सुदूरपश्चिममा प्रदेश प्रहरी ऐन पारित

शुक्रबार, १७ भदौ, २०७९
डिजिटल संस्करण

जवानदेखि प्रहरी निरीक्षकसम्मका पदमा प्रदेश सरकारले खुला प्रतिस्पर्धामार्फत भर्ना गर्ने व्यवस्था

सुदूरपश्चिम प्रदेश सभाबाट प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । प्रदेश सभाको पाँचवर्षे कार्यकालको अन्तिम अधिवेशन अन्त्य हुनु अघिल्लो दिन सभाबाट विधेयक पारित भएको हो । 

सरकारले एक वर्षअघि नै प्रदेश सभामा यो विधेयक दर्ता गरेको थियो । तर, साझा अधिकारको विषय भएकाले संघीय संसद्ले प्रहरीसम्बन्धी ऐन नल्याउँदा विधेयक अगाडि बढाइएको थिएन । पाँचवर्षे कार्यकाल सकिनै लाग्दासमेत संघले यससम्बन्धी ऐन नल्याएको भन्दै प्रदेश सरकारले सदनमा विधेयक अगाडि बढाएको थियो ।

विधेयकका व्यवस्था
सदनबाट पारित विधेयकमा जनपद प्रहरी, सशस्त्र प्रहरी र प्राविधिक प्रहरी गरी तीनवटा समूह रहने व्यवस्था गरिएको छ । प्रदेश प्रहरीको नेतृत्व प्रहरी नायब महानिरीक्षकले व्यवस्था गरिएको छ । नेपाल सरकारको संघीय कानुनबमोजिम नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षकलाई प्रदेश प्रहरी प्रमुखका रूपमा तोक्ने प्रावधान ऐनमा राखिएको हो । प्रहरी नायब महानिरीक्षकको सुपरिवेक्षण र मूल्यांकन प्रदेश सरकारले गर्ने व्यवस्था गरिएको छ । 

पारित ऐनअनुसार जवानदेखि प्रहरी निरीक्षकसम्म विभिन्न पदमा खुला प्रतिस्पर्धामार्फत भर्ना प्रदेश सरकारले गर्नेछ । यी केही पदमा बढुवामार्फत पदपूर्ति गरिने प्रावधान छ । प्रहरी वरिष्ठ उपरीक्षकको पदपूर्ति आन्तरिक बढुवाबाट गर्ने व्यवस्था ऐनमा गरिएको प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावलले बताए ।

तीनै समूहअन्तर्गत विभिन्न उपसमूह रहने व्यवस्था गरिएको उनले जानकारी दिए । जनपदअन्तर्गत अपराध अनुसन्धान उपसमूह, ट्राफिक उपसमूह र लेखा तथा प्रबन्ध उपसमूह, सशस्त्र समूहअन्तर्गत विपत् व्यवस्थापन उपसमूह र सुरक्षा उपसमूह रहनेछन् । त्यस्तै, प्राविधिक समूहमा सञ्चार, अटोमोबाइल, कम्प्युटर, इन्जिनियरिङ, स्वास्थ्य र विधिविज्ञान गरी ६ वटा उपसमूह रहनेछन् ।

प्रदेश सरकारप्रति पूर्ण उत्तरदायी रहने प्रदेश प्रहरीको परिचालन, निर्देशन, सुपरिवेक्षण र नियन्त्रण प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गर्ने प्रावधान राखिएको छ । प्रमुख जिल्ला अधिकारीले प्रदेश प्रहरी परिचालन गर्दा मन्त्रालयको प्रत्यक्ष निर्देशनमा रही गर्नुपर्ने भनिएको छ । शान्तिसुरक्षा कायम गर्ने सम्बन्धनमा नेपाल प्रहरी र प्रदेश प्रहरी संयुक्त रूपमा परिचालन भएको अवस्थामा फिल्डको कमान्ड वरिष्ठले गर्ने व्यवस्था विधेयकमा छ ।

प्रदेश लोकसेवा आयोगमार्फत हुने प्रदेश प्रहरी कर्मचारी भर्नामा महिला, दलित, थारू, आर्थिक रूपले विपन्न खस–आर्य, आदिवासी जनजाति, पिछडिएको क्षेत्र, मधेसी, मुस्लिमलाई आरक्षणको व्यवस्था गरिएको छ । प्रदेश प्रहरी प्रमुखको सरुवा संघले गर्ने र प्रहरी वरिष्ठ उपरीक्षकसम्मको सरुवा मन्त्रालयको सिफारिसमा प्रदेश मन्त्रिपरिषद्ले गर्ने भनिएको छ । प्रदेश प्रहरी प्रमुखको कार्यसम्पादन मूल्यांकनका आधारमा नम्बर दिने अधिकार प्रदेशलाई दिन प्रस्ताव गरिएको मन्त्री रावलले बताए ।    

प्रदेशमा शान्तिसुरक्षा तथा सार्वजनिक सुव्यवस्था कायम राख्ने, नागरिकको जिउधनको सुरक्षा गरी नागरिक स्वतन्त्रताको संरक्षण गर्नु प्रदेश प्रहरीको प्रमुख जिम्मेवारी तोकिएको छ । व्यवस्थाअनुसार प्रदेश प्रहरीले प्रदेशको शान्तिसुरक्षाका सम्बन्धमा र प्रदेशमा काबुबाहिरको परिस्थिति परेमा नेपाल प्रहरीसँग समन्वय गर्नुपर्नेछ । नेपाल प्रहरीले अनुसन्धान गर्ने कसुर तथा प्रचलित कानुनबमोजिम अन्य निकाय वा अधिकारीले अनुसन्धान गर्ने कसुरबाहेक आफ्नो प्रदेशभित्र भएका नेपाल सरकार वादी हुने अन्य कसुर प्रदेश प्रहरीले अनुसन्धान गर्ने भनिएको छ ।

संघीयता कार्यान्वयन गर्न प्रहरी चाहिन्छ :  मन्त्री रावल
संघीय सरकारले प्रहरीसम्बन्धी ऐन ल्याइसकेको छैन । संघीय ऐन नआएकाले प्रदेश प्रहरी ऐन तत्काल कार्यान्वयनमा भने जान सक्ने छैन । संघीय ऐनसँग बाझिएमा प्रदेशको ऐन स्वतः निष्क्रिय हुने व्यवस्था संविधानमा छ । संघले ल्याउने ऐनसँग बाझिए प्रदेश प्रहरी ऐनमा भएका व्यवस्था निष्क्रिय हुनेछन् । संघले ऐन ल्याउनमा ढिलाइ गरेकाले प्रदेशले ल्याएको आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावलले बताए । 

‘प्रहरीविनाको सरकार हुन सक्दैन । त्यसैले हामीले प्रदेशलाई आफ्नै प्रहरी गठनको अधिकार कार्यान्वयन गर्न संघले बाटो खोलिदिनुपर्छ भनेर आग्रह गर्दै आएका छौँ,’ उनले भने, ‘संघीयता कार्यान्वयन गर्ने हो भने प्रदेशलाई प्रहरी चाहिन्छ । जुन प्रदेशलाई अगाडि बढाउने जग हो ।’ बुधबार मात्रै प्रदेश सरकारले निजामती कर्मचारीसम्बन्धी ऐन प्रदेश सभाबाट पारित गरेको छ । संघमा यो ऐन पनि पारित भएको छैन । 

सुझावित समाचार