कुचो, अचार, कपालदेखि टाँकसम्म निर्यात गर्छ नेपाल

शनिबार, २५ भदौ, २०७९
डिजिटल संस्करण

घरेलु उत्पादनको निर्यात परिमाण थोरै भए पनि महत्व धेरै, स्थानीयस्तरमा रोजगारीसँगै उद्यमशीलता विकास

नेपालका लघु, घरेलु तथा साना उद्योगमा उत्पादित सामग्री छिमेकी भारतदेखि युरोप–अमेरिकासम्म निर्यात हुन्छ । परिमाण सानो भए पनि यसको अर्थपूर्ण महत्व रहेको व्यवसायीहरूको भनाइ छ । राज्यले प्रवर्द्धन गरे सानो लगानीमै उत्पादन हुने यस्ता वस्तु आयात रोक्ने गरी निर्यात बढाउन सकिने उनीहरूले बताएका छन् । 

‘नेपालमा केही उत्पादन हुँदैन, यहाँ सियोसमेत विदेशबाटै ल्याउनुपर्छ’ भन्ने टिप्पणी चिया–चौतारीमा सुनिन्छ । सरकारी तथ्यांकले पनि नेपालमा वार्षिक करिब आठ करोड रुपैयाँबराबरको सियो वा यस्तै (घरायसी र व्यावसायिक दुवै प्रयोजनका) वस्तु आयात भएको देखाउँछ । तर, सियो आयात गर्ने नेपालले वार्षिक ७० करोडको कुचो र पौने चार करोडको अचार निर्यात पनि गर्छ । नेपालमा उत्पादित टाँकको माग छिमेकी भारत र चीनमा मात्र होइन, अमेरिका, जर्मनी, नेदरल्यान्ड र हङकङसम्म छ ।

स्थानीय कच्चा पदार्थ र सीपमा आधारित यस्ता वस्तु निर्यातले व्यापार घाटा न्यूनीकरणमा भरथेग मात्रै गरेको छैन, महिला, अशक्त, पिछडिएको वर्ग तथा विपन्नलाई उद्यमीसमेत बनाएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणा बताउँछन् । 

भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष ०७८/७९ मा नेपालमा ६ करोड ६९ लाख कुचो र दुई करोड ९६ लाखबराबरको अचार आयात भएको छ । जब कि यही आर्थिक वर्षमा ७१ करोड ८९ लाखको कुचो र तीन करोड ८६ लाखको अचार निर्यात भएको छ । यस्ता लघु, घरेलु तथा साना उद्योगका उत्पादन जति आयात भएको छ, त्यति नै हाराहारी वा त्योभन्दा बढी निर्यात भएको विभागको तथ्यांकले देखाउँछ । स्थानीय कच्चा पदार्थ प्रयोग गरेर उत्पादन तथा निर्यात हुने यस्ता वस्तुको मूल्य परिमाण थोरै भए पनि महत्व भने धेरै देखिने कार्यकारी निर्देशक राणाको भनाइ छ । 

सियोमा परनिर्भर नेपालले माछा मार्ने बल्छी, दाह्री काट्ने रेजर, भेटेरेनरी भ्याक्सिन, टाँकलगायत वस्तु निर्यात गर्छ । त्यस्तै, छुर्पी (कुकुर र बिरालोको खाना), कपाल र त्यसबाट बनेका जुँगा, आँखीभौँ, परेला आदि, यार्सागुम्बा, डाइपर, स्यानेटरी प्याड, क्रिसमसका सामग्री, वाद्यवादन (सांगीतिक उपकरण), कन्ट्याक्ट लेन्स, मूर्ति, सस, घन्टी, चुरा र टीका, टोपी, ह्याट्स, क्यापलगायत वस्तुसमेत निर्यात भइरहेका छन् । सानो लगानीमा उत्पादन हुने यस्ता वस्तु निर्यातले एकातर्फ सम्भावित आयात वृद्धि रोक्न मद्दत गरिरहेको छ भने अर्कोतर्फ स्थानीयस्तरमा रोजगारी एवं उद्यमशीलता विकास गरिरहेका छन् । 

