नेकपा एमाले कञ्चनपुरका उपसचिव कर्णबहादुर चन्दले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। एमाले उपसचिव चन्दले निर्वाचन क्षेत्र ३ (क)बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्।
एमाले र राप्रपाबीच भएको चुनावी गठबन्धनविरुद्धमा चन्दले प्रदेश सभा सदस्यमा बागी उम्मेदवारी दिएका हुन्।
एमाले–राप्रपाबीच भएको चुनावी गठबन्धनअन्तर्गत क्षेत्र ३ (क) एमालेले राप्रपाका लागि छाडेको थियो। उक्त सिटमा राप्रपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशीको समेत उम्मेदवारी परेको छ।
‘पार्टी नेता–कार्यकर्ताको आमभावनाविपरीत उक्त सिट राप्रपालाई बेचिएको छ,’ एमाले उपसचिव चन्दले भने, ‘कम्युनिस्ट आन्दोलन जोगाउनका लागि उम्मेदवारी दर्ता गराएको छु।’
उक्त निर्वाचन क्षेत्रबाट कर्ण चन्द, ईश्वरी खरेल, हिरा चन्दसहितका नेताहरू सिफारिस भएका थिए। यसअघि ०७४ मा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा समेत एमाले नेता चन्दले बागी उम्मेदवारी दिएका थिए।