९४ वर्षकी भगवानीले जितिन् अन्तर्राष्ट्रिय स्वर्ण

फिनल्यान्डमा आयोजित वर्ल्ड मास्टर्स एथलेटिक्समा भारतकी भगवानीले सय मिटर दौडमा २४.७४ सेकेन्डमा स्वर्ण जितिन्

सोमबार, ६ भदौ, २०७९
डिजिटल संस्करण

भारतकी भगवानीदेवी डागरको उमेर ९४ वर्ष हो । १५ वर्षअघि उनको बाइपास सर्जरी भएको थियो । डाक्टरले भगवानीलाई आराम गर्न सल्लाह दिने गर्छन् । शरीरलाई कष्ट हुने किसिमको काम नगर्न भनिएको छ । भगवानीले डाक्टरले दिएको सुझावको कुनै पालना गरेकी छैनन् । डाक्टरलाई नै स्तब्ध पार्दै उनी नियमित बिहान र साँझ दुई घन्टा कुद्छिन् । डाक्टरले कैयौँपटक उनलाई यस्तो किसिमको कसरत नगर्न भनेका छन् । 

शरीरलाई फिट राख्न र अरूलाई प्रेरणा दिनकै लागि भगवानी डाक्टरको केही सल्लाह नसुनी दैनिक दुई–दुई घन्टा कुद्ने गर्छिन् । परिश्रमको फल मिठो हुन्छ । यतिवेला यो भनाइ भगवानीको जीवनमा लागू हुन्छ । फिनल्यान्डमा आयोजना भएको वल्र्ड मास्टर्स एथलेटिक्स च्याम्पियनसिपमा भगवानीले विश्वलाई नै अच्चमित तुल्याउने कार्य गरेकी छन् । उनले प्रतियोगितामा एक स्वर्ण तथा दुई कांस्य पदक जित्दै सनसनी मच्चाइन् । 

६ महिनाभित्रै अन्तर्राष्ट्रिय खेलाडी
विकासले आफ्नी हजुरआमालाई यसै जनवरी महिनादेखि प्रशिक्षण दिन सुरु गरेका थिए । सुरुमा भगवानीले हल्का दौड सुरु गरिन् । त्यसपछि लामो घेरा भएको मैदान (फुटबल) जस्तोमा उनले प्रशिक्षण थालिन् । केही महिनापछि उनले जिल्लादेखि राष्ट्रियस्तरको भेट्रान्स प्रतियोगितामा भाग लिइन् । भारतमा आयोजित सबैजसो भेट्रान्स एथलेटिक्समा उनलाई हराउन कोही पनि आएनन् । दिल्लीमा भएको प्रान्तस्तरीय मास्टर्स एथलेटिक्समा उनले तीन स्वर्ण हात पारिन् । चेन्नईमा सम्पन्न ४२औँ राष्ट्रिय मास्टर्स एथलेटिक्स च्याम्पियनसिपमा पनि उनले तीनवटै स्वर्ण जितिन् । लगातार दुईवटा राष्ट्रियस्तरको स्वर्ण हात पारेकी ९४ वर्षीया भगवानीलाई राज्यले नै फिनल्यान्डमा आयोजना हुने प्रतियोगितामा सहभागिता जनाउन पठायो । उनले वरिष्ठ समूहको मुख्य स्पर्धा सय मिटर दौडमा स्वर्ण नै हात पारिन् । यसका साथै सटपुट तथा डिस्कसमा कांस्य जित्दै आफ्नो सपना पनि पूरा गरिन् । अहिलेसम्म उनले नौ पदक जितेकी छन् । 

सय मिटर दौडमा स्वर्ण
भगवानीले सय मिटर दौडमा २४.७४ सेकेन्डमै स्वर्ण पदक हात पारेकी हुन् । स्वर्ण पदकका साथै उनले च्याम्पियनसिपमा नयाँ रेकर्डसमेत राखेकी छन् । रमाइलो पक्ष के छ भने सात महिनाअघि मात्र उनले दौडन थालेकी थिइन् । यो सात महिनाभित्र भगवानीले सुरुमा जिल्लास्तरीयमा प्रतिस्पर्धा गरिन् । त्यसमा राम्रो नतिजा आएपछि उनी हौसिइन् । एकैपटक भेट्रान्सहरूबीच हुने एथलेटिक्समा उनी सहभागी भइन् । 