७२ करोडको कुचो भारत, बंगलादेश पुग्छ
आर्थिक वर्ष ०७८/७९ मा नेपालले ७१ करोड ८९ लाख रुपैयाँबराबरको कुचो निर्यात गरेको छ । मुख्यगरी अम्रिसोको कुचो निर्यात हुने गरेको नेपाल कुचो संघका अध्यक्ष राजकुमार कार्कीले बताए । त्यस्तै, बाँस, नरिवलको सिन्कालगायतका कुचो पनि निर्यात हुन्छ, तर त्यसको परिमाण भने थोरै छ । कुचोको मुख्य बजार भारत हो । नेपाल कुचोमा आत्मनिर्भर भएर निर्यात गर्न सक्ने भएको कार्कीको भनाइ छ । विभागको तथ्यांकअनुसार गत आवमा भारतमा ६९ करोडको र बंगलादेशमा ११ लाखको कुचो निर्यात भएको छ ।

नेपाली टाँक भारतदेखि युरोप र अमेरिकासम्म
भन्सार विभागका अनुसार गएको आर्थिक वर्षमा नेपालबाट २९ लाखको टाँक निर्यात भएको छ । नेपालबाट थोरै परिमाणमा निर्यात हुने टाँकको गन्तव्य भने धेरै देश छन् । भन्सार विभागका अनुुसार गत आवमा भारत, अमेरिका, चीन, जर्मनी, नेदरल्यान्ड र हङकङमा टाँक निर्यात भएको छ । सबैभन्दा बढी हङकङमा १७ लाखको निर्यात भएको छ ।

हस्तकला सामग्री वार्षिक ६५ करोडको निर्यात
गत आवमा ६४ करोड ८० लाख मूल्यबराबरको हस्तकलाका सामग्री निर्यात भएका छन् । यो आव ०७७/७८ को तुलनामा १६.७६% ले बढी हो । नेपालको कुल निर्यातमा हस्तकलाका सामग्रीले ०.३२% हिस्सा ओगटेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक छ । विभिन्न ४२ विधामा हस्तकलाका सामग्री जर्मन, बेलायत, फ्रान्स, अमेरिका, चीन, जापानलगायत देशमा निर्यात हुन्छ ।

युरोप–अमेरिका पुग्छ नेपाली कागज 
हिमाली क्षेत्रमा पाइने लोक्ताबाट नेपाली कागज (हातेकागज) उत्पादन गरिन्छ । लघु, घरेलु तथा साना उद्यमबाट उत्पादित यस्तो कागज गत आवमा ५२ करोड ७२ लाखको निर्यात भएको भन्सार विभागको तथ्यांक छ । युरोप र अमेरिकासम्म निर्यात हुने गरेको हातेकागज संघका अध्यक्ष किरणकुमार डंगोलले बताए । ‘यसले स्थानीयस्तरमा रोजगार सिर्जना गरेको छ, ५० हजारले प्रत्यक्ष रोजगारी पाएका छन्,’ उनले भने, ‘नेपाली कागजमा देश आत्मनिर्भर छ, निर्यात भइरहेको छ, राज्यले प्रोत्साहन गरे अझै बढ्छ ।’ 

नेपाली अचार र सस अस्ट्रेलिया, क्यानडादेखि कतारसम्म

गएको आर्थिक वर्ष नेपालबाट तीन करोड ८६ लाखको अचार र ६ करोड २० लाखको सस निर्यात भएको छ । लघु, घरेलु तथा साना उद्योगबाट महिला उद्यमीले उत्पादन गरेका यी वस्तुको निर्यातको महत्व बढी हुने नेपाल महिला उद्यमी महासंघकी अध्यक्ष रिता सिम्हाले बताइन् । अचार बेलायत, अस्टे«लिया, बेल्जियम, क्यानडा, हङकङ र जापानमा निर्यात भएको छ । अस्ट्रेलियामा मात्र दुई करोड १० लाखको निर्यात भएको छ । सस भने क्यानडा, भारत र कतारमा निर्यात हुन्छ । सबैभन्दा बढी कतारमा २५ लाखको निर्यात भएको छ । 

