सुदूरपश्चिमका पाँच जिल्लामा एकीकृत समाजवादीको एकल उम्मेदवारी

मंगलबार, २५ असोज, २०७९
डिजिटल संस्करण

प्रदेशमा मित्रवत् प्रतिस्पर्धा गर्ने, संघमा गठबन्धनका उम्मेदवारलाई सघाउने

सत्तारूढ गठबन्धनबीच केन्द्रमा भएको भागबन्डाप्रति असन्तुष्टि जनाउँदै एकीकृत समाजवादीले सुदूरपश्चिमका विभिन्न जिल्लामा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । केन्द्रको सहमतिअनुसार संघ र प्रदेशका कुनै पनि निर्वाचन क्षेत्रमा उम्मेदवारी नपाएपछि समाजवादीले कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला र बाजुरामा एकल उम्मेदवारी दिएको हो ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य लालबहादुर खड्काले कञ्चनपुर २ (ख)बाट उम्मेदवारी दिएका छन् । टिकटका आकांक्षी उनले गठबन्धनले संघ र प्रदेश दुवैतर्फ समाजवादीलाई पाखा लगाउन खोजिएको भन्दै उम्मेदवारी दिएका हुन् । यस क्षेत्रमा गठबन्धनबाट कांग्रेसका बहादुरसिंह थापा उम्मेदवार छन् । 

समाजवादीका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश रावलले कञ्चनपुर ३ (क)बाट उम्मेदवारी दर्ता गरेका छन् । यस क्षेत्रमा गठबन्धनबाट माओवादी केन्द्रका नेता टेकेन्द्रप्रसाद भट्ट उम्मेदवार बनेका छन् । एकीकृत समाजवादीले गठबन्धनमा कञ्चनपुर ३ (क) पाउनुपर्ने दाबी अन्तिमसम्म गरेको थियो । 

संघीय तीन र प्रदेशका ६ वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा समाजवादीलाई एउटा पनि सिट नदिइएकाले गठबन्धन तोडेर उम्मेदवारी दिनुपरेको एकीकृत समाजवादी कञ्चनपुरका सचिव भरतसिंह धामीले बताए । प्रदेश सभामा गठबन्धनसँग मित्रवत् प्रतिस्पर्धा गर्ने र संघीय निर्वाचन क्षेत्रमा गठबन्धनलाई आफ्नो पार्टीले सघाउने उनको भनाइ छ । ‘जिल्लामा गठबन्धनले हामीलाई सम्मानजनक स्थान नदिएपछि आफ्नै उम्मेदवार उठाएका हौँ,’ धामीले भने, ‘संघमा सहयोग गर्छौँ, प्रदेशमा मित्रवत् प्रतिस्पर्धा हुन्छ ।’

भरतसिंह धामी, सचिव एकीकृत समाजवादी, कञ्चनपुर

गठबन्धनले हामीलाई सम्मानजनक स्थान नदिएपछि आफ्नै उम्मेदवार उठाएका हौँ, संघमा सहयोग गर्छौँ, प्रदेशमा मित्रवत् प्रतिस्पर्धा हुन्छ ।

कञ्चनपुरमा तीनवटा संघीय निर्वाचन क्षेत्रमध्ये एउटा माओवादी र दुईवटामा कांग्रेसले उम्मेदवारी दिएका छन् । त्यस्तै, प्रदेश सभाका ६ वटा क्षेत्रमध्ये कांग्रेसले चार र माओवादीले दुईमा गठबन्धनबाट उम्मेदवारी दिएका छन् । 

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा पनि समाजवादीले गठबन्धनविरुद्ध उम्मेदवारी दिएको छ । समाजवादीका नेता डा. तारा जोशीले प्रदेश सभाको (ख)मा उम्मेदवारी दिएका हुन् । ०७४ मा यही क्षेत्रबाट जोशी कांग्रेस तत्कालीन नेता कर्णबहादुर मल्लसँग झिनो मतान्तरले पराजित भएका थिए । समाजवादीले यो क्षेत्र आफूले पाउनुपर्ने दाबी गरेको थियो । प्रदेश सभा (ख)मा कांग्रेसबाट सुदूरपश्चिमका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा र (क)मा माओवादीका सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट उम्मेदवार बनेका छन् । 

बैतडीमा पनि एकीकृत समाजवादीले प्रदेश सभामा उम्मेदवारी दिएको छ । समाजवादीका नेता नरेन्द्र विष्टले प्रदेश सभा (क)मा उम्मेदवारी दिएका हुन् । बैतडीमा संघमा माओवादी र प्रदेशका दुवै क्षेत्रमा कांग्रेसले गठबन्धनबाट उम्मेदवारी दिएको छ । संघ र प्रदेशमा उम्मेदवारी नपाएपछि दार्चुलामा पनि समाजवादीले प्रदेश सभा (ख)बाट वीरबहादुर ठगुन्नालाई उम्मेदवार बनाएको छ । यस क्षेत्रबाट माओवादी नेता, प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीले उम्मेदवारी दिएका छन् ।

