स्त्रीद्वेषका कारण राजीनामा दिने बाध्यता

सोमबार, १३ भदौ, २०७९
डिजिटल संस्करण
स्त्रीद्वेषका कारण राजीनामा दिने बाध्यता

तस्बिर : सोलेन फेइसा/अनस्प्ल्यास

भारतको सबैभन्दा उदार सहरमध्येको एक कोलकाताका एक उपप्राध्यापकले बेथिङ सुट (नुहाउँदा लाउने वस्त्र)सहितको आफ्नो तस्बिर सामाजिक सञ्जालमा सेयर गरेपछि गत वर्ष राजीनामा दिन बाध्य भएको समाचार अहिले सतहमा आएको छ । उपप्राध्यापकले निकालिनुले ‘यत्र नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवताः’ भनिने भारतमा पुरुषले महिलामाथि गर्ने व्यवहारले स्त्रीद्वेषी संस्कृतिबारे धेरै बताउँछ । 

आइरिस यङ, सान्ड्रा बटर््की र सुसान बोर्डोलगायत दार्शनिक महिलाको शरीरलाई पोषण, सौन्दर्य प्रशाधन र कपडामार्फत ‘अधीनस्थ’ र ‘अनुशासित’ बनाइन्छ भन्ने तर्क गर्छन् । दक्षिण एसियाली मुलुकमा महिलाले आफ्नो परिवारको इज्जत र कतिपय अवस्थामा आफ्नो रोजगारदाताको प्रतिष्ठालाई जोगाउनैपर्छ भनेर सामाजिक मापदण्ड स्थापित गरिएका छन् ।

लैंगिक हिंसा र सामाजिक असमानता अध्ययन गर्ने एक अनुसन्धानकर्ताको हैसियतले मैले सामाजिक व्यवस्थालाई स्वीकार नगर्ने र स्त्रीत्वको सांस्कृतिक एवं सामाजिक अपेक्षाको पालना नगर्ने महिलालाई ‘उपद्रवी’का रूपमा हेरिन्छ र सजाय दिइन्छ ।

के भएको थियो ? :  उपप्राध्यापकको तस्बिरमा अनेकौँ प्रतिक्रिया आए । जसले भारतीय समाजले कसरी महिलालाई लज्जाको बोझ बोक्न बाध्य पार्छ भन्ने देखाएका छन् । ‘मैले व्यक्तिगत रूपमा केही साथीले मात्र हेर्न मिल्ने गरी सेयर गरेको तस्बिरका कारण एक घन्टाभन्दा बढी समय मलाई तथाकथित नैतिकताको पाठ पढाउँदै केरकार र सताउने काम मात्रै गरिएन, मलाई राजीनामा दिन पनि बाध्य पारियो,’ २० अगस्टको इन्डियन एक्सप्रेसमा उपप्राध्यापक लेख्छिन् ।

एक १८ वर्षीय विद्यार्थीका बुबाले आफ्नो छोराले उपप्राध्यापकको ‘अभद्र’ तस्बिर हेरिरहेको भन्दै उजुरी गरेका थिए । उनले आफ्नो छोराले उपप्राध्यापकको तस्बिर हेरिरहेको भन्ने ‘चिन्ता’ व्यक्त गर्दै विश्वविद्यालयलाई पत्र लेखेका थिए । उपकुलपति र विश्वविद्यालय प्रशासनका उच्च अधिकारीले उपप्राध्यापकलाई व्यक्तिगत इन्स्टाग्राममा रहेका तस्बिरका आधारमा रोजगारी छोड्न बाध्य तुल्याएको खबर बाहिर आयो तब धेरैले विश्वविद्यालयको रबैयालाई एक महिलालाई चरित्रका आधारमा खेद्ने र प्रताडित गर्ने कामका रूपमा लिएका छन् । 

महिलाविरुद्ध हुने संरचनागत हिंसा : स्त्रीद्वेषको मर्म भनेकै महिलालाई आफ्नो शरीरको स्वामित्वको अनुमति नदिनु हो र यसले धेरै अवस्थामा महिलाको शरीरलाई नै ‘प्रतिष्ठाको प्रतीक’ बनाइदिन्छ । समाजबाट लैंगिक अपेक्षालाई अस्वीकार गर्ने महिलाले पितृसत्ताका आधारभूत सिद्धान्तलाई कमजोर पार्ने व्यक्तिपरक पहिचान निर्माण गर्छन् । यो पहिचान एक प्रकारको प्रतिरोध हो, जहाँ महिलाले शारीरिक स्वतन्त्रता रोज्छन् र अपेक्षित नैतिकताको अवहेलना गर्छन् ।

