राष्ट्रिय राजनीतिका थुप्रै प्रभावशाली नेताको गृहजिल्ला हो, झापा । सबैभन्दा ठूलो दल एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी ओली, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन झापाकै हुन् । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, माओवादीका स्थायी समिति सदस्य सुरेन्द्रकुमार कार्की (राम कार्की), एमालेका अग्नि खरेल पनि झापामै छन् । पाँच निर्वाचन क्षेत्र रहेको यो जिल्लामा आगामी निर्वाचनमा रोचक प्रतिस्पर्धा हुँदै छ । एमाले अध्यक्ष ओली, राप्रपा अध्यक्ष लिङ्देन र माओवादी नेता कार्कीजस्ता नेता अहिले पनि प्रतिनिधिसभामा छन् । चर्चा सुरु गरौँ, झापा क्षेत्र नम्बर १ बाट ।
निर्वाचन क्षेत्र - १
०७४ को मतपरिणाम सार्वजनिक भएसँगै सामाजिक सञ्जालभर एउटा तस्बिर भाइरल बन्यो । तस्बिरमा कांग्रेस नेता विश्वप्रकाश शर्मा माओवादीका राम कार्कीलाई माला लगाइदिँदै थिए । निर्वाचनमा शर्मालाई तिनै कार्कीले उछिनेका थिए । तर, शर्माले पराजयलाई सहज रूपमा लिए र जनमतको सम्मान गर्दै कार्कीलाई माला लगाइदिए । त्यो तस्बिरले शर्माको छवि अझ उठाइदियो ।
आगामी निर्वाचनमा पनि यी दुई नेता स्वाभाविक दाबेदार छन् । एमालेका रविन कोइरालाको क्षेत्र पनि यही हो । ०७४ मा राम कार्की ३६ हजार एक सय ७३ मत ल्याएर विजयी भएका थिए । निकटतम प्रतिस्पर्धी शर्माले ३३ हजार तीन सय १० मत पाएका थिए । शर्माको त्यो लगातार दोस्रो पराजत थियो । ०७० मा संविधानसभाको दोस्रो निर्वाचनमा एमालेका कोइरालाले शर्मालाई पछि पारेका थिए ।
आगामी निर्वाचनमा उनी जितको खोजीमा छन् । आगामी निर्वाचनमा शर्मा र कार्की आपसी प्रतिस्पर्धामा अवश्य हुनेछैनन् । किनभने, यी दुवैका दल एउटै सत्ता गठबन्धनमा छन् । तर, सिट बाँडफाँड हुँदा झापा क्षेत्र नं. १ कसले पाउने हो त्यो टुंगिन भने बाँकी छ । झापा १ कांग्रेसको भागमा प¥यो भने शर्मा उम्मेदवार बन्नेछन् । माओवादीले पायो भने सम्भवतः कार्कीले उम्मेदवारी दिनेछन् । शर्माले टिकट पाए पार्टीभित्रको आन्तरिक सन्तुलन मिलाउनुपर्ने देखिन्छ । किनभने पार्टीभित्रको गुटको असहयोगले ठूलो अर्थ राख्न सक्छ ।
गत ३० वैशाखको स्थानीय तह निर्वाचनका त्यो देखिइसकेको छ । स्थानीय तह निर्वाचनमा मेची नगरपालिकाका लागि कांग्रेस प्रदेश समितिले केशव पाण्डेलाई प्रमुखको टिकट दिएको थियो । अन्तिम समयमा शर्माले केन्द्रबाट हस्तक्षेप गर्दै इन्द्र बुढाथोकीलाई टिकट दिलाए । त्यसबाट सिटौलानिकट पाण्डे समूह रुष्ट भयो । परिणामतः ०७४ मा एक्लै चुनाव जितेको कांग्रेस यसपटक माओवादीसहितका दलसँग गठबन्धन हुँदा पनि हार्न पुग्यो । क्षेत्र नम्बर १ मा एमालेबाट रविन कोइराला नै बलियो दाबेदार देखिन्छन् । प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले पनि प्रतिनिधिसभामा आकांक्षा देखाएका छन् । माओवादीबाट कार्की नै दाबेदार हुन् । वर्तमान सत्ता गठबन्धनमा रहेका दलबीचको तालमेलमा कसले टिकट पाउने हो त्यो टुंगो नलागेकाले ठूला नेताले आफ्नो उम्मेदवारीका विषयमा अहिलेसम्म मुख खोलेका छैनन् ।
निर्वाचन क्षेत्र - २
