गोल्डेन ओक १२औँ कृति अवार्डस् : १५ एजेन्सीले पाए ५० वटा पुरस्कार

सोमबार, २७ भदौ, २०७९
डिजिटल संस्करण

नेपाली विज्ञापन सिर्जनाको सम्मान गर्ने उद्देश्यले आयोजना भएको गोल्डेन ओक १२औँ कृति अवार्डस्मा १५ एजेन्सीले ५० वटा पुरस्कार प्राप्त गरेका छन् । नेपाल विज्ञापन संघले हरेक वर्ष आयोजना गर्दै आएको कृति अवार्डस् ०६० सालदेखि आयोजना हुन थालेको हो । 

३१ वटा विभिन्न विधाको अवार्डस्का लागि ४५ वटा एजेन्सीहरूले सहभागिता जनाएको आयोजकले जनाएको छ । त्यसमा १५ एजेन्सीले ५० वटा पुरस्कार पाएका थिए । पुरस्कार पाउने एजेन्सीहरूमध्ये मेकवेज प्रालिले १९ वटा, बिजनेस एड्भान्टेजले पाँचवटा, प्रिज्मार्क मार्केटिङले पाँचवटा, आउटरिच नेपालले चारवटा, डिजिटल इनले चारवटा पुरस्कार पाएको जनाइएको छ । त्यस्तै, अभानी एडभर्टाइजिङले तीनवटा, एएनएस क्रिएसनले दुईवटा र म्याक्स मिडिया, प्रिज्मा एडभर्टाइजिङ कन्सर्ट वान, डिएनए टेक्नोलोजी, मार्स प्रालि, कि एडभर्टाइजिङ, सुश्री मिडिया र ह्याप्पी वक्र्सले एक–एकवटा अवार्ड जितेको आयोजकले जनाएको छ । 

६ सयभन्दा बढी प्रत्यक्ष उपस्थित दर्शकबीच गरिएको उक्त समारोहमा मदनकृष्ण श्रेष्ठ, शम्भुजित बास्कोटा, भुवन केसी, दीपकराज गिरीलगायत प्रतिष्ठित उद्योगी–व्यवसायीले विजयीलाई अवार्डस् प्रदान गरेका थिए । कार्यक्रममा आनका अध्यक्ष सोमप्रसाद धितालले प्रमुख अतिथि र आमन्त्रित सम्पूर्ण अतिथिलाई धन्यवाद दिँदै एजेन्सीहरूको उल्लेखनीय सहभागिताको प्रशंसा गरेका थिए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले कृति अर्वाडस्जस्ता सिर्जनशील कार्यक्रमले देशको आर्थिक विकासमा टेवा पुग्ने बताए । 

बाह्रौँ कृति अवार्डस्को मुख्य प्रायोजक ‘गोल्डन ओक, पावर्ड वाई बाल्ट्रा र डिस मिडिया नेटवर्क रहेका थिए । इन एसोसिएन विथमा डाबर नेपालका साथै मुक्तिनाथ विकास बैंक, बैंकिङ पार्टनर र गुरु ट्राभल्स ट्राभल पार्टनर, सपोर्टेड बाईमा प्रभु बैंक लिमिटेड, आटिपिएफ, सेल पे, सफ्टी हाइजिन, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक लिमिटेड, क्युएफएक्स र हस्पिटालिटी पार्टनरमा सोल्टी होटेल रहेको आयोजकले जनाएको छ । 

सुझावित समाचार