सञ्चालनमा आयो वेत्रावती बेलिब्रिज : डेढ महिनापछि केन्द्रीय सडक सञ्जालमा जोडियो रसुवा

सोमबार, २६ असोज, २०८३
प्रिन्ट संस्करण

१० भदौको विनाशकारी भोटेकोशी बाढीको डेढ महिनापछि रसुवा जिल्ला केन्द्रीय सडक सञ्जालमा जोडिएको छ । वेत्रावतीमा निर्माण गरिएको नुवाकोट र रसुवा जोड्ने बेलिब्रिज आइतबारदेखि सञ्चालनमा आएसँगै रसुवा केन्द्रीय सडक सञ्जालमा जोडिएको हो । 

अब पासाङ ल्हामु राजमार्ग हुँदै रसुवा सदरमुकाम धुन्चे केन्द्रीय सडक सञ्जालमा जोडिएको हो । यो रसुवाको पूर्वी क्षेत्र हो । पश्चिम क्षेत्र केन्द्रीय सडक सञ्जालमा जोडिन स्याफ्रुबेँसीमा बेलिब्रिज बनाउनुपर्छ । त्यसको प्रक्रिया पनि अघि बढिसकेको छ ।

१० भदौको बाढीले ८२ किमि लामो गल्छी–वेत्रावती–स्याफ्रुबेँसी–रसुवागढी–टिमुरे नाका सडकमा ४० किमि खण्ड र ४१ पुल बगाएको थियो । त्यसपछि रसुवा केन्द्रीय सडक सञ्जालबाट बाहिरिएको थियो । सडक विभागका सुपरिन्टेन्डिड इन्जिनियर सौजन्य नेपालले वेत्रावती बेलिब्रिज सञ्चालनमा आएसँगै रसुवा केन्द्रीय सडक सञ्जालमा जोडिएको बताए । यसअघि २५ भदौमा देवीघाटमा बेलिब्रिज बनेको थियो । 

अबको एकदेखि दुई महिनाको बिचमा स्याफ्रुबेँसीमा पनि बेलिब्रिज सञ्चालनमा ल्याउने उनले बताए । रसुवा नाकासम्म पुग्न भने स्याफ्रुबेँसीदेखि माथि मितेरी, रोंगा, रोंगा चिलिमे, फेलुङ, कुलुङ र घट्टे खोलामा ५० देखि ७० मिटरसम्मका बेलिब्रिज जडान गर्नुपर्ने देखिएको छ । त्यसका लागि आवश्यक अध्ययन भइरहेको सडक विभागको भनाइ छ । 

 मर्मतको अन्तिम चरणमा मालढुंगा पुल, सोमबारदेखि सञ्चालन गर्ने लक्ष्य
सिद्धार्थ राजमार्गमार्फत पर्वत र बागलुङलाई जोड्ने मालढुंगा पुल पनि मर्मतको अन्तिम चरणमा पुगेको छ । सम्भवतः मालढुंगा पुल सोमबारदेखि सञ्चालनमा आउनेछ । ‘मालढुंगा पुलको पहुँचमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

क्षतिग्रस्त पहुँचमार्गमा रातिसम्म ग्याबियन जाली र माटो भर्ने काम सम्पन्न गरी अवरुद्ध सडक सञ्चालनमा ल्याउने तयारी छ,’ पूर्वाधार विकासमन्त्री सुनील लम्सालले आइतबार फेसबुकमा लेखेका छन्, ‘बागलुङ र पर्वत जोड्ने कालीगण्डकी नदीमाथिको मोटरेबल पुलबाट भोलि (सोमबार)देखि यातायात सञ्चालन गर्ने लक्ष्य छ ।’ ११ असोजमा कालीगण्डकी नदीमा आएको बाढीले मालढुंगा पुलको पूर्वतर्फको एप्रोज (पहुँच) मार्ग बगाएको थियो । पुलको संरचना भने राम्रै अवस्थामा छ ।

सुझावित समाचार