राष्ट्र बैंकले झुत्रा, मैला र च्यातिएका तथा चलनचल्तीमा पठाउन अयोग्य नोटहरू फिर्ता ल्याएर धुल्याउने गरेको छ । जलाएर वा स–साना टुक्रा पारेर नोट नष्ट गर्नुलाई ‘नोट धुल्याउने’ भनिन्छ । चलनचल्तीमा ल्याउन अयोग्य र झुत्रा नोटहरूको जलाएर धुल्याइन्छ ।
राष्ट्र बैंकले नोट धुल्याउने नियमावलीअनुसार नोट नष्ट गर्दै आएको छ । नियमावलीअनुसार नोट धुल्याउने समिति निर्माण गरिएको हुन्छ । केन्द्रको नोट धुल्याउने समितिमा नोट विभागको प्रमुख, अर्थ मन्त्रालयका प्रतिनिधि, राष्ट्र बैंकको कानुन विभागका प्रतिनिधि, नोट विभागका प्रमुखले तोकेको प्रतिनिधि र नोट विभागको नगदतर्फको अधिकारी रहन्छन् ।
बैंकको शाखा वा उपशाखा कार्यालयको नोट धुल्याउने समितिमा भने कार्यालय प्रमुख, कोष तथा लेखानियन्त्रक वा तोकेको प्रतिनिधि, कार्यालयका नोट विभागको प्रतिनिधि र कार्यालयको नगदतर्फको प्रतिनिधि रहन्छन् ।