कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तागठबन्धनलाई बलियो बनाएर निर्वाचनमा जान आग्रह गरेका छन्।
कांग्रेस तनहुँको कार्यालयमा आज बसेको बैठकमा वरिष्ठ नेता पौडेलले गठबन्धनको विकल्प नभएको बताएका हुन्।
तनहुँका चार प्रदेश सभा क्षेत्रमा गठबन्धनको घटक नेकपा (एकीकृत समाजवादी) का तर्फबाट उम्मेदवारी दर्ता भएका विषयमा पौडेलले उम्मेदवारी फिर्ता लिएर सहयोग गर्न आग्रह गरे।
‘गठबन्धन जिल्लाबाट नभई केन्द्रबाटै भएको हो, यस विषयमा विचार गरेर उम्मेदवारी फिर्ता लिनुस्,’ पौडेलले भने।
वरिष्ठ नेता पौडेलले तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै, प्रदेश (क) अन्तर्गत सत्तारुढ गठबन्धनतर्फ कांग्रेसका अशोककुमार श्रेष्ठ र माओवादी केन्द्रबाट हरिबहादुर चुमानले उम्मेदवारी दर्ता गराएका छन्।
तनहुँका चार प्रदेश सभा क्षेत्रमा नेकपा (एकीकृत समाजवादी) को पनि उम्मेदवारी परेको छ। यसैगरी, निर्वाचनको तयारीस्वरूप तनहुँ क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनको बैठक सम्पन्न भएको छ।
बैठकले गठबन्धनलाई बलियो बनाएर जनतामाझ जाने निर्णय गरेको माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटी अध्यक्ष मनराज गुरुङले जानकारी दिए।
बैठकमा सत्तारुढ गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर भण्डारी, प्रदेश (क) का उम्मेदवार राजेन्द्रकेशरी न्यौपाने, प्रदेश (ख) का उम्मेदवार जितप्रकाश आले, कांग्रेस केन्द्रीय सदस्य ध्रुव वाग्ले, माओवादी केन्द्रका केन्द्रीय सदस्य आशा कोइरालालगायत नेताको उपस्थिति थियो।