खुकुरी ह्वाइट रम बजारमा

शुक्रबार, ३१ भदौ, २०७९
डिजिटल संस्करण

नेपालको पहिलो मदिरा उत्पादक कम्पनी ‘दी नेपाल डिस्टिलरिज’ले आफ्नो उत्पादन खुकुरी ब्रान्डअन्तर्गत ‘खुकुरी ह्वाइट रम’ बजारमा ल्याएको छ । यसअघि खुकरी ट्रिपल एक्स रम र खुकुरी स्पाइस्ड रम बजारमा ल्याएको कम्पनीको यो तेस्रो उत्पादन हो । खुकुरी ह्वाइट रम एक स्पष्ट पारदर्शी रम भएकाले यसले गर्मीयामका पेयहरूको माग पूरा गर्ने कम्पनीले जनाएको छ । यसलाई बरफ (आइस) हालेर वा कोला तथा जुसजस्ता मिक्सरहरूसँग पनि पिउन सकिने कम्पनीले उल्लेख गरेको छ । ककटेल बनाउन पनि यसलाई सहजै प्रयोग गर्न सकिने जनाइएको छ । 

नेपालमा आयातीत मदिरामा प्रतिबन्धका कारण पनि मोहितोजस्ता ह्वाइट रम तथा पारदर्शी मदिरा प्रयोग हुने ककटेलमा यो उपयुक्त हुने कम्पनीको भनाइ छ । कम्पनीले नेपालको मौलिक स्वादलाई कायमै राखेर खुकुरीको ह्वाइट रम तयार गर्न दुई वर्षभन्दा बढी समय लगाएको जनाइएको छ । ह्वाइट रमलाई विश्वस्तरीय तरल पदार्थका रूपमा विकास गर्नुअघि व्यापक परीक्षण र प्रतिक्रियाका शृंखलाहरू सञ्चालन गरिएको कम्पनीको दाबी छ ।  

खुकुरी रमको ब्रान्ड पोर्टफोलियोमा विश्वस्तरीय ह्वाइट रम थपिएकोमा आफूलाई गर्व महसुस भएको ‘दी नेपाल डिस्टिलरिज’का महाप्रबन्धक सुभाष लामिछानेले बताए । उनले भने, ‘हामीले रमको आधारभूत पोर्टफोलियो अब पूर्ण गरेका छौँ । हामीले उत्पादन गर्दै आएका रमका अन्य भेराइटी निर्यात गरेजस्तै ह्वाइट रम पनि निर्यात गरी विदेशी मुद्रा आर्जन हुने र यसबाट राष्ट्रिय अर्थतन्त्रलाई थोरै भए पनि टेवा पुग्ने विश्वास लिएका छौँ ।’

सुझावित समाचार