कपाल र यसका उत्पादन १५ करोडको निर्यात हुन्छ

सैलुन तथा ब्युटिपार्लरमा काटिएका कपाल संकलन गरेर निर्यात हुने गरेको छ । भन्सार विभागका अनुसार गत आवमा नेपालबाट दुई करोड १६ लाख रुपैयाँबराबरको कपाल र १३ करोड ३४ लाख रुपैयाँबराबरको कपालबाट बनेका जुँगा, आँखीभौँ, परेलालगायत निर्यात भएको छ । यस्ता सामग्री भारत, कोरिया, जापान, बंगलादेश, चीन, म्यानमार, अमेरिकालगायतका मुलुकमा निर्यात हुन्छ ।

माछा मार्ने बल्छी निर्यात हुन्छ अमेरिका

भन्सार विभागको तथ्यांकअनुसार दाह्री काट्ने रेजर र माछा मार्ने बल्छी पनि निर्यात गर्छ । गत आवमा सात करोड ५८ लाखको रेजर र ६३ लाखको बल्छी निर्यात गरेको छ । अमेरिकामा सात लाख रुपैयाँ र क्यानडामा ५६ लाखको बल्छी निर्यात भएको विभागको तथ्यांक छ । रेजर भने युएईमा निर्यात गरेको हो । 

झन्डै पाँच अर्बको फेल्ट निर्यात 

नेपालबाट धेरै निर्यात हुने वस्तुको सूचीमा ऊनी फेल्ट पनि पर्छ । कुल निर्यातमा फेल्टको हिस्सा २.४७ प्रतिशत छ । गत आर्थिक वर्षमा नेपालले चार अर्ब ९४ करोड रुपैयाँबराबरको फेल्ट निर्यात गरेको छ, जुन ०७७/७८ को तुलनामा २२.२७ प्रतिशतले बढी हो । लघु, घरेलु तथा साना उद्योगबाट ऊनलाई साबुनले धोएपछि रङ लगाएर, विभिन्न आकार दिएर धेरै प्रकारका वस्तु उत्पादन गरिन्छ, यसैलाई फेल्ट भनिन्छ । यसमा साना–साना बलदेखि ठूलाठूला कार्पेट, ह्याट, जुत्ता, झोला, साना–साना घरायसी सामानलगायत धेरै वस्तु उत्पादन गर्न सकिन्छ । कपडा, टोपी, किचन कभर, हेडबिन, पर्सलगायत सबै वस्तु बन्छन् । फेल्टका यस्ता वस्तु युरोप, अमेरिका, मध्यपूर्व र एसियाली मुलुकमा निर्यात हुन्छन् ।

चुरा र टीका पनि निर्यात हुन्छ नेपालबाट

नेपालले थोरै परिमाणमा भए पनि टीका र चुरा पनि निर्यात गर्ने गरेको छ । भन्सार विभागका अनुसार गत आवमा नेपालबाट २३ करोड ६४ लाखबराबरको चुरा र टीका निर्यात भएको छ । यस्ता सामग्री भारतीय सीमावर्ती सहरमा निर्यात हुने व्यवसायीहरूको भनाइ छ । नेपालले वार्षिक साढे पाँच अर्बको मेकअपका सामग्री आयात गर्दछ ।

