नौ वर्षपछि पुनः बानियाँ र शाहीबीच प्रतिस्पर्धा

मंगलबार, २१ भदौ, २०७९
डिजिटल संस्करण

आगामी मंसिर ४ गते हुने संघीय र प्रदेश निर्वाचनका लागि दलहरूले आ– आफ्ना उम्मेदवारका नाम केन्द्रमा सिफारिस गरिरहेका छन् । नेपाली कांग्रेसले मुगुका पार्टी सभापति ऐनबहादुर शाहीलाई प्रतिनिधिसभा सदस्यका उम्मेदवारमा सर्वसम्मत  सिफारिस गरेको छ भने नेकपा एमालेले मोहन बानियाँलाई सर्वसम्मत सिफारिस गरेको छ । बानियाँ वर्तमान समानुपातिक तर्फका प्रतिनिधिसभा सदस्य हुन् । उनी नेकपा एमालेका पोलिटब्युरो सदस्य, कर्णाली प्रदेश कमिटी सहइन्चार्ज, मुगु जिल्ला इन्चार्ज पूर्वमन्त्रीसमेत हुन् । 

भदौ १६ र १७ गते बसेको कांग्रेस जिल्ला कार्यसमिति बैठकले पार्टी सभापति ऐनबहादुर शाहीलाई खुलातर्फको प्रतिनिधिसभा सदस्यका लागि एकल उम्मेदवार सिफारिस गरेको थियो । एमालेको १८ र १९ गते बसेको जिल्ला कमिटी बैठकले मोहन बानियाँलाई खुलातर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि एकल सिफारिस गरेको छ ।

०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा शाही कांग्रेसबाट र बानियाँ एमालेबाट चुनाव लडेका थिए । उक्त निर्वाचनमा बानियाँ विजयी भए भने शाही पराजित भए । करिब नौ वर्षपछि पनि पुनः शाही र बानियाँको चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिनिधिसभा समानुपातिकतर्फका उम्मेदवारमा खस आर्यमा पूर्वशिक्षा राज्यमन्त्री हस्तबहादुर मल्ललाई सिफारिस गरिएको छ । महिलामा धनशिला मल्ल र खुला समानुपातिकतर्फ मीन भामको नाम सिफारिस गरिएको छ । प्रदेश (क) अन्तर्गत प्रदेश सभा सदस्य प्रत्यक्षतर्फका उम्मेदवारमा खगेन्द्रबहादुर मल्ल, हरिजंग शाही र तिलकबहादुर मल्ल सिफारिस भएका छन् । 

प्रदेश (क) अन्तर्गत समानुपातिकतर्फका उम्मेदवारमा महिला/पिछडिएको क्षेत्रमा सूर्यदेवी मल्ल, खस आर्यतर्फ पदमबहादुर रावल, जनजातिमा कार्माफुन्जोक लामा, महिला–खस आर्य लक्ष्मीदेवी रावत, दलितमा भीम तिरुवा, जनजातितर्फ च्यावा लामा र फुन्जोक लामा, खुला महिला रमाइली रावल र दलित महिलामा खुम्मेनी कामीलाई सिफारिस गरीएको छ ।

प्रदेश (ख) अन्तर्गत प्रत्यक्षतर्फका उम्मेदवारमा खडकबहादुर शाही, रतनबहादुर शाही र लेकविक्रम शाहको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फका उम्मेदवारमा पिछडिएको क्षेत्र खस आर्यतर्फ जन्मजय भण्डारीलाई, महिलातर्फ गोमा गिरी र रूपकर्णा शाहीलाई, खस आर्यमा लोकबहादुर शाही र अपांगमा महेश गिरीलाई सिफारिस गरिएको छ । मुगु एमालेले प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फका उम्मेदवार मोहन बानियाँलाई सर्वसम्मत सिफारिस गरे पनि प्रतिनिधिसभा समानुपातिक उम्मेदवार, प्रदेश (क) र (ख)का प्रत्यक्ष र समानुपातिक उम्मेदवारका नाम अझै टुंगो लगाउन सकेको छैन । 

सुझावित समाचार