समानुपातिकतर्फको उम्मेदवार छान्न सकस
समानुपातिकतर्फको उम्मेदवार छान्न बुधबारदेखि कांग्रेसको केन्द्रीय संसदीय समिति (बोर्ड)को बैठक सुरु भएको छ । 'तल्ला समितिबाट भएका सिफारिस छलफलबाट टुंगो लाग्छ,’ बोर्ड सदस्य एवं वरिष्ठ नेता रामचन्द्र पौडेलले भने ।
प्रदेश र प्रतिनिधिसभाबाट अधिकांश आकांक्षीको नाम सिफारिस भएर आएपछि उम्मेदवार छान्न कांग्रेसलाई कठिन हुने देखिएको छ । एक पदाधिकारीका अनुसार एकै क्षेत्रका लागि २५ जनासम्मको नाम सिफारिस भएको छ । ‘केन्द्रले प्रत्यक्षतर्फ तीनजनाको नाम र समानुपातिकमा महिलासहित तीनजनाको नाम सिफारिस गर्न भनेको थियो,’ ती पदाधिकारीले नयाँ पत्रिकासँग भने, ‘आएका विवरण हेरिरहेका छौँ । कति परे भन्ने टुंगो लागेको छैन ।’
कांग्रेसले स्थानीय तहमा उम्मेदवार भएको, ०७४ को निर्वाचनमा प्रतिनिधिसभा र प्रदेश सभा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित व्यक्ति पुनः समानुपातिकको उम्मेदवार हुन नपाउने मापदण्ड बनाएको छ ।
योग्यता, नैतिकता, कार्यक्षमता, लोकतान्त्रिक आन्दोलन र पार्टीमा गरेको योगदान तथा पार्टीलाई लोकप्रिय मत थप गर्न सक्ने आधारलाई कांग्रेसले ध्यान दिने बताएको छ । यस्तै, उम्मेदवारबारे निर्णय गर्दा सम्बन्धित निर्वाचन क्षेत्रका उम्मेदवारलाई प्राथमिकता दिने मापदण्डमा उल्लेख छ ।