अमेरिका पुग्छ नेपाली छुर्पी, वार्षिक झन्डै तीन अर्बको निर्यात

नेपालको हिमाली र उच्च पहाडी क्षेत्रमा उत्पादन हुने छुर्पी अमेरिका, क्यानडा, जापानलगायतका देशसम्म पुग्छ । विभागका अनुसार गएको आर्थिक वर्षमा दुई अर्ब ९१ करोडको छुर्पी निर्यात भएको थियो । सबैभन्दा धेरै अमेरिका निर्यात हुने नेपाल निर्यात परिषद्का अध्यक्ष रेशमबहादुर पोखरेलले बताए । ‘अहिले छुर्पीको निर्यात राम्रो छ, सुरुसुरुमा घरघरमा उत्पादन हुने छुर्पी अहिले व्यावसायिक रूपमा डेरीमा उत्पादन हुन्छ । यसमा किसानदेखि उद्यमीसम्म जोडिएका छन्,’ छुर्पी निर्यातमा समेत संलग्न उनले भने । हिमालयन डग च्यु, दुर्खा डग च्युलगायत विभिन्न नाममा छुर्पी निर्यात हुने गरेको छ । कलेक्टिभ ट्रेड मार्क बनाएर निर्यात गर्न सके अझ राम्रो हुने पोखरेलले बताए । 

मूर्ति र घन्टी मात्रै होइन, क्रिसमसका सामग्रीसमेत निर्यात गर्छ नेपाल

नेपालको मूर्तिकलालाई चीन, युरोप तथा अमेरिकामा बढी रुचाइन्छ । यस्ता सामग्रीको निर्यात पनि उल्लेखनीय मात्रामा हुन्छ । भन्सार विभागका अनुसार गएको आर्थिक वर्षमा नेपालले २३ करोड ८० लाखको मूर्ति र चार करोड २२ लाखको घन्टी निर्यात गरेको छ । त्यस्तै, क्रिसमसका सामग्रीसमेत निर्यात हुने गरेको विभागको तथ्यांक छ । यद्यपि, ती सामग्री के–के हुन् भन्नेचाहिँ खुलाइएको छैन । विभागका अनुसार गत आवमा नेपालबाट तीन करोड ५६ लाख रुपैयाँबराबरको क्रिसमसका सामग्री निर्यात भएको छ । 

महिला उद्यमीका घरेलु उत्पादनहरूको निर्यात राम्रो छ : रिता सिम्हा अध्यक्ष, महिला उद्यमी महासंघ

महिला उद्यमीले उत्पादन गरेका हस्तकला, फेल्ट, कृषि, घरेलुलगायत वस्तुको निर्यात राम्रो भइरहेको छ । परिमाण सानो होला, तर त्यसको महत्व धेरै छ । स्थानीय कच्चा पदार्थको उपयोगदेखि रोजगारी सिर्जनामा मात्रै होइन, महिला सशक्तीकरणमा समेत यसले योगदान गरेको छ । तर, महिला उद्यमीले पाउने पुनर्कर्जा, निर्यात प्रोत्साहनलगायत सुविधा सरल तरिकाले पाउन सकेका छैनन्, पहुँच कम छ, यसमा सरकारले ध्यान दिए अझै उत्पादन र निर्यात बढाउन सकिन्छ ।

साना उद्यमीलाई नगद प्रोत्साहनमा सहजीकरण गरिनुपर्छ : नरेशलाल श्रेष्ठ अध्यक्ष, नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातकर्ता संघ

नेपालबाट वार्षिक पाँच अर्बहाराहारीको फेल्ट निर्यात हुन थालिसकेको छ । सबैभन्दा धेरै निर्यात हुने वस्तुहरूको सूचीमध्येमा फेल्ट पर्छ । फेल्ट लघु, घरेलु तथा साना उद्यमबाट उत्पादन तथा संकलन र प्रशोधन भई निर्यात हुन्छ । यसमा महिलाहरू धेरै जोडिन्छन् । फेल्ट निर्यातको सम्भावना उच्च छ । तर, यसमा संलग्न साना उद्यमीले सरकारबाट सहज रूपमा नगद प्रोत्साहन पाउन सकेका छैनन् । सरकारले बैंकबाट दिने पुनर्कर्जा र निर्यातमा दिइने नगद प्रोत्साहनमा पहुँच बढाउने गरी साना उद्यमीलाई सहजीकरण गरिदिनुपर्छ । 

