कसरी बित्छ वारेन बफेटको दैनिकी ?

सोमबार, ३ असोज, २०७९
डिजिटल संस्करण

यो संसारमा पैसासहितको सुविधासम्पन्न तथा विलासी जीवन भोग्न नचाहने को होला ? सायद सबै चाहन्छन् । सबैलाई पैसा चाहिएको छ । पैसाकै पछि लाग्दा मान्छले साथीभाइ, आफन्त र आफ्नो स्वास्थ्य त परको कुरा, आफूलाई समेत बिर्सन थालेको छ । एक हिसाबले भन्नुपर्दा पैसाले मानिसलाई दास बनाइरहेको छ । 
हामीमध्ये धेरैले अहिलेसम्म ‘कसरी धनी बन्ने ?’ भन्ने किताब वा आलेख पढेका हुन सक्छौँ । वा सामाजिक सञ्जाल चलाइरहँदा कतै ‘धनी बन्ने टिप्स’ देख्नासाथ चासोपूर्वक पढेका हुन सक्छौँ । तर, यदि कुनै व्यक्तिको वास्तविक जीवन–कथा पढेनौँ भने ती किताब र आलेखले पक्कै पनि हामीमाथि प्रभाव नछोडेका पनि हुन सक्छन् । तर, यहाँ त्यस्ता व्यक्ति, जसले आफ्नो बुद्धि–विवेक र ज्ञान प्रयोग गरी अर्बपति बने, तिनीबारे बताउँदै छौँ । ती व्यक्ति अरू कोही नभएर सेयरका बादशाह भनिने वारेन बफेट हुन् । 

सेयर बजारका लगानीकर्तामध्ये धेरैजसोलाई बफेटबारे पक्कै जानकारी होला । उनकै किताब पढेर, टिप्स अनुसरण गरेर लगानी गर्नेहरू पनि नेपालमा थुप्रै छन् । बफेट लगानी, बिजनेस र सेयर मार्केट सेक्टरमा विश्वप्रसिद्ध नाम हो । उनी ओराकल अफ ओमाहा भनेर पनि चिनिन्छन् । ११ वर्षदेखि लगानी गर्न सुरु गरेका उनका अहिलेसम्म थुप्रै कम्पनी अस्तित्वमा छन् । उनै बफेटको दैनिकी कसरी बित्छ होला त ? प्रायः परोपकारीहरूको डेली सेड्युल अस्वाभाविकजस्तो हुन्छ । यसैमध्येका एक बफेट बिहान साढे ६ देखि ७ बजेसम्म उठिसक्छन् भने राति ११ बजेभित्र बेडमा पुगिसक्छन् । उनको दिन प्रायः अफिसको काम गरेर, विभिन्न रिपोर्ट र अखबार पढेर बित्ने गर्छ । 

हामीलाई लाग्न सक्छ, अर्बपतिहरू कमै मात्र सुत्छन् । पैसाको हिसाबकिताब गर्न वा अफिसकै काम गर्न पनि राति अबेरसम्म जागै बस्छन् । तर, त्यसो होइन । शरीरलाई कामजत्तिकै महत्वपूर्ण चिज हो, निद्रा पनि । यसलाई राम्रोसँग बुझेका बफेटले सबभन्दा बढी समय पढ्न र सुत्नमा दिन्छन् । 

बिहान : बर्कसायर हाथवेका सिइओसमेत रहेका बफेट बिहान चाँडै उठ्छन् । लगभग ७ बजेसम्म उठिसक्छन् उनी । 
उनलाई उठ्नासाथ तातो पानी पिएर दिन सुरु गर्ने पुरानो चलन मन पर्दैन । त्यसैले त उनी आफ्नो बिहान चिसो कोकाकोला पिएर सुरु गर्छन् । नास्ता भने उनी एमसी डोनाल्ड्स अर्डर गर्छन् । 

हामीलाई लाग्न सक्छ, अर्बपतिहरू कमै मात्र सुत्छन् । तर, त्यसो होइन । शरीरलाई कामजत्तिकै महत्वपूर्ण चिज हो, निद्रा पनि । यसलाई राम्रोसँग बुझेका बफेट सबभन्दा बढी समय पढ्न र सुत्नमा दिन्छन् । 

