वीरगन्जका एक युवकले वीरगन्जदेखि दिल्लीसम्मको पैदल यात्रा पूरा गरेका छन्। वीरगन्ज महानगरपालिका–२ छपकैयाका ३० वर्षीय सेख मुन्नाले वीरगन्ज घन्टाघरदेखि दिल्लीसम्मको पैदल यात्रा २२ दिनमा पूरा गरेका हुन्।
गत साउन २१ गते बिहान ८ बजे वीरगन्जबाट दिल्ली यात्रामा निस्किएका उनी शनिबार २२ दिनमै पूरा गरेको बताएका छन्। शनिबार सवा १२ बजे दिल्लीको इन्डिया गेट पुगेका उनलाई स्थानीय समाजसेवीले स्वागत गरेका छन्। एक हजार ६० किलोमिटरको यात्रा २४ दिनमा पुग्ने लक्ष्य लिएका उनले २२ दिनमै पूरा गरेको बताए।
नेपालदेखि दिल्लीसम्मको पैदल यात्रामा नेपालीहरूले गरेको आशा र विश्वास पूरा गरेको बताए। एक हजार ६० किलोमिटर टाढा रहेको भारतको राजधानी नयाँदिल्ली जाने योजना उनले चार महिनाअघिदेखि बनाएका थिए। महानगर, जिल्ला प्रशासन कार्यालय, परराष्ट्र मन्त्रालय र भारतीय दूतावासबाट उनले दिल्लीसम्मको पैदल यात्राका लागि अनुमति पाएका थिए।