चोरी भएका, भन्सार छलेर ल्याइएका र विदेशबाट व्यक्तिले ल्याएका मोबाइल शुक्रबारदेखि नेपालभित्र चलाउन नपाइने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) सञ्चालनमा ल्याएपछि नेपाल दूरसञ्चार प्राधिकरणमा दर्ता भएका मोबाइल मात्रै नेपालभित्र चलाउन सकिने प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताए । प्राधिकरणले बिहीबार एक कार्यक्रमको आयोजना गरी सिस्टम सञ्चालनमा ल्याएको छ । आगामी दुई महिनामा सिस्टम पूर्ण रूपमा सञ्चालनमा आउने प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चार वर्षअघि एमडिएमएस सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । तर, कोभिडका कारण ढिलाइ भएको उनको भनाइ छ । प्रणालीअनुसार ३० भदौसम्म नेपालमा सञ्चालन भएका सबै मोबाइल सेटहरू स्वतः रूपमा दर्ता हुनेछन् ।
विदेशबाट ल्याएको मोबाइलमा के हुन्छ ?
व्यक्तिले विदेशबाट ल्याएको वा उपहारका रूपमा आएको मोबाइलको विषयमा प्राधिकरण आफैँ अन्योलमा छ । मोबाइल खरिदको बिल नभएको अवस्थामा त्यसलाई वैध मान्न नसकिने प्राधिकरणको ठम्याइ छ । तर, व्यवसायीले भने मोबाइल भित्र्याउनुअघि प्राधिकरणसँग अनुमति लिनुपर्ने निर्देशक सुरेन्द्रलाल हाडाले बताए । उनका अनुसार मोबाइल व्यवसायीले भन्सारमा आइसकेपछि मोबाइलको आइएमई नम्बर प्राधिकरणमा पठाउनेछन् । प्राधिकरणले मोबाइलको आइएमई नम्बरलाई मोबाइल कम्पनीको डाटासँग भिडाएर हेर्नेछ । यसरी डाटा प्रमाणित भएपछि प्राधिकरणले यवसायीलाई मोबाइल भित्र्याउन अनुमति दिनेछ । तर, यो सबै प्रक्रिया अनलाइनबाट नै हुने प्राधिकरणका अध्यक्ष खनालले बताए ।
त्यस्तै, विदेशबाट व्यक्तिले ल्याएको मोबाइल भने प्रयोगकर्ता आफैँले प्रणालीमा मोबाइलको आइएमई नम्बर प्रविष्ट गराउन सक्ने प्राधिकरणले जनाएको छ । तर, यसरी मोबाइल प्रणालीमा प्रविष्ट गर्दा मोबाइल वैध प्रक्रियाबाट नै ल्याइएको प्रमाणित हुनुपर्नेछ । नेपाल सरकारले विदेशबाट फर्कंदा एउटासम्म मोबाइल ल्याउन पाउने व्यवस्था गरेको छ । धेरै मोबाइल भएको हकमा भन्सार रकम भुक्तानी गरी ल्याउनुपर्नेछ । भन्सार रकम भुक्तानी गरेको बिल पेस गरी मोबाइल प्रणालीमा प्रविष्ट गराउन सकिने प्राधिकरणले जनाएको छ ।
मोबाइल व्यवसायीलाई लाभ
नेपाल दूरसञ्चार प्राधिकरणले एमडिएमएस सञ्चालनमा ल्याएपछि मोबाइल व्यवसायीलाई लाभ हुने भएको छ । अवैध प्रक्रियाबाट आएका मोबाइल निष्क्रिय हुने भएपछि व्यवसायीलाई यसको प्रत्यक्ष लाभ हुने भएको छ । हाल नेपालमा वार्षिक ३७ अर्ब रुपैयाँबराबरको मोबाइल आयात हुँदै आएको नेपाल मोबाइल वितरक संघका केन्द्रीय अध्यक्ष दिनेश चुल्याध्यले बताए । तर, १५ अर्ब रुपैयाँबराबरको अवैध प्रक्रियामार्फत नेपाल भित्रिने उनको दाबी छ । एमडिएमएस सञ्चालनमा आएपछि अवैध मोबाइलको प्रयोग बन्द हुने उनले बताए । यसले सरकारको राजस्वमा समेत वृद्धि हुनेछ ।
नेपाललाई आइटी हब बनाए विदेशी मुद्रा भित्र्याउन सकिन्छ : सञ्चारमन्त्री
सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई आइटी हब बनाउन सकिएमा विदेशी मुद्रा नेपाल भित्र्याउन सकिने बताए । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमको सञ्चालनका लागि आयोजना भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् । यसअघि आफू नै मन्त्रालयको नेतृत्वमा रहँदा एमडिएमएसको सञ्चालनका लागि अनुमति प्रदान गरेको जानकारी दिँदै आफ्नै पालामा उद्घाटन गर्न पाउँदा खुसी लागेको समेत उनले बताए । उनले सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गर्न चाहेको बताए ।