स्वदेशी कच्चा पदार्थमा आधारित वस्तुको निर्यातमा जोड दिनुपर्छ : रेशम पोखरेल अध्यक्ष, नेपाल निर्यात परिषद्

नेपालले आफ्नो निर्यात क्षमताको उपयोग गर्न सकेको छैन । खासगरी स्वदशी कच्चा पदार्थमा आधारित वस्तुको निर्यातमा हामीले जोड दिनुपर्छ । नेपालबा कृषि, जडीबुटी, हस्तकलालगायत थुप्रै वस्तु निर्यातको सम्भावना उच्च छ । धेरथोर परिमाणमा निर्यात पनि भइरहेको छ । तर, चिस्यान केन्द्र, संकलन केन्द्र, व्यापार पूर्वाधारलगायतको व्यवस्था गर्ने र उत्पादक तथा निर्यातकर्तालाई सहज रूपमा नगद प्रोत्साहन गर्ने हो भने यस्ता वस्तुको निर्यात बढाउन सकिन्छ । 

कुचो निर्यातको महत्व धेरै छ : राजकुमार कार्की अध्यक्ष, नेपाल कुचो संघ

हामीले कुचो पनि निर्यात गर्छौँ भन्दा कतिपयलाई अनौठो लाग्छ । हो, हामीले अम्रिसो, बाँसलगायतका कुचो निर्यात गर्छौँ । भारतमा सबैभन्दा बढी र केही अन्य मुलुकमा पनि निर्यात हुन्छ । सबैभन्दा बढी अम्रिसोकै कुचो निर्यात हुन्छ । अम्रिसोले एकातर्फ निर्यातमार्फत डलर कमाइरहेको छ भने अर्कातर्फ भूक्षय रोकिरहेको छ । यसले स्थानीयस्तरमा उद्यमी पनि जन्माइरहेको छ । त्यसैले यस्ता स्थानीयस्तरमा आधारित कृषि, वनपैदावर, जडीबुटीलगायत वस्तुको  निर्यात प्रवर्द्धनमा राज्यले ध्यान दिनुपर्छ । 

सरकारले साना उद्यमीलाई निर्यातमा सहयोग गरिरहेको छ : शरदविक्रम राणा कार्यकारी निर्देशक, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र
लघु, घरेलु तथा साना उद्यमबाट उत्पादन हुने वस्तुको निर्यात मूल्य र परिमाण थोरै भए पनि महत्व धेरै छ । यस्ता वस्तुले एकातर्फ स्थानीयस्तरमा रोजगारी बढाइरहेका हुन्छ भने अर्कातर्फ स्वदेशी कच्चा पदार्थको उपयोग पनि भइरहेको हुन्छ । बढी मूल्य अभिवृद्धि हुने यस्ता वस्तुको उत्पादन तथा निर्यातलाई राज्यले सघाई पनि रहेको छ । निर्यातमा पुनर्कर्जा, निर्यातमा नगद अनुदान, उद्यम विकासमा तालिम, विभिन्न खाले अन्य कर्जामार्फत राज्यले सघाइरहेको छ । त्यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेला तथा प्रदर्शनीमा सहभागी हुन पनि सहयोग गरिरहेका छौँ । सामूहिक ट्रेडमार्क बनाउन पनि मद्दत गरिरहेका छौँ । 

