आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि कञ्चनपुरबाट ठूला राजनीतिक दलले पुरानै नेता सिफारिस गरेका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले यसअघि जितेका, हारेका, संसददेखि मन्त्री भएकै नेता पुनः सिफारिस भएका हुन्।
कांग्रेसले क्षेत्र नम्बर १मा यसअघि ०७० मा दोस्रो संविधानसभा सदस्य निर्वाचित दिवानसिंह विष्टलाई एकल सिफारिस गरेको छ। माओवादी केन्द्रले पनि ०७४ मा निर्वाचित पूर्वखानेपानीमन्त्री बिना मगरलाई एकल सिफारिस गरेको छ।
नेकपा एमालेले ०७४ मा प्रदेश सभा सदस्य निर्वाचित भएर प्रदेशको आर्थिक मामिलामन्त्री भइसकेका तारा लामा तामाङ, वीरबहादुर थापा(पालत), खेम सुवेदीलाई सिफारिस गरेको छ। सुवेदी र थापा विशुद्ध यसअघि कुनै राजकीय पदमा नबसेका पुराना नेता हुन्। नेकपा एकीकृत समाजवादीले यसअघि पुनर्वास नगरको नेतृत्व गरिसकेका जीवनराज थापालाई सिफारिस गरेको छ।
क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले ०७० मा दोस्रो संविधानसभा सदस्य निर्वाचित तथा पूर्वसिँचाइमन्त्री भइसकेका एनपी साउदसहित तीनजनालाई सिफारिस गरेको छ। कांग्रेस कञ्चनपुरका निर्वतमान सभापति हरिप्रसाद बोहरा र नेता प्रेम बलायरलाई सिफारिस गरेको छ। बोहरा र बलायरले अहिलेसम्म राजकीय पद धारण गरेका छैनन्। नेकपा एमालेले पनि ०७४ मा निर्वाचित सांसद नरबहादुर धामीलाई पुनः सिफारिस गरेको छ। संसद् धामीसँगै युवा संघ नेपालका पूर्वअध्यक्ष वचनबहादुर सिंह पनि सिफारिस छन्। सिंह नयाँ अनुहार हुन्। नेकपा माओवादी केन्द्रले उक्त निर्वाचन क्षेत्रबाट यसअघि ०७४ मा प्रदेश सभा सदस्य भएका महेशदत्त जोशीसहित तीन नेतालाई सिफारिस गरेको छ। नवराज ऐर र चन्द्रकान्त भट्ट(सिके) नयाँ अनुहार हुन्। उनीहरू दुवैजना नेता विद्यार्थी पृष्ठभूमिका हुन्। समाजवादीले उक्त निर्वाचन क्षेत्रबाट वीरबहादुर बुढाथोकी र माधव पन्तलाई सिफारिस गरेको छ। बुढाथोकी र पन्त दुवै नेता नयाँ हुन्।
निर्वाचन क्षेत्र ३ बाट कांग्रेसले पुरानै नेता सिफारिस गरेको छ। ०७० मा निर्वाचित भएर पूर्वभौतिक योजनामन्त्री भइसकेका नेता रमेश लेखकसहित तीनजनालाई सिफारिस गरेको छ। लेखकसँगै प्रेमसिंह विष्ट र गणेश नेगी पनि सिफारिस भएका छन्। नेगी र विष्ट त्यागी नेताकै रूपमा परिचित छन्। उनीहरू दुवैले राजकीय पद लिएका छैनन्।
एमालेले समेत सांसद भइसकेकै नेतालाई सिफारिस गरेको छ। ०७४मा निर्वाचित डा. दीपकप्रकाश भट्ट र ०७४ मै समानुपातिक सांसद निरुदेवी पाललाई सिफारिस गरेको छ। नेकपा एकीकृत समाजवादीले समेत यसअघि शिक्षा राज्यमन्त्री भइसकेकै नेता उर्वादत्त पन्तलाई सिफारिस गरेको छ।
चारै ठूला राजनीतिक दलले पुरानै नेतालाई दोहोर्याएपछि पार्टीभित्र आन्तरिक कलह चुलिएको छ। युवा पुस्ता असन्तुष्ट भएका छन्। जति चुनाव आए उतिमै पुरानै नेता सिफारिस भएको भन्दै नेताहरू रुष्ट देखिएका छन्। ठूला दलबाट पुरानै नेता सिफारिस भए पनि साना दलबाट नयाँ अनुहार आउने अपेक्षा गरिएको छ। नेता कार्यकर्ताको आकांक्षाअनुरूप नयाँ पुराना सिफारिस भएको दलका नेताहरूले बताएका छन्।