पूर्वमन्त्री भोलामानसिंह थापाको निधन

शुक्रबार, २१ असोज, २०७९
डिजिटल संस्करण

पूर्वमन्त्री भोलामानसिंह थापाको निधन भएको छ । पञ्चायती व्यवस्थामा दुईपटक ओखलढुंगा जिल्ला विकास समितिको सभापति र सोही व्यवस्थामा एकपटक मन्त्री बनेका थापाको ८५ वर्षको उमेरमा बिहीबार साँझ निधन भएको हो । 

थापा केही वर्षयता अल्जाइमर रोगबाट थलिएका थिए । ओखलढुंगाको सेर्नामा वि.सं. १९९६ चैत २९ गतेको जन्मिएका थापा बहुदलीय व्यवस्था आउनुपूर्व ओखलढुंगामा चर्चित थिए । बहुदल आएपछि राप्रपामा आस्था राखेका थापा राजनीतिमा भने धेरै सक्रिय थिएनन् । 

०३१ सालको चर्चित टिम्मुरबोटे काण्डका वेला थापा आखलढुंगा जिविस सभापति थिए । ०३६ सालको जनमतसंग्रहअगाडि दुईपटक जिविस सभापतिमा निर्वाचित थापा जनमतसंग्रहपछि ओखलढुंगाबाट माछा चुनाव चिह्न लिएर सांसद निर्वाचित भएका थिए । 

पञ्चायती व्यवस्थामै थापा केही समय निर्माण तथा यातायात सहायकमन्त्री र सोही कार्यकालमै पछि वन सहायकमन्त्री बनेका थिए । थापाका श्रीमती, एक छोरा र एक छोरी छन् । 

सुझावित समाचार