भेन्ट्रान्सहरूका प्रतियोगितामा भगवानीलाई कसैले पनि हराउन सक्दैनथे । सबैबाट हौसला प्राप्त भएपछि उनी फिनल्यान्डमा आयोजित वल्र्ड मास्टर्स च्याम्पियनसिपमा सहभागी भएकी हुन् । फिनल्यान्डले विश्वका वरिष्ठ नागरिकहरूको सम्मानमा एथलेटिक्स प्रतियोगिता आयोजना गरेको हो । आयोजक फिनल्यान्डले विश्वभरि एथलेटिक्स खेल्ने वरिष्ठ नागरिकहरूको रेकर्डअनुसार प्रतियोगितामा सहभागिता जनाउन आग्रह गरेको थियो । भगवानीले आफूले प्राप्त पदक तथा प्रमाणपत्रका आधारमा सीधै च्याम्पियनसिपमा इन्ट्री पाइन् । पहिलोपटकको अन्तर्राष्ट्रिय सहभागितामै उनले भारतलाई स्वर्ण पदक दिलाउन सफल भइन् ।

सन् २००७ मा हर्टअट्याक
सन् २००७ मा भगवानीले हर्टअट्याकको सामना गरिन् । तत्कालै उनको बाइपास हर्ट सर्जरी भयो । मुत्युको मुखबाट बचेकी भगवानीलाई त्यसवेला पनि हल्काफुल्का मात्र काम गर्न भनिएको थियो । सधैँ बिहान र बेलुका दौडने बानी बनाएकी भगवानीले बाइपास सर्जरीका बाबजुद लुकिछिपी फिटनेस अभ्यास गरिरहिन् । सन् २०१९ मा विकासले आफ्नी हजुरआमाको कुदाइ देखेर भेट्रान्स लेभलमा प्रतिस्पर्धा गर्नुपर्ने सल्लाह दिए । यसका लागि सुरुमा हल्का जिम गर्नुपर्ने भयो । नाति विकासकै सल्लाहमा सुरुका दिनमा उनले जिमखानामा फिटनेस मात्र अभ्यास गरिन् । 

तीन वर्षको लगातार मिहिनेतपछि फिनल्यान्ड जान भगवानी तयार भइन् । केन्द्र सरकारले उनको नाम फिनल्यान्डका लागि प्रस्ताव गर्दा परिवारका केही सदस्यले डर माने । ९४ वर्षको उमेरमा अन्तर्राष्ट्रिय स्पर्धामा प्रतिस्पर्धा गर्दा ज्येष्ठ सदस्यलाई केही होला कि भन्ने चिन्ताले परिवारका सदस्यलाई सताएको थियो । तर, जीवनमा उदाहरणीय काम गर्नुपर्ने सन्देश दिनकै लागि आफू फिनल्यान्ड जान तयार भएको उनले बताइन् । ‘कुनै दिन भगवान्को घरमा जानु नै पर्छ, जानुअघि केही उदाहरणीय काम गर्ने सोच बनाएँ,’ उनले भनिन्, ‘अहिले फर्कंदा राष्ट्रको नाम उच्च पारेकी छु ।’ १० घन्टाको हवाई यात्रापछि नयाँदिल्ली एयरपोर्टमा उत्रँदा उनलाई हजारौँ समर्थकले भव्य स्वागत गरेका थिए । 

नातिबाट प्रशिक्षण
भगवानीको बाल्यकाल र वैवाहिक जीवनमा कहिल्यै समस्या भोग्नुपरेन । अक्सर खेतमै बढीजसो समय दिनुपर्ने भएकाले उनको फिटनेस सधैँ राम्रो नै थियो । निरोगी जीवन जिउन स्वस्थ रहनुपर्ने भावना बोकेकी भगवानी खेतमा जाँदा पनि कुद्ने गर्थिन् । ‘बाल्यकालमा परिवारका सदस्यसँगै खेतमा जाँदा सधैँ कुद्थेँ,’ उनी भन्छिन्, ‘मेरो दौडने बानी त्यसवेलादेखि नै थियो ।’ शरीरलाई सधैँ ‘एक्टिभ’ बनाइराख्दा केही समस्या नआउने उनको तर्क छ ।

भन्छिन्, ‘म सधैँ खेलाडीले जस्तै आफूलाई सक्रिय नै राख्थेँ, यो उमेरमा पनि म राम्रो कुद्न सक्छु ।’नाति विकासले आफ्नी हजुरआमाको दौडने सौख देखेपछि प्रतियोगितामा भाग लिनुपर्ने सल्लाह दिए । लामो समयदेखि हजुरआमा र नाति सधैँ एकै स्थानमा अभ्यास गर्छन् । ‘अहिले पनि म नातिसँगै अभ्यास गर्छु, नातिले मलाई प्रशिक्षण दिन्छन्,’ भगवानीले भनिन्, ‘एक सामान्य महिलाबाट अन्तर्राष्ट्रिय पदक दिलाउनमा विकासको योगदान धेरै छ ।’ 

सुझावित समाचार