लिबिया लैजाने अधिकारी तीन वर्षपछि मकाउबाट पक्राउ

बुधबार, १५ भदौ, २०७९
डिजिटल संस्करण

नेपाली युवालाई युरोप लैजाने आश्वासनमा लिबिया लगेर अलपत्र बनाउने घटनाका मुख्य आरोपी तीन वर्षपछि पक्राउ परेका छन् । इन्टरपोलबाट रेड नोटिस जारी भएका मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार अभियुक्त लमजुङ दोर्दी गाउँपालिका– १ भर्ते ठेगाना भएका ३८ वर्षीय नारायणप्रसाद अधिकारीलाई मंगलबार प्रहरीले मकाउबाट पक्राउ गरी नेपाल ल्याएको हो । 

उनले तीन वर्षअघि नेपाली युवालाई लिबिया हुँदै टर्की पठाउन खोजेका थिए । जसक्रममा नेपालीहरू लिबियास्थित विद्रोहीको कब्जामा परेका थिए । जहाँ एक नेपालीले ज्यान गुमाए भने अरू बल्लतल्ल नेपाल फर्किएका थिए । सो घटनाको अनुसन्धानको क्रममा योजनाकार अधिकारी मकाउ रहेको खुलेपछि प्रहरीले पक्राउ गर्न इन्टरपोलको सहयोग मागेको थियो ।

तीन वर्षपछि उनलाई नेपाल ल्याउन प्रहरी सफल भएको छ । सो घटनाका उनका परिवारका अन्य सदस्य पहिले नै पक्राउ गरेको र उनीमाथि थप अनुसन्धान गरिएको मानव बेचबिखन ब्युरोका एसपी दानबहादुर मल्लले बताए ।  

मासिक एक लाख ५० हजार रुपैयाँ तलब हुने गरी क्यानेडियन कम्पनीमा रोजगारी मिलाइदिने भनी पीडितहरू करिब तीन लाखका दरले पैसा लिएका थिए । सुरुमा भिजिट भिसामा दुबई पुर्याई लिबिया हुँदै इटाली लाने भनी थप तीन लाख मागिएको थियो ।

उनको श्रीमतीको खातामा पैसा हाल्न लगाइएको थियो । तर, उनीहरू इटाली छिर्न सकेनन् । लिबियाको शरणार्थी क्याम्पमा राखिएको अवस्थामा लिबियास्थित नेपाली सेनाको शान्ति सेना मिसन, इजिप्टस्थित नेपाली दूतावास र आइओएमको समन्वयमा पीडितहरूलाई नेपाल फिर्ता ल्याइएको थियो ।

See More On

सुझावित समाचार