विज्ञानले सम्भव बनायो नयाँ आनुवंशिक क्रान्ति

मंगलबार, २१ भदौ, २०७९
डिजिटल संस्करण

मौलिक अनुसन्धानमा ठूलो फड्को मार्दै जीवविज्ञान अझ बढी प्रोग्रामयोग्य हुँदै गएको छ । हालैका दुई वैज्ञानिक प्रगतिले सम्भावना कतिको प्रबल छ भन्ने देखाउँछ । १८ अगस्टमा अनुसन्धान जर्नल साइन्समा प्रकाशित अनुसन्धानअनुसार वनस्पतिको आनुवंशिक उत्परिवर्तनले प्रकाश संश्लेषणको संयन्त्रमा सुधार सम्भव देखाएको छ । यसले बोट–बिरुवाको उत्पादकत्वमा नाटकीय सुधार ल्याउन र अन्ततः दोस्रो हरित क्रान्तितर्फ नै डोर्याउन सक्छ । निको नहुने घातक रोगहरूबाट ग्रस्त मानिसको जिनमा अलिकति फेरबदलले उल्लेख्य नतिजा दिएको छ । रक्त क्यान्सर, स्पाइनल मस्कुलर एट्रोफी, हेमोफिलिया र सिकल–सेलजस्ता रोगहरूको उपचारका लागि विभिन्न आनुवंशिक (जेनेटिक) थेरापीहरू आएका छन्, आउँदै छन् । अबको काम भनेको यी उपलब्धिलाई फैलाउने र व्यापक बनाउने हो ।

यी दुवै प्रगतिको प्रतिफल निकै ठूलो महत्वको हुन सक्छ । बालीको आनुवंशिकीमा परिमार्जनले यो भोको ग्रहका लागि सस्तो, थप पोषणयुक्त र जलवायुको परिवर्तनलाई झेल्न सक्ने खाद्यान्नको सुनिश्चितता गर्नेछ । आनुवंशीय थेरापीहरू (उपचारपद्धति) ले विनाशकारी असाध्य रोगहरू निको बनाउने आशा पलाएको छ । एकपटक गरे पुग्ने यो उपचार पद्धतिलाई सहजै विश्वव्यापी बनाउन सकिन्छ । गम्भीर र निको नहुने बिरामीलाई दशकौँ वा जीवनभर नै लाभान्वित गराउन सकिन्छ ।

अफ्रिका महादेश र मध्यपूर्वलाई बढी नै प्रभावित बनाएको एड्स वा सिकल–सेल रोग निको भएको कल्पना साँच्चै उत्साहप्रद हुन्छ । जसरी बिफरको उन्मूलनबाट मानव समुदाय लाभान्वित भएको थियो, यसको लाभ पनि उस्तै हुनेछ । मौलिक अनुसन्धानमा वर्षाैंदेखि गरिएको उल्लेख्य लगानीबाट उपलब्धिहरू हासिल भएका हुन् । जिन र प्रोटिनको संरचना एवं कार्यहरूको आधारभूत ज्ञान औषधि र कृषिको क्षेत्रमा आविष्कारको प्रवाहक साबित भएको छ । निश्चय पनि निजी क्षेत्रले नवप्रवर्तनको चक्रमा महत्वपूर्ण भूमिका खेल्छ ।

यी प्रगतिले अल्पकालीन रूपमा खासै व्यावसायिक लाभ नदिने अनि दीर्घकालीन रूपमा भने निकै ठूलो कल्याणको काम गर्ने भएकाले यस्ता क्षेत्रमा सरकार र परोपकारी संस्थाहरूको लगानी कति महत्वपूर्ण हुन्छ भनेर याद दिलाउँछन् । परोपकारी संस्थाहरूको प्रयासकै कारण असाध्य र दुर्लभ रोगहरूको उपचारका थुप्रै सफलता हासिल भएका छन् । आजसम्म, अक्सर बिरामी र उनीहरूका परिवारद्वारा चन्दा संकलन गरेर जम्मा गरेको पैसाले यस्ता अनुसन्धान सम्भव भएका छन् । न्यून आय भएका देशलाई फाइदा पुर्याउने अनुसन्धान अक्सर गेट्स फाउन्डेसनजस्ता धनवान् परोपकारी दाताहरूमा निर्भर छ । आधारभूत विज्ञानमा आज गरिएको लगानीले भोलि उत्पादकत्व वृद्धि गरेर प्रतिफल दिनेछ । 