 दिउँसो : नास्तापछिको उनको काम हुन्छ, अफिसमा बस्ने । अफिसमा उनले अधिकांश समय अफिसियल रिपोर्ट र फाइनान्सियल जर्नल पढ्न खर्च गर्छन् । सबै खबरमा अपडेट बनिरहन वेलावेलामा समाचार, उपन्यासलगायत अन्य विधाका किताब पढ्छन् । यो अवधिमा उनी खाना खान मात्रै घर जान्छन् । त्यसपछि फेरि अफिसमै फर्किन्छन् । जसरी पनि उनको लगाव अध्ययनमै केन्द्रित हुन्छ, चाहे त्यो लगानी होस् वा कम्पनीको विगत । सेयर बजारदेखि विश्वबजारमा के भइरहेको छ भन्ने सबै जानकारी राख्छन् ।

साँझ : साँझ ५ देखि ६ बजेभित्र बफेट घर फर्किन्छन् । समयलाई पछ्याउने विषयमा बफेट एकदमै विशिष्ट छन् । साथै, समयको सच्चा फलोअर पनि । यही कारण उनले निद्रालाई प्राथमिकता दिन्छन् । रातको लगभग ११ बजेआसपास बिस्तारामा जान्छन् । यो नै उनको विस्तृत दैनिक तालिका हो । 

 सुत्ने तालिका : यी अर्बपतिको सुत्ने तालिका पनि कट्टर छ । दैनिक आठ घन्टा दायाँबायाँ नगरीकन सुत्नका लागि भनेर छुट्याउँछन् । बिजनेसम्यानहरूका लागि कामसँगसँगै निद्रा पनि महत्वपूर्ण हुन्छ । पर्याप्त निद्राले दिनभरका लागि ऊर्जा सञ्चार गर्छ । हामीले निद्राको महŒव सुन्दै, पढ्दै आइरहेका छौँ । पर्याप्त निद्राको साक्षी बफेटको स्वस्थ शरीर हो । त्यसो त पर्याप्त निद्राका लागि डाक्टर र वैज्ञानिकहरूले पनि सुझाव दिँदै आइरहेका छन् । विभिन्न अध्ययनले पनि आठ घन्टा सुत्नुलाई फाइदाजनक देखाएको छ । 

साम्राज्य सिर्जना गर्न ‘हार्ड वर्क’  : व्यक्ति सफल हुनुको पछाडि उसले गर्ने संघर्ष नै मुख्य कारण हो । बाहिर नदेखिए तापनि नेपथ्यमा बसेर अर्बपतिहरूले पनि संघर्ष गरिरहेकै हुन्छन् । यसबाट बफेट कसरी अछुतो हुन सक्लान् र ? उनी पनि आफ्नो साम्राज्य विस्तार गर्न निकै कठिन परिश्रम गर्छन् । धेरैजसो समय उनले कडा परिश्रम गरेर अर्थार्जन गर्न खर्चिन्छन् । काम र व्यक्तिगत जीवनबीच सन्तुलन ल्याउनुपर्नेमा उनको सधैँ जोड हुन्छ । 

 ९ः३० मा अफिस : अर्बपति बफेट दैनिक आठदेखि नौ घन्टा काम गर्छन् । सामान्ययता साढे ९ बजे अफिस पुग्छन् भने साँझ ६ बजेभित्र घर फर्किसक्छन् । यसरी उनले हप्तामा ५६–६३ घन्टा काम गरिरहेका हुन्छन् । उनी कडा परिश्रमका पक्षपाती हुन् । यही कारण उनले कामलाई जहिल्यै प्राथमिकता दिन्छन् । 

 बफेट–टिप्स : हामीले बफेटको दैनिकीबारे थाहा पायौँ । अब उनका बानीबारे पनि जानौँ ।

बफेट भन्छन्, ‘तिमीले भन्दा राम्रो गरिरहेका मान्छेहरूको समूह बनाऊ । यसले तिमीलाई अहिलेको स्थितिबाट माथि उठ्न प्रेरणा दिन्छ । असल र सही मान्छेले सधैँ तिमीलाई सहयोग नै गर्छ । जसको सहयोग र सुझावले जीवन बुझ्ने उत्कृष्ट दृष्टिकोण दिन्छ ।’एकपटक उनले युनिभर्सिटीका विद्यार्थीलाई सम्बोधन गर्दै आफ्नो सफलताको फर्मुला अध्ययन रहेको बताए । उनले विद्यार्थीलाई दिनमा कम्तीमा पनि पाँच सय पेज किताब पढ्न अनुरोधसमेत गरे । ‘साधारण जीवनशैली, आफ्नो सीपलाई निखार्ने, राम्रो कुरामा लगानी गर्ने, नरम निर्णय लिने बफेटका सफलताका सूत्र हुन् । उनले अरूलाई पनि यिनै सूत्र अपनाउन सुझाव दिन्छन् । 

सुझावित समाचार