निर्यातमा ५% सम्म नगद अनुदान तर, साना उद्यमीले निर्यात प्रोत्साहन पाउनै सकेनन्

सरकारले विभिन्न २७ वस्तुलाई निर्यातमा नगद अनुदान दिने व्यवस्था गरेको छ । प्रशोधित चिया, कफी, बेसार, मह, अलैँची, अदुवा, छाला र छालाजन्य वस्तु, जडीबुटी र सारयुक्त तेल, हस्तकला र काष्ठकला, हातेकागज र त्यसका उत्पादन, पत्थर र पत्थरजडित गरगहना, अल्लो, मिनिरल वाटर, तरकारी र पुष्पको निर्यातमा ५% अनुदान दिइन्छ । त्यस्तै, स्वदेशमा उत्पादित कपडा, तयारी पोसाक, गलैँचा र ऊनका पोसाक, च्याङ्ग्रा–पस्मिना तथा त्यसका उत्पादन, सुन–चाँदीका गरगहना, प्रशोधित जुट तथा त्यसका उत्पादन, अर्धप्रशोधित छाला, औषधि, फेल्ट, पोलिस्टर–कटन–फाइबर यार्न र तामाका सामानको निर्यातमा ३% अनुदान दिने व्यवस्था छ । 

बजेट र मौद्रिक नीतिले घरेलु, लघु तथा हस्तकलाका उत्पादन र त्यसको निर्यातमा प्रोत्साहन गर्ने नीति लिएको छ । तर, कार्यान्वयन कमजोर छ । ‘निर्यातमा नगद प्रोत्साहन दिने भनिएको छ, तर साना उद्यमीले पाउन सकेका छैनौँ,’ नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले भने, ‘झन्झटिलो प्रक्रिया र विभिन्न कागजात पुर्याउनै नसकिने कारण निर्यातको नगद प्रोत्साहन लिन सकेका छैनौँ ।’ लघु तथा घरेलु उत्पादनको उत्पादन र निर्यातमा प्रोत्साहन गर्न सकिए त्यसले अर्थतन्त्रमा ठूलो योगदान दिने उनको भनाइ छ । ‘यस्ता उत्पादनको जिडिपीमा ३.५% योगदान छ,’ उनले भने ।

केही वस्तु, जो निर्यात हुन्छन् 

  • छुर्पी (कुकुर र बिरालोको खाना)– २ अर्ब ९१ करोड १९ लाख
  • कुचो (अम्रिसो, बाँसलगायतको)– ७१ करोड ८९ लाख 
  • टाँक– २९ लाख 
  • कपाल– २ करोड १६ लाख
  • यार्सागुम्बा– ३० करोड ९२ लाख
  • डाइपर– ८ करोड ४१ लाख
  • स्यानेटरी प्याड– ३ करोड ५१ लाख
  • माछा मार्ने बल्छी– ६३ लाख
  • क्रिसमसका सामग्री– ३ करोड ५६ लाख 
  • वाद्यवादन (सांगीतिक उपकरण)– ९८ करोड ५४ लाख
  • कन्ट्याक्ट लेन्स– ९ करोड ३७ लाख
  • मूर्ति– २३ करोड ८० लाख 
  • घन्टी– ४ करोड २२ लाख
  • रोजर र ब्लेड– ७ करोड ५८ लाख
  • चुरा र टीका– २३ करोड ६४ लाख
  • कपालबाट बनेका जुँगा, आँखीभौँ, परेला आदि– १३ करोड ३४ लाख
  • टोपी, ह्याट्स र क्याप– १८ करोड २७ लाख
  • जुत्ता–चप्पल– १ अर्ब १३ करोड १९ लाख
  • फेस मास्क– १० लाख ८१ हजार 
  • मन्जन– ८४ करोड ४६ लाख
  • सुगन्धित तेल (परफ्युम)– ७६ करोड ४६ लाख
  • भेटेरेनरी भ्याक्सिन– १८ करोड २९ लाख
  • पानी– ३० करोड ५३ लाख
  • अचार– ३ करोड ८६ लाख 
  • सस– ६ करोड २० लाख
  • पानको पात– १ करोड २९ लाख
  • कत्था– १ अर्ब १८ करोड ९८ लाख
  • हातेकागज– ५२ करोड ७२ लाख
See More On

सुझावित समाचार