बाजुरामा पनि एकीकृत समाजवादीले प्रदेश सभामा उम्मेदवारी दिएको छ । प्रदेश सभा (क)मा एकीकृत समाजवादीका नरेशकुमार शाहीले गठबन्धनविरुद्ध उम्मेदवारी दिएका हुन् । यहाँ माओवादी केन्द्रका कर्णबहादुर विक उम्मेदवार छन् । सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रमध्ये समाजवादीले डोटी, बझाङ र अछाम १ गरी तीन क्षेत्रमा गठबन्धनबाट उम्मेदवारी दिएको छ । केन्द्रको सहमतिअनुसार चार क्षेत्रमा माओवादी र नौ क्षेत्रमा कांग्रेसले उम्मेदवारी दिएका छन् ।

प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका उम्मेदवारको टिकट वितरणलाई लिएर सुदूरपश्चिममा प्रमुख दलहरूभित्र असन्तुष्टि चर्किएको छ । उम्मेदवार चयनको असन्तुष्टिले धेरैजसो क्षेत्रमा सत्तारूढ गठबन्धन र एमालेभित्र बागी उम्मेदवारी परेको छ । कतिपय ठाउँमा गठबन्धनभित्रै सिट बाँडफाँडमा असहमति जनाउँदै बागी उम्मेदवारी परेको छ ।

पार्टीले मूल्यांकन नगरेको भन्दै बाजुरामा एमालेका केन्द्रीय सदस्य सहदेव बोगटीले प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । यस क्षेत्रमा एमालेले प्रदेश कमिटीका उपसचिव बलदेव रेग्मीलाई उम्मेदवार बनाएको छ ।

बझाङमा कांग्रेसका पूर्वजिल्ला सभापति हर्क जंगबहादुर सिंहले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । जिल्लाको एउटा मात्रै संघीय निर्वाचन क्षेत्र एकीकृत समाजवादीलाई दिएकोमा असन्तुष्ट उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । सत्तारूढ गठबन्धनको केन्द्रमा भएको सहमतिअनुसार एकीकृत समाजवादीका नेता भानुभक्त जोशीले उम्मेदवारी दिएका छन् । त्यस्तै, अछाममा कांग्रेस नेता चन्द्रप्रकाश ढुंगानाले क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

कांग्रेस नेता क्षितिज भण्डारीले विद्रोह गर्दै कैलाली ५ (ख)बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । यस क्षेत्रमा कांग्रेसकै प्रकाश देउवा उम्मेदवार छन् । पार्टीभित्र टिकट वितरणमा अन्याय गरिएको भन्दै यही क्षेत्रको प्रदेश सभा (क)बाट माओवादी नेता रमेश बस्नेतले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यस्तै, कांग्रेसको बलियो पकड रहेको डोटीमा एकीकृत समाजवादीलाई दिएको विरोधमा कांग्रेस नेता नरेन्द्र खड्काले उम्मेदवारी दिएका छन् । एउटा मात्रै क्षेत्र रहेको डोटीमा गठबन्धनबाट एकीकृत समाजवादीका प्रेम आले चुनाव लड्दै छन् । कैलाली ३ मा कांग्रेसका पूर्वजिल्ला सभापति गोविन्दराज जोशीले गठबन्धनविरुद्ध प्रदेश सभामा उम्मेदवारी दर्ता गराएका छन् । ३ मै माओवादीका छोटेलाल चौधरी र खगेन्द्र हमालले पनि टिकट वितरणमा असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दर्ता गएका छन् ।

कैलाली ५ मा पूर्वराज्यमन्त्री पुष्करनाथ ओझा स्वतन्त्र उम्मेदवार बनेका छन् । ०७० मा भएको उपनिर्वाचनमा यही क्षेत्रबाट उनी कांग्रेसबाट निर्वाचित भएका थिए । ०७४ को निर्वाचनमा यस क्षेत्रबाट लडेकी कांंग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवालाई असहयोग गरेको आरोपमा कांग्रेसले उनलाई पार्टीको साधारण सदस्यबाट समेत हटाएको थियो । 

टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै कतिपय नेता, कार्यकर्ताले पार्टी त्यागेका छन् । अन्तिम समयमा आफ्नो टिकट खोसिएको भन्दै एमालेका प्रदेश कमिटी सचिवालय सदस्य यज्ञराज बास्तोलाले सोमबार पार्टी त्याग गरेको घोषणा गरेका छन् । टिकट वितरणमा इमानदारलाई पाखा लगाइएको भन्दै एमाले प्रदेश कमिटी सदस्य मानबहादुर रावलले पनि यसअघि पार्टी त्यागको घोषणा गरेका छन् । 

सुझावित समाचार