कञ्चनपुरमा स्वतन्त्र उम्मेदवारको संख्या ह्वात्तै बढ्यो

सोमबार, २४ असोज, २०७९
डिजिटल संस्करण

आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसपटक कञ्चनपुरमा स्वतन्त्र उम्मेदवारको संख्या ह्वात्तै बढेकाे छ । विगतका वर्षहरूमा हरेक निर्वाचन क्षेत्रमा दुई–चारजना मात्रै स्वतन्त्र उम्मेदवार हुन्थे, यसपटक दर्जनौँ स्वतन्त्र उम्मेदवार देखिएका हुन् । राजनीतिक दलबाट असन्तुष्ट भएपछि पार्टी परित्याग गरेर केहीले उम्मेदवारी दिएका छन् । केहीले दल परिवर्तन गरेरै भए पनि चुनावका वेला उम्मेदवारी दिएका छन् । 

क्षेत्र नम्बर १ मा एमाले पुराना नेता खेम सुवेदीले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् । एमाले प्रदेश कमिटी सदस्यसमेत रहेका सुवेदी पार्टीबाट सिफारिस भएका थिए, तर उनलाई केन्द्रले टिकट नदिएपछि  पार्टी परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिएका छन् । ०५१, ०६४, ०७०, ०७४ र ०७९  लगातार पाँचपटक क्षेत्र १ बाट सिफारिस हुने, तर नेतृत्वले नपत्याएपछि टिकट अर्काले पाउँदै आएका छन् । ‘मलाई स्थानीय पार्टी कमिटीले लगातार ०५१ देखि ०७९ सम्म उम्मेदवारका लागि सिफारिस गर्ने, तर नेतृत्वले नबुझिदिँदा टिकटबाट वञ्चित हुनुपर्यो,’ एमाले नेता सुवेदीले भने, ‘यस्तो विडम्बना छ ।’ 

बेलौरीका स्थानीयसमेत रहेका एमाले नेता सुवेदीले टिकट नपाएपछि क्षेत्र १ का नेता–कार्यकर्ता पार्टी नेतृत्वबाट रुष्ट देखिएका छन् । क्षेत्र १ (क) र (ख) प्रदेश सभामा एमाले नेतात्रय भक्तबहादुर अधिकारी, स्थिरप्रसाद घिमिरे र टेकबहादुर साउदले समेत पार्टीका उम्मेदवारविरुद्धमा बागी (स्वतन्त्र) उम्मेदवारी दिएका छन् । अधिकारी, घिमिरेले (क) र साउदले (ख)बाट स्वतन्त्र (बागी) उम्मेदवारी दर्ता गराएका छन् । एमाले नेतात्रय अधिकारी, घिमिरे र साउद प्रदेश सभा सदस्यका लागि यसअघि सिफारिस भएका थिए । एमालेबाट संघतर्फ सिफारिस भएका वीरबहादुर थापा (पातल)लाई (क) प्रदेश सभा र तारा लामा तामाङलाई संघतर्फ टिकट दिएपछि असन्तुष्ट एमाले नेता–कार्यकर्ताले बागी उम्मेदवारी दर्ता गराएका हुन् । नयाँ शक्ति नेपालका पूर्वनेता जगतबहादुर सायर र चुनावकै मुखमा माओवादी परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र प्रवेश गरेकी हरिना भट्टले समेत स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन् ।

 एमाले नेता कुलवीर चौधरीका आफन्त नेत्रलाल चौधरीले  २ (ख)बाट उम्मेदवारी दिएका छन् । समाजवादीबाट सुदूरपश्चिम प्रदेशको राज्यमन्त्री रहेका कुलवीर चौधरीलाई प्रदेशमा टिकट दिने सर्तमा एमाले प्रवेश गराए पनि टिकट नदिएपछि कुलवीरले आफन्त नेत्रलाल चौधरीलाई स्वतन्त्र उम्मेदवारी दिन लगाएको एमाले बेलौरीका नेता–कार्यकर्ताको भनाइ छ । 

क्षेत्र २ को (क) प्रदेश सभामा गिरिराज पाण्डेयले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने एमाले नेता टेकबहादुर हमाल र माओवादी नेता जितबहादुर करियाकंग्रहवाले स्वतन्त्र (बागी) उम्मेदवारी दिएका छन् । एमाले सुदूरपश्चिम प्रदेश सदस्यसमेत रहेका हमालले पाटी परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिएका हुन् । राप्रपा बेदकोटका स्थानीय नेता जोगराज भण्डारीले समेत ३ (ख)मा स्वतन्त्र उम्मेदवारी दिएका छन् । उक्त क्षेत्रबाट राप्रपाले चक्रदेव जोशीलाई उम्मेदवार बनाएको छ  । 

क्षेत्र ३ संघतर्फ कांग्रेस महाधिवेशन सदस्य दीपकबहादुर सिंहले स्वतन्त्र (बागी) उम्मेदवारी दिएका छन् । यसका साथै पूर्वकांग्रेस नेतृ शारदा चन्दले समेत उम्मेदवारी दिएकी छिन् । मदन दमाईं, सुभाससिंह धामी र सुशीलकुमार साउदले संघतर्फ स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

क्षेत्र ३ (क)मा सबैभन्दा बढी बागी (स्वतन्त्र) उम्मेदवारी परेको छ । उक्त निर्वाचन क्षेत्रबाट कांग्रेस स्थानीय नेता पीताम्बर जोशी, गोपालसिंह बुढापाल, रामबहादुर जप्रेलले उम्मेदवारी दिएका छन् । पीताम्बर र गोपाल गत असारमा सम्पन्न भएको कञ्चनपुर उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष र सदस्य पदमा निर्वाचित भएका थिए । 

एमाले कञ्चनपुरका उपसचिव कर्णबहादुर चन्दले पनि बागी उम्मेदवारी दिएका छन् । चन्दले राप्रपा–एमाले गठबन्धनविरुद्धमा उम्मेदवारी दिएका हुन् । नेकपा एकीकृत समाजवादीका नेता लोकविक्रम थापाले पनि  स्वतन्त्र उम्मेदवारी दिएका छन् ।  यस्तै, देवान मेजार आग्री, तेजबहादुर लुहार, पदमसिंह खत्री, महादेव भट्ट र सुरेन्द्र दमाईंले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

क्षेत्र ३ (ख) मा भीमबहादुर कुमालले मात्रै स्वतन्त्र उम्मेदवारी दिएका छन् । कुमालले यसअघि गत वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा दोधाराचाँदनीकाे मेयरमा समेत स्वतन्त्र उम्मेदवारी दिएका थिए । दलबाट असन्तुष्ट, सिफारिस भएर टिकट नपाए र केही दलमा लागेर पहिल्यै छाडेका र केही दलमै नलागेका व्यक्तिले स्वतन्त्र उम्मेदवारी दिएका छन्। राजनीतिक दलबाट असन्तुष्ट भएर पार्टी र गठबन्धनका उम्मेदवारविरुद्धमा उम्मेदवारी दिएका नेता–कार्यकर्तालाई उम्मेदवारी फिर्ताका लागि प्रस्ताव आएको छ । यसपटक हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ०७९ कञ्चनपुरमा एक तेस्रो लिंगीसहित एक लाख ४६ हजार आठ सय ४६ पुरुष र एक लाख ५५ हजार ६ सय ६२ महिला गरी जम्मा तीन लाख २५ हजार नौ मतदाता रहेका छन् ।

सुझावित समाचार