घरेलु लिगमा फर्किए वार्नर

सोमबार, ६ भदौ, २०७९
डिजिटल संस्करण

अस्ट्रेलियाका स्टार ब्याट्सम्यान डेभिड वार्नर बिग बास लिग (बिबिएल)को नयाँ सिजनमा देखिने भएका छन् । वार्नरले दुई वर्षका लागि सिड्नी थन्डरमा रहने सम्झौता गरेका हुन् । बिग बासमा वार्नर नौ वर्षपछि फर्किएका हुन् । जनवरीमा सिड्नीमा टेस्ट खेलेसँगै वार्नर तेस्रोपटक क्लबमा जोडिनेछन् ।

उनी फाइनलसहित पाँच खेलमा उपलब्ध हुने सम्भावना छ । यसअघि वार्नरले सन् २०११–०१२ तथा २०१३–०१४ को सिजनमा एक–एक खेल खेलेका थिए । मेलवर्न स्टार्सविरुद्ध उनले १०२ रनको शतकीय इनिङ्स खेलेका थिए । उनले सिड्नी सिक्सर्सविरुद्ध ३१ बलमा ५० रन बनाएका थिए । यसअघि वार्नर सन् २०१२–०१३ मा सिड्नी सिक्सर्समा समेत जोडिएका थिए ।  

क्लबसँग सम्झौता भएसँगै वार्नरले बिग बास खेल्न उत्साहित भएको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘जुन क्लबबाट मैले खेल्न सुरुआत गरेको थिएँ, उही क्लबमा पुनः जोडिन पाउँदा उत्साहित छु,’ ३५ वर्षीय वार्नरले भने । पारिवारिक कारण पुनः घरेलु लिगमा फर्किएको उनले बताए । ‘म खेलमा जहिले पनि गहिराइबाट सोच्ने गर्छु । मलाई थाहा छ, एक व्यावसायिक क्रिकेटरका रूपमा जुन परिस्थितिले आनन्द मिल्छ, मलाई परिवारले बिबिएलमा फकर्न प्रोत्साहन गरेका थिए,’ उनले जनाए ।

सुझावित समाचार