुरले नै संविधानसभा सदस्य र राष्ट्रिय सभा सदस्य बनाएका थिए । यो क्षेत्रमा जसपाका हरिनारायण यादव पनि प्रतिस्पर्धामा छन् ।
घनश्याम भुसाल–छविलाल विश्वकर्मा (रुपन्देही १)
उम्मेदवारी दर्ताको अघिल्लो दिनसम्म एउटै पार्टीमा रहेका घनश्याम भुसाल र छविलाल विश्वकर्मा आगामी ४ मंसिरमा हुने निर्वाचनमा प्रतिस्पर्धी बनेका छन् । एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका भुसाल र एमालेका विश्वकर्माको क्षेत्र रुपन्देही १ सबैभन्दा बढी चर्चामा छ । भुसाललाई सत्तारूढ गठबन्धनले समर्थन गरेको छ । ०७४ मा कांग्रेसका अब्दुल रज्जाकलाई पराजित गर्दै विश्वकर्मा निर्वाचित भएका थिए । यसपटक भने वाम राजनीतिमा बौद्धिक नेताका रूपमा चिनिने भुसालसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । अघिल्लो निर्वाचनमा भुसालले रुपन्देही ३ बाट राप्रपाका दीपक बोहरालाई हराएका थिए ।