प्रदेश १ को बजेट अधिवेशन १७ भदौदेखि सुरु हुने

आइतबार, १२ भदौ, २०७९
डिजिटल संस्करण

बिजनेस अभावले २२ साउनदेखि अनिश्चितकालका लागि स्थगित भएको प्रदेश १ को बर्खे अधिवेशन १७ भदौदेखि सुरु हुने भएको छ । प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले आइतबार प्रकाशित गरेको सूचनाअनुसार २२ साउनदेखि अनिश्चितकालका लागि स्थगित भएको प्रदेश सभाको दशाैँ तथा बजेट अधिवेशनको २५औँ बैठक १७ भदौ शुक्रबारदेखि सुरु हुने भएको हो । 

प्रदेश सभा सचिवालयका अनुसार प्रदेश सभामा सरकारले पेस गरेको  प्रदेश प्रज्ञा प्रतिष्ठान र प्रदेश आमसञ्चार प्रतिष्ठान विधेयक विचाराधीन छन् । प्रदेश प्रज्ञा प्रतिष्ठान विधेयक पर्यटन तथा वातावरण समितिमा दफावार छलफल भइसकेको छ । 

तर, प्रदेश आमसञ्चार प्रतिष्ठान विधेयक न्याय प्रशासन तथा विद्यायन समितिमा अझै छलफलमै रहेको छ । सम्भवत विचाराधीन रहेका दुई विधेयक पारित भएपछि प्रदेश सभाको पहिलो कार्यकालको अन्तिम अधिवेशन सरकारले अन्त गराउनेछ । 

सरकारले चालू अधिवेशनमै प्रदेशको नामकरण टुंगो लगाउने प्रतिबद्धता जनाए पनि दलहरूको संवादहीनताले  पहिलो कार्यकालको जारी अधिवेशनमा प्रदेशको नामकरण हुने सम्भावना लगभग टरेको छ । किनभने अझैसम्म दलहरूले साझा सहमति बनाएर  नामकरणबारे प्रदेश सभामा प्रस्ताव दर्ता गराएका छैनन् । 

सुझावित समाचार