झापा २ पूर्वमहान्यायाधिवक्ता, पूर्वकानुनमन्त्रीसमेत रहेका एमालेका अग्नि खरेलको क्षेत्र हो । यो क्षेत्रबाट एमालेकै देवराज घिमिरे पनि उम्मेदवारको आकांक्षी छन् । खरेलले केही समययता बिर्तामोडलाई केन्द्र बनाएर क्षेत्र नम्बर २ मा गतिविधि गरिरहेका छन् । दुवै एमाले अध्यक्ष ओलीनिकट नेता हुन् ।
यहाँ कांग्रेसबाट कांग्रेसबाट पूर्वमन्त्री केशवकुमार बुढाथोकी, कांग्रेसका पुराना नेता सुधीरकुमार सिवाकोटी, प्रदेश सभापति उद्धव थापा र केन्द्रीय सदस्य सरिता प्रसाईंको चर्चा छ । माओवादीकी पोलिटब्युरो सदस्य तथा समानुपातिकबाट हाल प्रतिनिधिसभा सदस्य रहेकी धर्मशिला चापागाईंको दाबी देखिन्छ । पार्टी जिल्ला संयोजक राजु आचार्यको नाम पनि चर्चामा छ ।
निर्वाचन क्षेत्र - ३
झापा– ३ पनि सबैको ध्यान खिच्ने निर्वाचन क्षेत्र हो । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन र कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको गृहक्षेत्र यही हो । ०७४ को निर्वाचनमा लिङ्देनले सिटौलालाई पराजित गरेका थिए । त्यसवेला लिङ्देनलाई एमाले–माओवादीको तत्कालीन वाम गठबन्धनको साथ थियो । यसपटक कांग्रेस–माओवादी गठबन्धन छ ।
एमालेबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईं उम्मेदवार बन्ने चर्चा छ । अध्यक्ष ओलीनिकट प्रसाईंले सहजै टिकट पाउने स्थानीय नेताहरू दाबी गर्छन् । तर, यो क्षेत्रमा राप्रपा र एमालेबीच तालमेलको सम्भावना रहेकाले प्रसाईंले यहाँ टिकट पाउने सम्भावना न्यून देखिन्छ । उनी झापाकै अर्को कुनै क्षेत्रबाट पनि उम्मेदवार बन्न सक्ने यहाँ चर्चा चल्ने गरेको छ । यहाँ माओवादीबाट पूर्णसिंह राजवंशी, डिल्ली घिमिरेलगायत आकांक्षी छन् ।
निर्वाचन क्षेत्र - ४
यहाँबाट हाल एमालेका एलपी साँवा प्रतिनिधिसभा सदस्य छन् । आगामी निर्वाचनमा पनि उनैले टिकट पाउने बलियो सम्भावना छ । ओलीनिकट हुनु र ०७४ मा पनि निर्वाचित हुनुले उनकै पल्ला भारी देखिन्छ । तर, यहाँ प्रदेशका पूर्वभूमिसुधार तथा कृषिमन्त्री हिराकुमार थापा पनि आकांक्षी देखिएका छन् । उनी झापा ४ खबाट हाल प्रदेश सभा सांसद छन् । क्षेत्र नम्बर ४ मा कांग्रेसबाट जिल्ला सभापति देउमान थेबे बलियो दाबेदार हुन् । माओवादीबाट प्रदेश– १ का कृषिमन्त्री झलकबहादुर दर्लामी मगर आकांक्षी छन् ।
निर्वाचन क्षेत्र - ५
यो एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्र हो । ओलीले अनिच्छा देखाएको अवस्थामा बाहेक यहाँ एमालेबाट उनी निर्विवाद उम्मेदवार हुन् । उनले पछिल्ला केही महिनायता जिल्ला आउजाउ पनि बढाएका छन् । कांग्रेसबाट ०७४ मा ओलीसँगै प्रतिस्पर्धा गरेका खगेन्द्र अधिकारी, कांग्रेस केन्द्रीय सदस्य पराजित मेदनी सिटौला र हालकी समानुपातिक सांसद महेन्द्राकुमारी सुब्बाको दाबेदारी छ । सिटौला शेखर कोइराला समूहका हुन् भने अधिकारी र सुब्बा देउवा समूहका हुन् । माओवादीबाट अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङ र पार्टी प्रदेश कमिटी कोषाध्यक्ष गगन पुरी आकांक्षी देखिएका छन् । यहाँ एमाले र राप्रपाबीच तालमेलको सम्भावना देखिन्छ । अघिल्लो निर्वाचनमा एमाले–माओवादी गठबन्धन र राप्रपाबीच तालमेल थियो ।