इटालीमा फासीवादी महिला प्रधानमन्त्रीको उदय

एक फासीवादी नेतृले समाजको कठोर वर्ग संरचना कायम राखिराख्छिन् र श्रमिक वर्गका महिलाको वर्ग उत्थान गर्न सक्दिनन्

सोमबार, २४ असोज, २०७९
डिजिटल संस्करण

यस महिनाको सुरुवातमा हिलारी क्लिन्टनले इटालीकी पहिलो महिला प्रधानमन्त्रीका रूपमा निर्वाचित हुन गइरहेकी जर्जिया मेलोनीको चुनावबारे लज्जास्पद टिप्पणी गरेकी छिन् । अमेरिकी पूर्वविदेशमन्त्री क्लिन्टनले ‘पहिलो महिला प्रधानमन्त्रीको निर्वाचनले मुलुकलाई विगतबाट विच्छेद गराई नयाँ दिशातर्फ लग्ने र यसो हुनु निःसन्देह राम्रो संकेत हो’ भनेकी थिइन् । इटालीमा बेनिट्टो मुसोलिनीको अधिनायकवादी शासनकालदेखिकै उग्रदक्षिणपन्थी पहिचान बनाएको फासीवादी पार्टी ब्रदर्स अफ इटालीकी नेतृ मेलोनीलाई इंगित गर्दै दिइएको यो अभिव्यक्तिपश्चात् क्लिन्टनले कडा आलोचना व्यहोरेकी छिन् ।

गत आइतबार आमचुनावमा विजयी भएकी मेलोनीले उग्रदक्षिणपन्थी गठबन्धनको नेतृत्व गरेकी छिन् । र, यस गठबन्धनले इटालीको संसद्का दुवै सदनमा भारी बहुमत ल्याएको छ । क्लिन्टनले भनेझैँ महिला नेतृत्व नभएको इटालीको इतिहासमा मेलोनीको छनोटले विच्छेद ल्याए पनि इतिहासकार रुथ बेन–घियात यो विच्छेदलाई ‘इटालीको इतिहासकै अँध्यारो कालखण्डकै निरन्तरता’ हो भन्दै द एटलान्टिक (पत्रिका)मा लेखेकी छिन् । यो निरन्तरता यथार्थ हो, किनभने द ब्रदर्स अफ इटालीको जरो इटालीको नवफासीवादी सामाजिक आन्दोलनसँग जोडिएको छ । 

क्लिन्टनले भनेझैँ एक महिलाको नेतृत्वले अन्य महिलाका लागि नेतृत्वको ‘ढोका खोल्छ’ भन्नु हास्यास्पद हो । यो थप हास्यास्पद तब हुन्छ जब नेतृत्वमा जाने भनिएकी महिला एक त्यस्तो फासीवादी हुन्छिन् जो गर्भपतनको अधिकारमा रोक लगाउन, आप्रवासी महिलालाई पूर्ण रूपमा इटालीको राजनीतिमा प्रतिबन्ध लगाउन र रोजगारीमा महिलाका लागि छुट्याइएको आरक्षण हटाउन चाहन्छिन् । इटालीका धेरै मिडियाले मेलोनीको उग्रदक्षिणपन्थी राष्ट्रवादलाई समाचार बनाएर प्रस्तुत गरे पनि कैयौँ अंग्रेजी मिडियाले भने इटालीको पहिलो महिला प्रधानमन्त्री भनेर मात्रै समाचार लेखेका थिए ।

मेलोनी र उनको पार्टीको भडकाउ एवं घृणायुक्त आप्रवासीविरोधी, राष्ट्रवादी, नश्लभेदी र यौनिक एवं लैंगिक अल्पसंख्यकविरोधी मतलाई हेर्दा महिला नेतृको उनको हैसियतलाई बेवास्ता गरिनुपर्छ भन्ने तर्क गलत सुनिँदैन । यद्यपि, स्त्रीत्वलाई बेवास्ता गर्दा उनको राजनीतिक विचारका केही महत्वपूर्ण पक्ष छुट्न जान्छन् । 

मेलोनी श्वेत महिला हुनु उनको पहिचान फासीवादसँग बाझिने विषय भने होइन । सामान्यतया, श्वेत महिला ऐतिहासिक रूपमा श्वेत सर्वोच्चताका सक्रिय प्रवर्तक रहेका छन् र यो प्रवृत्तिले विशेषतः नश्लभेदी र गर्भपतनविरोधी मतलाई प्रोत्साहन गरिरहेको देखिन्छ ।इटालीमा यसअघि कहिल्यै महिला प्रधानमन्त्री नभएको सत्य हो, तर विश्वभरिका कैयौँ प्रतिक्रियावादी शक्ति समूहका प्रमुख पदमा श्वेत महिला हुनु अस्वाभाविक भने होइन ।

