गैरनागरिकतासम्बन्धी ऐनलाई संशोधन गराउने प्रधानमन्त्रीको प्रतिबद्धता

मंगलबार, २५ असोज, २०७९
डिजिटल संस्करण
गैरनागरिकतासम्बन्धी ऐनलाई संशोधन गराउने प्रधानमन्त्रीको प्रतिबद्धता

फाइल तस्बिर

प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा गैरनागरिकतासम्बन्धी ऐनलाई सरकारले संशोधन गर्ने प्रतिबद्धता जनाएका छन्। सरकारले गैरआवासीय नेपालीहरूको नेपाल आगमनमा सहजीकरणदेखि सम्पत्ति सुरक्षित गर्ने सम्बन्धमा आवश्यक सहयोग उपलब्ध गराउँदै आएको देउवाको भनाइ छ।

मंगलबार गैरआवासीय नेपाली संघ (एनआरएनए)को वार्षिक साधारणसभालाई सम्बोधन गर्दै देउवाले भने, ‘तपाईंहरूले धेरै उठाउँदै आएको कुरा नागरिकतासम्बन्धी सवाललाई पनि निकट भविष्यमा गैरनागरिकतासम्बन्धी ऐनमा समेटेर लैजानेछौँ।’

प्रधानमन्त्री देउवाले एनआरएनएलाई सहज रूपमा लगानी गर्न सक्ने र प्रतिफल उपभोग गर्न सक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपालमा पुँजी लगानी गर्न आह्वान गरेका छन्।

उनले गैरआवासीय नेपाली समुदायले विदेशमा नेपालमा उत्पादित वस्तुको उपयोगलाई प्राथमिकता दिन र स्वदेशी उत्पादनहरूको विकास र प्रवर्द्धनमा सहयोग पुर्याउन आवश्यक रहेको बताए।

सुझावित समाचार