बालीको आनुवंशिकीमा परिमार्जनले यो भोको ग्रहका लागि सस्तो, थप पोषणयुक्त र जलवायु परिवर्तनलाई झेल्न सक्ने खाद्यान्नको सुनिश्चितता गर्नेछ

दुर्भाग्यवश, यी लाभहरू साँच्चै साक्षात्कार हुनेछन् भन्ने कुनै ग्यारेन्टी छैन । जिन थेरापीहरू उल्लेखनीय प्रविधिगत उपलब्धि पक्कै हुन् । तर, अहिले यिनको लागत निकै ठूलो छ । एकजना व्यक्तिको उपचार गर्न १० लाख डलरभन्दा धेरै खर्च हुन्छ । यसले स्वास्थ्य प्रणालीमा यी थेरापीलाई समावेश गर्न कठिन बनाएको छ । यही कारण अहिले यी केही दुर्लभ र घातक आनुवंशीय रोगहरूको उपचारमै सीमित छन् । व्यापक रोगहरूको उपचारमा यी पद्धतिलाई उपयोग गर्ने विचार अतिशय लागतकै कारण निषेधात्मक छन् ।

विगतमा निकै महँगो रहेका नयाँ औषधिहरू अहिले सस्तो भएका छन् । बोस्टन कन्सल्टिङ ग्रुपका अनुसार मोनोक्लोनल एन्टिबडी, प्रयोगशालामा निर्मित उपयोगी प्रोटिनहरू पनि पहिले निकै महँगा थिए, एक दशकको प्रगतिले तिनको मूल्यलाई ५० गुणासम्म घटाएको छ । यदि जिन थेरापी आफ्नो प्रगतिमा टिकिरहने हो भने यसमा अझै सुधार आवश्यक हुनेछ । फोटोसिन्थेसिसको प्रविधिलाई व्यापारीकरण गर्ने हो भने पनि यसलाई थप किफायती बनाउन अरू लगानीहरू चहिनेछन् ।
नयाँ हरित क्रान्तिको दीर्घकालीन लागत कम हुनेछ ।

वनस्पतिले धेरै वनस्पतिहरू बनाउनेछन्, जुन उपचारले कहिल्यै गर्न सक्दैन । जिन थेरापीहरूलाई लागतप्रभावी बनाउन नवप्रवर्तनहरू आवश्यक छन्, चाहे यो बायोरियाक्टरमा होस् वा कुनै पूरै नयाँ तरिकाको नवप्रवद्र्धन होस् । यदि यी थेरापीहरू थप किफायती हुने हो भने नयाँ थेरापीहरूले किस्तामा तिर्ने गर्ने वा नतिजा आएपछि तिर्नजस्ता भुक्तानी संयन्त्रहरूको परीक्षण प्रयोग गर्नु पनि जरुरी हुन्छ । थेरापीहरू खरिद गर्न मागलाई अन्तर्राष्ट्रिय रूपले एकत्रित गर्ने व्यवस्था गरियो भने त्यसले पनि मूल्य घटाउन सहयोग गर्न सक्छ । यहानेर सरकार, परोपकारी संस्थाहरू र निजी क्षेत्रले उपयोगी सहकार्य गर्न सक्छन् ।

अन्तिममा, नियामकहरूले पनि यी प्रविधिहरूलाई आफ्नो उच्चतम सम्भावनामा पुग्न दिन समाजलाई प्राप्त हुने जिन थेरापीका लाभबारे छिटो बुझ्ने क्षमता विकास गर्न जरुरी छ । उपयुक्त र समयानुकूल नियम नबनाइदिँदा नवप्रवर्तनहरू ओझेलमा पर्न सक्छन् । आनुवंशिक रूपले परिमार्जित बालीहरूको नियमनमा भ्रामक सूचनाहरूको कारण ढिलाइ गरिएको छ । यसले यसबाट प्राप्त हुने लाभलाई ढिलाइ गरेको छ भने लागत बढाइरहेको छ । यसैगरी, प्रयोगात्मक औषधिहरूको जाँचको आवश्यकता भए पनि नियामकहरूले यो कुरा पनि ध्यानमा राख्नुपर्ने हुन्छ कि यी उपलब्धिहरूको अभावमा उपचारविहीन आनुवंशिक रोगहरूको एक मात्र विकल्प मृत्यु मात्रै हो । विज्ञानले आनुवंशिक क्रान्ति सम्भव बनाएको छ । अब त्यो क्रान्ति फस्टाउनुपर्छ । 
–द इकोनोमिस्ट 

सुझावित समाचार