समाजबाट लैंगिक अपेक्षालाई अस्वीकार गर्ने महिलाले पितृसत्ताका आधारभूत सिद्धान्तलाई कमजोर पार्ने व्यक्तिपरक पहिचान निर्माण गर्छन् 

संरचनागत हिंसा व्यक्तिगत, परिस्थितिजन्य र पारस्परिक कारकको संयोजन हो, जसले महिलालाई विभिन्न तरिकाले क्षति पुर्याउँछ । सेन्ट जेभियर युनिभर्सिटीको घटना लैंगिक मान्यता र संस्कृतिका अपेक्षाले महिलालाई अनुशासित बनाइराख्नुपर्छ र आवश्यकताअनुसार दण्ड दिनुपर्छ भन्ने दृष्टान्तको एक उदाहरण हो । नारीवादी शोधकर्ता कल्पना विल्सनका अनुसार महिलाको शरीर निगरानीस्थल बनिरहन्छ र शरीरमा नैतिक एवं सामाजिक केरकार हुने गर्छ । स्त्रीत्वलाई लिएर हुने लैंगिक रुढीबद्ध धारणा (स्टेरियोटाइप)लाई घातक सामाजिक मानकका रूपमा प्रयोग गरिन्छ र यही मानकलाई शैक्षिक संस्थामा लुगा एवं नैतिकताको आचारसंहिता बनाएर लागू गरिन्छ ।   

यो पोसाक उपयुक्त, त्यो पोसाक अनुपयुक्त :  परामर्शदाता कम्पनी म्याककिन्से एन्ड कम्पनीको एक अनुसन्धानअनुसार समान भूमिकामा रहेका महिलाले पुरुषको तुलनामा संस्थाका लागि बढी प्रभावकारी ढंगले काम एवं सहयोग गर्ने देखाएको छ । यद्यपि, महिलालाई बारम्बार अवमूल्यन गरिन्छ । यसले महिला त्यसमा पनि ‘उपद्रवी’ ठानिने महिलालाई कार्यस्थलमा के–कति 

अप्ठ्यारा छन् भन्ने देखाउँछ । महिलाले नियमित आफ्नो विश्वसनीयताको परीक्षा दिइराख्नुपर्छ र महिलाबाट अवास्तविक अपेक्षा पूरा गरियोस् भन्ने अपेक्षा गरिन्छ । टोरन्टोको नारीवादी विविधता र समावेशी परामर्श व्यवसाय ‘फेमिन्युइटी’की किथ प्लमर र सारा सास्काले सख्त व्यावसायिक कार्यस्थलसंहिताले महिला, यौनिक एवं लैंगिक रूपमा सीमान्तकृत र गैरश्वेतलाई श्रमबजारमा हानि हुने गरेको बताएका छन् ।  

प्लमर र सास्काले व्यावसायिकताको आलोचना गर्दै यसले मानिसलाई सम्भावनाबाट वञ्चित गराउँछ र विविध दृष्टिकोणमा बन्देज लगाउँछ । लैंगिक मापदण्डसँगै पोसाक मापदण्डले महिलामाथि संस्थागत निगरानी थप बढाउँछ । सेन्ट जेभियर विश्वविद्यालयमा घटेको घटना लैंगिक हिंसा हो । लैंगिक द्वैधतावाद र लिंगीय रुढीबद्धतामा आधारित संरचनागत स्त्रीद्वेष एवं विचारलाई तोड्ने महिलाले सामाजिक उत्पीडनको आधार तयार गर्छन् । अलमस्त अर्थात् ‘किलजोई’ महिला जो आफ्नो शारीरिक स्वायत्ततासाथ जीवन जिउँछन्, तिनले पितृसत्तालाई निराश मात्रै गर्दैनन् बरु पितृसत्ताविरुद्धकै अस्त्र बन्छन् ।  

बेलायती लेखक एवं नारीवादी अभियन्ता किलजोइज ब्लगका लेखक सारा अहमदले भनेझैँ लैंगिक द्वैधतावाद र लिंगीय रुढीबद्धताको विरोध आफैँमा हेरचाहको एक पाटो हो । महिलाका मत र काम, विरोध एवं शारीरिक स्वायत्तता पुनः दाबी गर्ने नारीवादी संयन्त्र हुन् । शारीरिक स्वच्छन्दता अर्थात् आफूले इच्छा गरेझैँ बाँच्ने महिलाले अन्य संस्कृतिका महिला जसको अस्तित्वलाई अमानवीकृत गरिएको हुन्छ, तिनलाई समानताको माग गर्न प्रोत्साहित गर्छन् । 

(बनर्जी क्यानडाको वेस्टर्न विश्वविद्यालयमा, लैंगिकता, यौनिकता एवं महिला अध्ययन विषयमा विद्यावारिधि गरिरहेकी छिन्) द कन्भर्सेसनबाट 

सुझावित समाचार