बन्दसूचीमा भएकाे त्रुटि परिमार्जन हुन्छ : प्रवक्ता महत

मंगलबार, ११ असोज, २०७९
डिजिटल संस्करण

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले समानुपातिकको बन्दसूचीमा भएका त्रुटिहरू निर्वाचन आयोगले दिएको समयसीमाभित्र परिमार्जन हुने बताएका छन्। 

मंगलबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै बन्दसूचीमा भएका कमी–कमजोरी परिमार्जन हुने बताएका हुन्। 

उनले भने, ‘ठूलो पार्टी भएकाले एकसेएक योग्य साथीहरू हुनुहुन्छ। सबैको आकांक्षा पूरा हुन सम्भव नहुन सक्छ। तर, कांग्रेसलाई जिताएर सरकार बनाउने अवस्था ल्याउनुपर्छ। समानुपातिक बन्दसूचीको सम्पूर्ण निर्णय आमसहमतिबाट भएको हो। हामीले पक्ष र विपक्षमा रहेर सूची बनाएको होइन। त्रुटि छन्। केही परिमार्जन हुन सक्छ।’

पत्रकार सम्मेलनको सम्पादित अंश 

सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्ने घोषणा गरेपछि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम प्रकाशित गरेको छ।

आयोगले निर्धारण गरेको निर्वाचन कार्यक्रम तालिकाअनुसार मतदाता नामावली सार्वजनिक गर्ने, निर्वाचनका लागि दल दर्ता गर्ने र प्रतिनिधिसभा तथा प्रदेश सभातर्फको समानुपातिक  निर्वाचन पद्धतिका लागि हुने निर्वाचनको तयारीका लागि बन्दसूची पेस गर्ने कार्य सम्पन्न भइसकेका छन्।

कांग्रेसले मंसिर ४ गतेको निर्वाचनका लागि दल दर्ता गराउने, निर्वाचन आयोगमा प्रतिनिधिसभा र प्रदेश सभामा समानुपातिकतर्फका उम्मेदवारहरूको बन्द सूची पेस गर्ने कार्य सम्पन्न गरिसकेको छ। 

समानुपातिक बन्द सूचीमा भएका त्रुटिहरू परिमार्जन निर्वाचन आयोगले दिएको समयसीमाभित्र गरिनेछ। 

समानुपातिकतर्फको बन्दसूचीका सम्बन्धमा

कांग्रेसले निर्वाचन आयोगले निर्धारण गरेको समयभित्रै असोज ३ गते आयोगमा समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची पेस गरेको छ। 

हामीले नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) अनुसार प्रतिनिधिसभाका लागि धारा ३२ को उपधारा ८ बमोजिम प्रतिनिधिसभा कार्यसमितिबाट जिल्ला कार्यसमिति, प्रदेश कार्य समिति हुँदै केन्द्रमा आइपुगेका र प्रदेश सभाका लागि धारा ३२ को उपधारा ७ बमोजिम प्रदेश सभा क्षेत्रीय  कार्यसमितिबाट सिफारिस भई प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, जिल्ला कार्यसमिति, प्रदेश कार्यसमिति हुँदै केन्द्रमा आएका नामहरूउपर केन्द्रीय संसदीय समितिको बैठकले सर्वसम्मतिले समानुपातिक उम्मेदवारहरूको नामावली टुंगो लगाइएको हो।

प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवारहरूको टुंगो लगाउँदा पार्टीका पदाधिकारीहरबीच घनीभूत छलफल भएको छ। पार्टीभित्रका आधिकारिक निकायबाट सर्वसम्मत निणर्य गरिएको छ।

जिल्लाका सम्बन्धित निकायबाट पार्टीको उम्मेदवार सिफारिसमा परेर राजधानी आएका कांग्रेसका इमानदार, अनुशासित, कर्मठ साथीहरूमध्ये अधिकांश साथीहरू यही यथार्थलाई आत्मसात् गर्दै पार्टीलाई आगामी निर्वाचनमा विजयी गराउने संकल्प बोकेर जिल्ला फर्किसक्नुभएको छ।

विजयादशमीको नवरात्र आरम्भ भइसकेकाले साथीहरूलाई आ-आफ्नो गृहजिल्ला पुगी बडादसैँ हर्षोल्लासपूर्वक मनाउन र आ–आफ्ना क्षेत्रमा नेपाली कांग्रेसका पक्षमा जनमत सिर्जना गर्न आवश्यक कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्न पार्टीले निर्देशन दिएको छ। 