सन् १९७० को दशकमा गर्भपतन र समान अधिकारविरोधी आन्दोलनकी पुरातनपन्थी नेतृ फिलिस स्लाफ्लीलाई नै लिऊँ, उनले परम्परागत पत्नीको रूपमा भूमिका निर्वाह गरिन् र अन्य महिलालाई घरको चौघेरा ननाघ्न प्रोत्साहित गरिन् । यी तथ्यका बाबजुद पनि स्लाफ्लीका राजनीतिक लक्ष्यलाई कुनै क्षति भएन अर्थात् उनी एक शक्तिशाली पुरातनपन्थी कार्यकर्ता थिइन् । र, यही तथ्य मेलोनीमा पनि लागू हुन्छ । एक फासीवादी नेतृले समाजको कठोर वर्ग संरचना कायम राखिराख्छ र श्रमिक वर्गका महिलाको वर्ग उत्थान गर्न सक्दैन । स्त्रीत्व र प्रजनन अधिकारमा पहरेदारी गर्न मेलोनीझैँ अमेरिकी कांग्रेसमा रहेका लरेन बोएबर्ट, मार्जोरी टेलर ग्रिनजस्ता उग्रदक्षिणपन्थीले आपूm आमा र महिला भएको दलील पेस गर्छन् ।

मेलोनीले इटालियन (श्वेत) महिलाको सुरक्षा गर्ने भन्दै विषालु आप्रवासीविरोधी मनोवृत्तिको औचित्य पुष्टि गर्न आप्रवासीले यौन हिंसा ‘आयात’ गर्छन् भन्ने भाष्य फैलाएकी छिन् । श्वेत सर्वोच्चतालाई समर्थन गर्ने उनको पार्टीको स्पष्ट गर्भपतनविरोधी नीतिले मूल इटालियनको न्यून जन्मदरलाई बढाई ‘जातीय प्रतिस्थापन’ गर्ने लक्ष्य राखेको छ र यस्तै उद्देश्यलाई अमेरिकामा ‘महान् प्रतिस्थापन’ भन्ने गरिन्छ । मेलोनीको उग्रदक्षिणपन्थी गठबन्धनले थप कठोर गर्भपतनका नियम देशभरि लागू गर्ने अनुमान गरिएको छ । इटालीमा सन् १९७८ देखि गर्भपतनको अनुमति दिइएको भए पनि धेरै क्षेत्र विशेषतः ब्रदर्स अफ इटालीले शासन गरिरहेको क्षेत्रमा पहिलेदेखि नै गर्भपतनको सेवामा पहुँच पाउन गाह्रो थियो ।

यसैबीच नाजी राज्यको झल्को दिनेगरी मेलोनीको सामाजिक सहायता नीति मुख्यतया इटालियन परिवारलक्षित छन् र आप्रवासी तथा लैंगिक एवं यौनिक अल्पसंख्यकलाई जानाजान छुटाइएको छ । यस अर्थमा बेन–घियातको भाषामा भन्ने हो भने मेलोनीमा मुसोलिनीको शुद्ध नश्लको ‘सन्तान उत्पादन’को उत्कट चाहना देख्न सकिन्छ । मेलोनीले इटालीको लैंगिक एवं यौनिक अल्पसंख्यक जनसंख्यामाथि आक्रमण गर्नु न त संयोग हो न त अचम्मको विषय हो । इटालीको पहिलो महिला प्रधानमन्त्री अमेरिकाका रिपब्लिकन पुरातनपन्थीझैँ लैंगिक भूमिकाको कडा पक्षपोषक हुन् । ब्रदर्स अफ इटालीलगायत अन्य दक्षिणपन्थी पार्टीले गत वर्ष यौनिक एवं लैंगिक अल्पसंख्यकविरुद्ध हुने हिंसालाई हिंसा भड्काउने अपराध करार गरिनुपर्छ भनेर ल्याइएको विधेयकका विपक्षमा मतदान गरेका थिए ।

मेलोनीले ‘लैंगिक विचारधारा’को निरन्तर आलोचना गरिरहेकी छिन् । स्मरण रहोस्, लैंगिक विचारधारा लैंगिक एवं अल्पसंख्यकद्वेषीले यौनिकता एवं लैंगिकताको भिन्नतालाई अस्वीकार गर्दै हियाएर प्रयोग गरिने शब्दावली हो । यही गर्मीयाममा मेलोनी ‘प्राकृतिक’ परिवारलाई स्वीकार र यौनिक एवं लैंगिक अल्पसंख्यकलाई अस्वीकार’ भन्ने वक्तव्य दिएकी थिइन् । त्यतिमात्र नभई उनले यौनिक पहिचानलाई मात्र स्विकार्ने र लैंगिक पहिचानलाई अस्वीकार गर्ने पनि भनेकी थिइन् । उनी उल्लिखित स्वीकार्यतालाई संस्कृति मान्छिन् र अस्वीकार्यतालाई अवसानको गर्त मान्छिन् । लैंगिक विविधतामाथि आक्रमण गर्नु फासीवादको मूल मर्म हो । र, यही आक्रमण ब्रदर्स अफ इटालीकी नेतृले गरिरहेकी छिन्, यसलाई फासीवाद किन नमान्ने ?
(लेनार्ड पत्रकार एवं स्तम्भकार हुन्, उनी न्यु स्कुल फर सोसल रिसर्चमा अध्यापन गर्छिन्) – द इन्टर्सेप्टबाट       

सुझावित समाचार