पार्टीले सबै तहका नेता तथा कार्यकर्तालाई निर्वाचनको मुखमा पार्टीको निणर्यअनुसार निर्वाचनमा पार्टीलाई जिताउन सम्पूर्ण रूपमा क्रियाशील हुन  निर्देशन गरेको छ।

प्रत्यक्षतर्फ सिट बाँडफाँड

प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा अन्य दलहरूसँग तालमेल गर्ने सहमतिअनुसार सिट बाँडफाँड टुंग्याउने छलफल अन्तिम चरणमा पुगेको छ। 

सिट बाँडफाँड सकिएलगत्तै कांग्रेसले लिएका क्षेत्रहरूमा प्रत्यक्ष तर्फको उम्मेदवार टुंगाे लगाइनेछ। 

तयार हुँदै घोषणापत्र 

कांग्रेसले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि घोषणापत्र तयार समिति गठन गरेको छ। 

समितिले विभिन्न बैठक सम्पन्न गरी शुभचिन्तकहरूबाट फेसबुक, ह्वाट्सएप, क्युआर कोड, म्यासेन्जर, इमेल, ट्विटर, इमोजस्ता सामाजिक सञ्जाल र डिजिटल प्रविधिमार्फत घोषणापत्रमा सुझाव मागिरहेको छ। घोषणापत्र बनाउने काम सुरु भइसकेको छ। 

निर्वाचन आचारसंहिता

निर्वाचन आयोगले यसपटक जारी गरेको आचारसंहिता अव्यावहारिक भएको गुनासो सर्वत्र व्याप्त छ।

 गठबन्धनका दलहरूसहित प्रतिपक्षी दलले समेत  प्रधानमन्त्री र मन्त्रीहरूले प्रचारमा जान नपाउने प्रावधान व्यावहारिक भएन भनिरहेका छन्। 

प्रधानमन्त्री देशको कार्यकारी प्रमुख भएकोले उनको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर उनका दैनिक भ्रमण हुने गर्दछन्। 

प्रधानमन्त्री हाम्रो पार्टीको पनि सभापति हुनुहुन्छ, मन्त्रीहरू पनि पार्टीको महत्वपूर्ण जिम्मेवारीमा हुनुभएको हुँदा आफ्नो पार्टीका पक्षमा जनमत बनाउन हिँड्न नपाउने भन्ने कुरा व्यावहारिक छैन। 

निर्वाचन आयोगले अन्तर्राष्ट्रिय अभ्यासहरूलाई समेत हेरेर यसलाई लचिलो बनाउने हामीले विश्वास लिएका छौँ ।

नागरिकता विधेयकका सम्बन्धमा 

संसद्को दुवै सदनबाट दुई–दुईपटक पारित भएको नागरिकता विधेयक संविधानमा उल्लेखित समयावधिमा प्रमाणीकरण नगरेर सम्माननीय राष्ट्रपतिबाट संविधानको उल्लंघन भएको छ। 

राष्ट्रपतिको यो कदमबाट एकातिर नागरिकता प्राप्त गरिसकेका नेपाली आमाबाबुका सन्तान नेपाली नागरिकता प्राप्त गर्ने संवैधानिक हकबाट वञ्चित भएका छन् भने अर्कोतिर संविधानसभाबाट निर्मित संविधानले व्यवस्था गरेको जनतामा निहित सार्वभौमसत्ता, संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत मूल्य–मान्यतामा गम्भीर प्रहार भएको छ। 

अन्त्यमा, जिल्ला–जिल्लाबाट राजधानीमा आउनुभएका नेपाली कांग्रेसका साथीहरूलाई विजयादशमीको शुभकामनासहित गृहजिल्लाको निर्वाचन क्षेत्रमा फर्केर आ–आफनो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारलाई अत्यधिक बहुमतले जिताउन र समानुपातिकमा सकेसम्म बढी मतदान गराउन आग्रह गर्दछु। 

जसरी हामीले वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई अधिक स्थानमा विजयी गराउन सक्यौँ, त्यसरी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पनि अधिक स्थान हासिल गरी कांग्रेसको नेतृत्वमा संघदेखि प्रदेशसम्म सरकार बनाउन सकिने अवस्था विद्यमान छ।

सुझावित समाचार